लामो समयदेखि संघीय राजधानीको चक्रपथ दोस्रो खण्ड(कलंकी–बसुन्धारा) सडक अत्यन्तै दयनीय अवस्थामा छ।
सडकको छेउछाउ भत्काइएको छ। जसकारण जताततै धुलो र खाल्डाखुल्डी छ।
सर्भिस लेन निर्माणका क्रममा सडकका दुवै खण्डमा थुपारिएको ढुंगामाटोले ट्राफिक जाम बढेको छ। सडक अस्तव्यस्त छ।
यो सडक हुँदै दैनिक यात्रा गर्ने यात्रुहरू आजित छन्। सडक आसपास व्यापार व्यवसाय गर्नेहरू पनि हैरान छन्।
'चक्रपथबाट सहर प्रवेश गर्ने सवारी साधनले चक्रपथको धुलो सहरका कुनाकुनासम्म पुर्याउने गरेका छन्। यसकारण नियमित प्रयत्न गरे पनि भित्री सहरको सडक अव्यवस्थित र फोहोर देखिने गरेको छ,' काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
महानगरले सडकलाई धुलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गर्दा पनि चक्रपथका कारण काठमाडौं सफा हुन नसकेको उनले उल्लेख गरेका छन्।
मेयर बालेनले सञ्जालमा चक्रपथ दोस्रो खण्डको दुरावस्था झल्किने तस्बिर राख्दै लेखेका छन्, 'धुँवा, धुलोमुक्त सडकका लागि चक्रपथ सुधारको काम सकिनुपर्ने भो।'
उनले संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो हुँदा दुरदराजको विकास पद्धतिले कसरी फड्को मार्छ भन्ने प्रश्नसमेत उठाएका छन्।
फेसबुकमा उनले राखेको एउटा तस्बिरमा लेखिएको छ, 'यो काठमाडौं महानगरपालिकाको मातहतमा पर्दैन।' महानगरपालिकाले अहिले यस्तो लेखिएको बोर्ड सडकमै राखिदिएको छ।
सर्वसाधारणबाट यो खण्डबारे महानगरमा अत्यधिक गुनासो आउने गरेका कारण महानगरपालिकाले सूचना लेखेर राखिएको जनाएको छ।
महानगरका सार्वजनिक निर्माण विभागका विभागिय प्रमुख सुरज शाक्य जनतालाई यो आयोजना कसको जिम्मेवारीमा रहेछ भन्ने जानकारी दिन भनेर बोर्ड राखिदिएको बताउँछन्।
'काम गर्नुपर्ने एउटा निकाय होला गाली हामीले खानु परेको छ। काम समयमा सक्ने सम्बन्धित निकायको जिम्मेवारी हो नि,' उनले भने।
सर्वसाधारणले यो सडक कहिले बन्छ भनेर सामाजिक सञ्जालमार्फत् पनि महानगरलाई प्रश्न गर्ने गरेका थिए।
हुन पनि यो खण्ड विगत पाँच वर्षदेखि अलपत्र छ। चक्रथप पहिलो खण्ड (कोटेश्वर कलंकी) विस्तार सकिएपछि २०७५ सालमै यो खण्डको डिजाइन र विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो।
कोरोना महामारीको कारण देखाउँदै लामो समयसम्म चिनियाँ पक्षले काम सुरू गरेन। त्यसपछि पनि साइट क्लियर हुनुपर्ने मुद्दा उठाएर काम सुरू गरेन।
२०७९ पुसतिर चिनियाँ टोली साइट निरीक्षणका लागि आएको थियो। त्यसबेला पनि सडक आसपासका मन्दिरहरू नहटाएसम्म काम सुरू नगर्ने अडान राखेर फर्केको थियो।
२०७९ माघमा सडक विभागका तत्कालीन महानिर्देशक अर्जुनजंग थापाले मन्दिर सार्ने काम पनि सकिन लागेको बताएका थिए। त्यो समयमा सामाखुसीस्थित शिवमन्दिर मात्रै सार्न बाँकी रहेको उनले उल्लेख गरेका थिए। त्यसयता सडक विभागले साइट क्लियर गरेको पनि एक वर्ष बितिसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् साइटमा समस्या नरहेको उल्लेख गर्दै चिनियाँ दूतावासलाई पत्राचार पनि गरिसकेको छ।
साइट क्लियर भएको जानकारी पठाउँदा पनि चिनियाँ पक्ष आएको छैन। साइट क्लियर भएपछि चिनियाँ पक्ष (निर्माणको जिम्मा पाएको संघाई कन्स्ट्रक्सन)ले आयोजनाको विस्तृत डिजाइन तयार गरेर काम अघि बढाउनुपर्ने थियो।
यसबारे अहिले कुनै पनि औपचारिक प्रतिक्रिया आइसकेको छैन। काठमाडौंस्थित चिनियाँ दूतावाससँग कुरा गर्दा त्यहाँको सरकारसँग ऋण स्वीकृति लिनुपर्ने हुँदा समय लाग्ने प्रतिक्रिया पाएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैशीले बताए।
