अचेल ठेकेदार भनेपछि सबैको मथिङ्गलमा पेस्की रकम लिएर बेपत्ता हुने, काम ओगट्ने, वर्षौं आयोजना पूरा नगर्ने तस्बिर आउँछ।
नारायणघाट–बुटवल, पासाङ ल्हामु राजमार्ग, भक्तपुर–चाँगुनारायण सडक खण्ड यसैका ज्वलन्त उदाहरण हुन्।
पटक–पटक म्याद थप्दा पनि काम पूरा नगरेपछि निर्माण कम्पनी धमाधम कालोसूचीमा पर्न थालेका छन्। बुधबार मात्रै पाँच निर्माण कम्पनी कालोसूचीमा परे।
निर्माण कम्पनीहरूको यो छविका बीच भिन्न छ, मंगलादेवी सुवास कन्स्ट्रक्सन।
आयोजना पूरा नगरेर उपभोक्तालाई सास्ती थमाउने ठेकेदारहरूको भीडमा सुवास कन्स्ट्रक्सनका प्रोप्राइटर सुवासचन्द्र कार्कीले अलग्गै पहिचान बनाएका छन्, काम बेलैमा सम्पन्न गरेर।
त्यही पहिचानका कारण बेनीमा उनलाई सम्मान थापेर भ्याइनभ्याइ छ।
केही दिनमा बेनी नगरपालिकाले पनि नगरसभा गरेर उनलाई सम्मान गर्दैछ।
सुवासले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत् बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजनाको काम सम्झौताभन्दा एक वर्षअघि नै सकेका छन्।
समयभन्दा अगावै काम सकेपछि बेनीमा अहिले उनको वाहीवाही छ, उनी पनि दंग परेका छन्।
‘काममा नाफा–घाटा त भइहाल्छ। यहाँका जनताको माया र प्रशंसा पाएर अझै प्रोत्साहित भएको छु,’ सुवासले सेतोपाटीसँग भने।
यो मात्र होइन, यसअघि पनि सुवासले जिम्मा लिएका सबैजसो काम राम्ररी सकेका छन्। उनले अलपत्र छाडेको वा समयमै पूरा नगरेको कुनै पनि परियोजना छैन। उनका अनुसार यही वर्ष तनहुँमा दुइटा आयोजना पनि समयभन्दा अगाडि नै निर्माण सम्पन्न हुँदैछन्।
निर्माण व्यवसायको क्षेत्रमा सुवासको बीस वर्षभन्दा बढीको अनुभव छ। नुवाकोटको तादीमा उनका बुबाले सुरू गरेको मंगलादेवी सुवास कन्स्ट्रक्सनलाई २०६८ सालयता सुवासले नै सम्हालिरहेका छन्।
त्यसयता साना-ठूला सयौं परियोजनामा उनको कम्पनीले काम गरेको छ।
बेनी-गलेश्वरको दुई किलोमिटर सडक निर्माणका लागि गत वर्ष टेन्डर आह्वान भएको थियो। २० करोड लागत अनुमान गरिएको आयोजनामा सबभन्दा कम, १२ करोड ७५ लाख ९४ हजार रूपैयाँमा सुवासको कम्पनीले ठेक्का पायो।
ठेक्का परेपछि उनी काम गर्ने क्षेत्र अवलोकन गर्न गएका थिए। आफूले काम गर्नुपर्ने सडकको हविगत देखेर सुवास झस्किएका थिए।
'साँघुरो सडकको कुनातिर भीर, छेउमा कालीगण्डकी नदी। बीचबीचमा पहिरो नै पहिरो। चारवटा ठुल्ठूला पहिरो र खोल्सा रहेछन्,' उनले त्यो बेलाको सडक क्षेत्रको अवस्था सुनाए, 'बाटोको अवस्था नै पहिलो चुनौती थियो।'
अर्कातिर यो सडकमा सधैं चाप हुन्थ्यो। मुक्तिनाथ पुग्न यही बाटो छिचोलेर जानुपर्छ। गाडीहरू चलिरहँदा एकछिन पनि रोकेर काम गर्न सक्ने अवस्था थिएन।
अप्ठ्यारो क्षेत्रमा सवारी आवागमन र निर्माणको काम सँगै लैजानुपर्ने अर्को चुनौती थियो।
'काम गर्न निर्माण सामग्री सहजै उपलब्ध गराउन पनि चुनौती नै थियो,' उनले भने।
उच्च अदालत पोखराले कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको थियो। आवश्यक पर्ने निर्माण सामग्रीको उपलब्धता कसरी सुनिश्चित गर्ने भन्ने पनि उनले सोच्नुपर्थ्यो।
