ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने बताएका छन्।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले २० औं स्थापना दिवसमा शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए।
मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत सबै पक्षलाई आग्रह गरेका छन्।
‘९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं। अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखे पनि त्योभन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं,’ उनले भने।
मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धी संघ, संस्थाप्रति आभार व्यक्त गरेका थिए।
(न्युज एजेन्सी नेपाल)