करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य सुरूङ छिचोलिएको (ब्रेक–थ्रु) भएको छ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा सुरूङ ब्रेक थ्रु गरिएको हो।
'ब्रेक–थ्रु' कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्। उनले देशको सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे।
'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरी सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत उत्पादन हुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने, 'आज सुरूङको 'ब्रेक–थ्रु' भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ।'
सरकारले यो आयोजनालाई रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले ठूला पूर्वाधार निर्माणमा उत्साह थपिएको पनि उल्लेख गरे।
यो आयोजनाको सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण गरिएको हो। सुरू छिचोलिए पनि सुरूङको करिब १० प्रतिशत काम बाँकी नै रहेको आयोजनाका निर्देशक मित्र बरालले बताए।
'सुरूङको पूरै काम भने सकिएको छैन। एक्सरे गर्न बाँकी छ। अवस्था कस्तो छ। ग्याप कति छ जाँच गर्ने लगायत काम बाँकी छ,' उनले भने।
बाँकी सबै काम एक वर्षभित्र सकिने उनले उल्लेख गरे।
१३.३ किलोमिटर लम्बाईको उक्त सुरूङ २०७९ असोज २८ गतेदेखि टिबिएममार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको थियो।
उक्त प्रविधिबाट सुरूङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट नहुने र काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले बताएको थियो। कुनै पनि समस्या नदेखिएको अवस्थामा खन्न थालेको २० महिनाभित्र सुरूङ ब्रेक थ्रु गर्न सकिने आयोजनाले बताएको थियो।
काम थालिएको १९ महिनामै ब्रेक थ्रु भएको हो। तोकिएको अवधिभन्दा ६ महिना अगाडि नै सुरूङ छिचोलिएको बरालले बताए।
उनका अनुसार सुरूङ १० अर्ब पाँच करोड लागतमा तयार गरिएको हो। यो बहुउद्देश्यीय आयोजनाको समग्र प्रगति भने ३० प्रतिशत मात्रै भएको छ। ब्यारेज, पावर हाउस, ट्रान्समिसन लाइन लगायत काम बाँकी नै छ। २०८४ को असोजसम्म आयोजना सक्नुपर्ने अवधि रहेको उनले बताए।
यो आयोजनाको मुख्य उद्देश्य प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ सुविधा पुर्याउनु हो।
तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ।
यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।
गुरूयोजनाअनुसार १३.३ किलोमिटर सुरूङमार्फत् ६७ क्युविक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्याइने छ।
खुर्कोटबाट पानीलाई सुरूङमार्फत् सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत उत्पादन गरिनेछ।
त्यहाँबाट निस्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजना अन्तर्गत करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ। बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पुर्याउने उल्लेख छ।
सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ। त्यस्तै, १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ।
उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए।
सुरूमा यो आयोजनाका लागि ४६ अर्ब लागत लाग्ने उल्लेख गरिएको थियो। अहिले बढेर ४९ अर्ब ४२ करोड पुगेको आयोजना प्रमुख बरालले बताए।