'डिपिआर बनाउने र त्यसपछि सडक विस्तार गर्ने काम चिनियाँको हो। हामीले साइट क्लियर गरिसक्यौं। तर उहाँहरू आउनु भएको छैन। मैले मंगलबार मात्रै दूतावासका प्रतिनिधिसँग कुरा गर्दा चिनियाँ सरकारबाट ऋण सम्झौताका लागि स्वीकृतिको प्रक्रिया बाँकी छ भन्नु भएको छ,' उनले भने।
तर अब यो सडक खण्डको काम कहिलेदेखि सुरू हुन्छ भन्नेबारे अहिले केही भन्न नसकिने उनले बताए।
चक्रपथ सुधार आयोजनाका एक अधिकारीका अनुसार चिनियाँ पक्षले नेपालका जलविद्युत लगायत अन्य आयोजनाहरूमा पनि लगानी गर्न चाहेको छ। अन्य आयोजना पाए मात्रै यो सडक खण्डको काम पनि अघि बढाउने अडान लिएर काम सुरू गरिरहेको छैन।
'एमसिसी चाहिँ पास भइसक्यो यसमा चीन रूष्ट छ। उसले बिआरआई परियोजना पनि स्वीकृत भएर अन्य आयोजना पाएपछि मात्रै काम अघि बढाउने कुरा घुमाउरो पारामा भनिरहेको छ,' ती अधिकारीले भने।
अहिले आयोजनाले कलंकीदेखि बसुन्धरासम्म विभिन्न प्याकेजमा ठेक्का लगाएर सर्भिस लेन निर्माण गरिरहेको छ।
कलंकीदेखि स्वयम्भूसम्म सर्भिस लेन निर्माणको काम सकिएको र स्वयम्भूदेखि बसुन्धरासम्म पोल हटाउने तथा ग्राभेलिङ गर्ने जस्ता काम भइरहेको आयोजनाका इन्जिनियर राम विहारी चौधरीले बताए।
यो खण्डमा सर्भिस लेन, ढल बाहिरी वाल लगायत संरचना नेपाल सरकार आफैंले निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। सोहीअनुसार काम भइरहेको अधिकारीहरूले बताएका छन्।
सम्झौता अनुसार चक्रपथको करिब ११.७ किमी यो खण्ड ८ लेनमा विस्तार गर्नुपर्नेछ। चक्रपथको प्रथम खण्ड (कोटेश्वर–कलंकी) पनि चीन सरकारले नै ८ लेनमा विस्तार गरिदिएको थियो।
पहिलो खण्ड विस्तार गर्दा कतिपय त्रुटिहरू भएको कुरा सरोकारवालाहरूले औंल्याएपछि दोस्रो खण्डमा त्रुटि नदोहोरिने गरी काम गरिने अधिकारीहरूले बताएका छन्।
यो खण्डमा दुईतर्फी चार लेन गरी आठ लेन मुख्य सडक रहन्छ। सर्भिस लेन, साइकल लेन, फुटपाथसहितको शारीरिक अशक्तता भएका व्यक्तिमैत्री सडक निर्माण गरिने उल्लेख गरिएको छ।
युटिलिटी करिडोरसहितको उक्त सडकमा अण्डरपास तथा ओभरपास पनि रहनेछन्।
होल्डिङ जोनसहित स्ट्रिट लाइट तथा ट्राफिक प्रणाली व्यवस्थित हुने गरी सडक निर्माण गरिने उल्लेख छ।
यो खण्ड विस्तार गर्दा स्वयम्भू परिसरका केही मूर्ति हटाउनुपर्ने देखिएपछि पनि अन्योलमा थियो । तर, अब त्यहाँको मूर्ति नहटाई आयोजना अघि बढाउन तयार भइसकेको छ।
त्यस्तै यो खण्डमा पर्ने महाराजगञ्ज चोकमा रहेको मुआब्जा विवादलाई पनि छाडेर काम अघि बढाउन चीन सहमत भइसकेको छ। महाराजगञ्ज चोक छाडेर कलंकीदेखि चाबहिलको गोपीकृष्ण हलसम्म विस्तार गर्न चीन सहमत भइसकेको छ।
यसअघि त्यहाँको विवाद सुल्झिएपछि मात्रै काम सुरू गर्ने कुरा पनि चिनियाँ पक्षले राखेको थियो।
महाराजगञ्ज चोकको दुई सय ४४ मिटरमा मुआब्जा विवाद छ। त्यहाँ मुआब्जा वितरण गरेर १९ घरसहित करिब ४४ कित्ता जग्गा प्राप्ति गर्नुपर्नेछ। सडक विभागले त्यो ठाउँमा आफैंले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिइसकेको छ।
विवाद सुल्झिएपछि चाबहिलको गोपीकृष्ण हलदेखि नारायणगोपाल चोकसम्म चक्रपथ तेस्रो खण्डका रूपमा विस्तार गर्ने योजना सरकारको छ।
दोस्रो खण्ड निर्माणका लागि कति लागत लाग्ने भन्ने यकिन भइसकेको छैन। डिपिआर तयार भएपछि मात्रै कति लागत स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।