कोटेश्वरमा दिनहुँ हुने सडक जाम दीर्घकालीन रूपमा हटाउन तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ।
'कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट'का रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा बनाइने भएको हो।
जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको तयारी गरिएको सडक विभागले जनाएको छ। विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले सम्झौताको तयारी अघि बढेको बताए।
'यसको तयारी अर्थ मन्त्रालयले गरिरहेको छ। ऋण सम्झौता भएपछि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बनाउने काम अघि बढ्छ,' उनले भने।
सम्झौता कहिले हुन्छ भन्ने जानकारी आइनसकेको उनको भनाइ छ।
कोटेश्वर चोकमा सवारी साधनको अत्याधिक चाप छ। जसकारण हरेक दिन चोकमा लामो जाम हुने गरेको छ। त्यही समस्या मध्यनजर गर्दै कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट परियोजना अघि बढाइने भएको हो।
कोटेश्वरको जाम कसरी हटाउन सकिन्छ भनेर जाइकाले धेरै समयअघि देखि अध्ययन गरिरहेको थियो।
'केही समयअघिसम्म कोटेश्वरबाट पेप्सीकोला जाने लेनमा एउटा घर थियो। त्यो घरका कारण सडक बन्न नसक्दा त्यहाँ भयंकर जाम हुन्थ्यो। अहिले त्यो घर हटाएर सडक बनेपछि केही सजिलो भएको छ। तर अब यहाँ फ्लाइओभर र सुरूङ बनाएनौं भने त आजको १०/१५ वर्ष पछाडि यति जाम बढ्छ कि हामी त्यो बाटो हिड्नै सक्दैनौँ,' उनले भने।
जाइकाले यो आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ। अध्ययन अनुसार यो आयोजनाले तीनकुने, कोटेश्वर र जडीबुटी गरी तीन वटा चोक छुन्छ।
फ्लाइओभर काठमाडौं तीनकुने सुविधानगरको बागमती खोलाको पुल नजिकैबाट सुरू हुनेछ। तीनकुने तर्फको उक्त फ्लाइओभर तीनकुने पार्क नजिकै रहेको मुनिभैरव मन्दिर भएको ठाउँसम्म रहने छ। फ्लाइओभरको लम्बाई ६६५ मिटर हुनेछ।
अहिलेको सडक जस्तो छ, उस्तै रहन्छ। सडकमा पिलर ठड्याएर फ्लाइओभर बनाइन्छ। फ्लाइओभर भनेको गाडी गुड्ने पुलभन्दा फरक पर्दैन। बानेश्वर हुँदै सुरूङबाट बिपी राजमार्ग जाने सवारी साधनहरू उक्त फ्लाइओभरबाट गुड्छन्।
उक्त फ्लाइओभर हुँदै मुनिभैरव मन्दिर क्षेत्र पुगेपछि विमानस्थल क्षेत्रको जग्गा छुन्छ। मुनिभैरवको मन्दिर अहिले भएको ठाउँबाट थोरै माथितर्फ सार्नुपर्ने अध्ययनमा देखिएको छ।
त्यसपछि आउने विमानस्थलको जग्गामा भने सुरूङ बनाइनेछ। विमानस्थल मुनी ६१० मिटर लामो सुरूङ बनाइने अध्ययनमा उल्लेख छ। उक्त सुरूङमार्ग हुँदै सिधै जडीबुटी पुगिन्छ। कोटेश्वर चोक पुगिरहन पर्दैन।
विभागका अनुसार विमानस्थललाई कुनै बाधा नपुग्ने गरी मुनीको जग्गा प्रयोग गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण पनि सकारात्मक छ।
'यो त क्यानको पनि जिम्मेवारी हो नि। त्यो भएर क्यान कन्भिन्स भइसकेको छ। जग्गा प्रयोग गरेबापत कसरी जाने भनेर अर्थ मन्त्रालयले छलफल गर्छ,' जैसीले भने। जडीबुटी क्षेत्रमा सर्वसाधारणको पनि केही जग्गा प्राप्ति गर्नुपर्ने आवश्यकता देखिएको छ। जग्गा प्राप्तिको काम सरकारले नै गर्नेछ।
सुरूङ जडीबुटीको आकाशे पुल नजिकसम्म रहने उल्लेख गरिएको छ। सुरूङबाट निस्किएपछि जडीबुटीस्थित मनोहरा खोलामा बनिरहेको पुलसम्म फ्लाइओभर रहनेछ। त्यहाँ २३८ मिटरको फ्लाइओभर बन्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ।
दुईतर्फी फ्लाइओभर र सुरूङ चार लेनको हुनेछ। फ्लाइओभर र सुरूङ बनेपछि बिपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधन कोटेश्वरको घण्टौं जाममा बस्नु पर्दैन। यो खण्ड हुँदै पूर्वी नेपालका विभिन्न जिल्ला पुग्ने सवारी साधन गुड्छन्। जसले गर्दा यो खण्डमा सावरीको अत्याधिक चाप छ। आयोजना बनिसकेपछि कोटेश्वर चोक हुँदै गुड्ने सवारी साधनको चाप कम हुनेछ। त्यहाँको जाम हट्ने विश्वास लिइएको छ।
यो आयोजना निर्माण सकिन ६ वर्ष लाग्ने छ। आयोजना बन्न किन यति समय लाग्छ भन्ने प्रश्न उठ्न सक्छ।
'विमानस्थलमा त जहाजहरू उडिरहेका हुन्छन्, दिउँसो काम गर्न मिल्दैन भनेको छ,' जैसी भन्छन्, 'काम गर्न राति १ बजेदेखि ५ बजेको समय मात्रै दिएको छ।
दिनभर जम्मा चार घण्टा मात्रै काम गर्न दिने भयो। जसले गर्दा समय बढ्ने भयो। समय बढेपछि लागत पनि बढ्ला। 'यो आयोजनाको लागत कति लाग्छ भन्ने जानकारी भने डिपिआर बनाएपछि मात्रै हुने उनले बताए।
कोटेश्वरमा सुरूङ र फ्लाइओभर बन्ने चर्चा चलेको लामो समय बितिसकेको छ। अब भने उक्त अवधारणा निर्माणमै जाने भएको विभागको भनाइ छ। सरकारले उपत्यकाका विभिन्न सडकमा फ्लाइओभर, ओभरपास, अन्डरपास लगायत संरचना निर्माण अघि बढाएको छ। कलंकी चोकमा अन्डरपास निर्माण भएर सञ्चालनमा छ। ग्वार्कोमा ओभरपास निर्माणाधीन छ।
बानेश्वर सातदोबाटो र एकान्तकुनामा पनि कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने योजना छ। त्यस्तै, सातदोबाटोमा फ्लाइओभर निर्माण गर्ने योजना छ।