प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार पूर्व–पश्चिम राजमार्गस्थित नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको शिलान्यास गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले अत्याधुनिक प्रविधिको स्वदेशी लगानीमा बन्ने पहिलो सिग्नेचर ब्रिजको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासले ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने उनले उल्लेख गरेका छन्।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि पनि पूर्वाधार, सवारी साधन र ट्राफिक प्रणालीमा सुधारमा ध्यान दिनुपर्ने बताए।
यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई सम्बोधन गर्नुपर्ने औँल्याए।
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उनले बताए।
'९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको छ। नेपालको पछिल्लो विकासलाई ठिक ढंगले अध्ययन र विश्लेषणका आधारमा देशभित्र सम्भव छ, गरे सकिन्छ, भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ,' उनले भने।
राजतन्त्र कालको २५० वर्ष र गणतन्त्र कालको दुई दशकको तुलनात्मक अध्ययनमा पछिल्लो दुई दशकमा विकास धेरै भएको उनले बताए।
'सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ,' उनले भने।
प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए।
सिग्नेचर ब्रिज अहिले नारायणी नदीमा भएको पुल नजिकै बनाइने भएको हो। पुरानो पुल दुई लेनको मात्रै थियो। यहाँ सवारी साधनको अत्यधिक चाप रहेको र पुल साँघुरो भएका कारण विकल्प आवश्यकता औँल्याइएको थियो।
नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो भएकाले पनि नयाँ पुल बनाउन लागिएको हो। अहिलेको पुल २०३८ सालमा बनेको हो। त्यतिखेर बनाइएको पुलले अहिलेको ट्राफिक थेग्न नसकेकाले नयाँ पुलको आवश्यकता परेको अधिकारीहरूको भनाइ छ।
पर्यटन प्रवर्द्धनलाई समेत मध्यनजर गर्दै सिग्नेचर ब्रिज बनाउन लागिएको सडक विभागको पुल महाशाखाले जनाएको छ। सिग्नेचर ब्रिजले राजमार्गमा सौन्दर्यता थप्ने र पर्यटकीय चहलपहल समेत बढ्ने विश्वास अधिकारीहरूको छ।
'हामीले यो किसिमको आफ्नै लगानीमा सिग्नेचर ब्रिज बनाउन लागेको पहिलो पटक हो। हुन त कर्णालीमा पनि सिग्नेचर ब्रिज छ। तर आफ्नै लगानीको अत्याधुनिक सिग्नेचर ब्रिज बनेकै थिएन,' पुल महाशाखा प्रमुख ललिजन खनालले बताए।
यो पुलले चितवनको भरतपुर महानगरपालिका र गण्डकी प्रदेश नवलपरासी–बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने छ।
डेढ अर्बभन्दा बढी लागतमा पुल निर्माण गर्न लागिएको हो। पुल निर्माणका लागि एक अर्ब ६८ करोड ७६ लाख रूपैयाँ लागत लाग्ने उल्लेख गरिएको छ। विश्व बैंकको ऋण सहयोगमा पुल बनाइने भएको हो।
यस्तो बन्नेछ सिग्नेचर ब्रिज
सिग्नेचर पुल अत्याधुनिक प्रविधिबाट निर्माण गर्न लागिएको हो। यो एक्स्ट्राडोज्ड पुल निर्माण गर्न लागिएको हो। यस्तो पुल निकै आकर्षक देखिन्छ। झन्डैझन्डै यस्तो पुलको स्वरूप नेटवर्क आर्च पुल जस्तै देखिन्छ।
४२० मिटर लामो उक्त सिग्नेचर पुलमा बीचमा डिभाइडर राखिनेछ।
चौडाइ १२ मिटर हुनेछ। पुलमा साइकल लेन र पैदल यात्रीका लागि फुटपाथसमेत डिजाइन गरिएको छ। दुइटा पाइलन राखिनेछन्। यसको मुख्य स्प्यान २१० मिटरको हुनेछ। क्यारिज वे ७.५ मिटरको हुनेछ। फुटपाथ र साइकल ट्रयाक एक साइडमा ३.५ मिटरको हुनेछ। पुल १०० वर्षसम्म टिकाउ हुने गरी निर्माण गरिने महाशाखाले जनाएको छ।
पुल निर्माणको जिम्मा तुँदी कन्स्ट्रक्सन र अनक कन्स्ट्रक्सनको आवेदन परेको थियो। ठेक्का तुण्डी कन्स्ट्रक्सनले पाएको हो। यो कम्पनीसँग २०८० जेठ १९ गते ठेक्का सम्झौता भएको थियो।
पुल महाशाखा प्रमुख खनालका अनुसार २०८४ असार मसान्तसम्म पुल बनाइसक्ने योजना छ।
सम्झौता अनुसार पुलको डिजाइन निर्माण कम्पनीले नै बनाएको छ। डिजाइनका लागि एक वर्षको समय दिइएको थियो। कम्पनीले तयार पारेको पुलको फाउन्डेसनको डिजाइन पुल महाशाखाबाट स्वीकृत भइसकेको छ। तर स्ट्रक्चरको डिजाइन परिवर्तन हुने सक्ने उल्लेख छ।
यो पुल निर्माणपछि आन्तरिक पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने भरतपुर महानगरपालिकाले विश्वास लिएको छ। अन्य थुप्रै विकसित मुलुकहरूमा पनि यस्ता पुल विकास भइरहेको बताउँदै पुल महाशाखा प्रमुख खनालले यो पुलले आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने बताए।
नारायणी नदीमा अहिले पनि पर्यटकहरूको चहलपहल राम्रो छ। त्यहाँ डुङ्गा चढ्नेको निकै भिड हुन्छ। पुलले नायणी नदीमा चल्ने डुङ्गालाई असर पुर्याउने हो कि भन्ने प्रश्न पनि उठिरहेको थियो। त्यसमा कुनै असर नपार्ने गरी पुल बनाइने खनालले बताए।