ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता तिर्न छ भनेर प्राधिकरणले लाइन काटेर बस्न नमिल्ने बताएका छन्।
संसद भवन बाहिर पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मन्त्री खड्काले तत्काल उद्योगमा लाइन जोड्नुपर्ने बताए।
'व्यवसायीहरूले तिर्नुपर्ने बक्यौता तिर्नुपर्यो। तिर्न छ भनेर लाइन काटेर बस्न भएन तत्काल जोड्नुपर्यो। आज यसमा एउटा निकासा आउँछ,' उनले भने।
प्रयोग गरेको बिजुलीको बक्यौता उद्योगीले तिर्नुपर्ने तर त्यो के कति हो वा होइन भन्ने कुरा निर्क्यौल गर्न बाँकी रहेको पनि उनले बताए।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको छ।
त्यस्तै, प्राधिकरणको ९७६ औं बैठकले बक्यौता अधिकतम २८ मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने निर्णय समेत गरेको थियो।
आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार प्राधिकरणले हालसम्म विद्युत जोड्ने निर्णय गरिसकेको छैन।