चौथो चुनौती त उनले अधिकांश आयोजनामा खेप्दै आएकै विषय थियो।
निर्माण सुरू हुनुअघि केही उच्छृंखल युवाहरूको समूहले दुःख दिन्छन्। पैसा असुल्नकै लागि ठेकेदारलाई त्यस्ता समूहले दिने दुःख सुवासले दुई दशकदेखि झेल्दै र सुल्झाउँदै आएकै हुन्। अनि निर्माण चलिरहँदा स्थानीयहरूले राख्ने विभिन्न मागहरू पनि सम्बोधन गर्नैपर्यो।
सबै चुनौतीहरू विश्लेषण गरेपछि सुवासले बेनी नगरपालिकाका मेयर सुरत केसीलाई भेटे। उनलाई निर्माण सुरू भएपछि आउने समस्या र चुनौतीबारे फेहरिस्त लगाए।
काम गर्ने वातावरण बन्यो भने समयमै सक्काउँछु भन्ने दृढ आत्मविश्वास सुवासमा थियो।
'सबै कुरा मुस्किल थिए। बस्तीको नजिकको सडक, गाडी गुडिरहने, जाम पनि त्यत्तिकै हुने। प्राकृतिक रूपमा पनि अप्ठ्यारो ठाउँ। निर्माण सामग्री पनि अभाव जस्तो थियो,' सुवासले एक वर्षअघिको कुरा सुनाए, 'मैले मेयरलाई घाटा-नाफा नहेरी काम गर्छु, सहज रूपले काम गर्ने वातावरण तयार पारिदिनुभयो भने तपाईंको चित्त बुझ्ने गरी छिटो आउटपुट दिन्छु भनेँ।'
सुवासका अनुसार मेयर केसीले गुणस्तरमा रत्ति सम्झौता नगरी काम गर्न भने। अवरोध नहुने वातावरण बनाइदिने प्रण गरे।
'मेयरसाबले निर्माण सामग्रीमा कसैले दुःख दियो, समस्या पार्यो भने उनीहरूसँग म भिड्छु, सकेको सबै गर्छु भन्नुभयो,' सुवासले मेयर केसीका भनाइ सम्झिए, 'त्यसका बाबजुद तपाईंको काममा कमजोरी भेटियो भने म आफैं डोजर लगाएर भत्काउँछु, ढिला गर्नुभयो भने गाउँलेले पनि तपाईंलाई पिटेर लखेट्छन् भन्नुभयो।'
मेयरसँगको कुराकानीपछि सुवास उत्साहित भए। गत माघ ६ गतेदेखि काम थाले।
उनका अनुसार निर्माण क्षेत्रमा सुरूदेखि नै आठवटा एक्सकाभेटर र पाँचवटा टिपर परिचालन गरियो। सुवासको कम्पनीसँग आफ्नै एउटा ठूलो मेसिन र दुइटा टिपर मात्र छन्। अरू सबै भाडामा ल्याएर चलाउँछन्।
त्यस्तै तीन सय जनाको टिमलाई दुई सिफ्टमा काममा लगाए।
कम्पनीमा आबद्ध कामदार ६० जना हुन्। उनीहरू १२ वर्षदेखि आफूसँग काम गरिरहेकाले एकदमै अनुभवी रहेको सुवास बताउँछन्। त्यसबाहेक धनुषा, उदयपुर, नुवाकोट, काभ्रे, सिन्धुलीबाट पनि कामदार ल्याएर दैनिक तीन सय जनालाई उनले काममा खटाए।
बिहान ६ बजे सुरू हुने काम राति १२ देखि २ बजेसम्म चल्थ्यो।
त्यहाँ काम गर्न दिउँसोभन्दा राति सहज हुन्थ्यो। दिउँसो गाडी धेरै हुन्थे।
यसैगरी मिलाउँदै, काम गर्दै दुई किलोमिटर सडकमा चारवटा बक्स कलभर्ट बनाए। प्रोटेक्सन वाल, ग्याबिन उठाए। सडक काट्ने काम गरे। यी सबै काम सक्न पाँच महिना लाग्यो।
'असारको पहिलो सातामा पूर्ण ग्राभेल समेत गरेर बाटो चिल्लो बनाएरै छोड्यौं। ८५ देखि ९० प्रतिशत काम असारअघि नै सकायौं,' उनले भने।
दिनमा मात्रै गरेको भए कुनै हालतमा त्यति छिटो काम नसकिने उनले बताए। दिउँसो प्रोटेक्सन वाल, ग्याबिन हाल्ने लगायत मजदुरले गर्ने काम हुन्थ्यो। राति मेसिनले ढुंगा काट्ने काम गरिन्थ्यो। त्यसो गर्दा यातायात पनि अवरूद्ध भएन र काम पनि अगाडि बढेको सुवासले बताए।
कामको सुरूआती सयमा केही अवरोध पनि भएको सुवास सुनाउँछन्।
उनका अनुसार निर्माण व्यवसायीहरूले काम नगर्ने र ढिला गर्ने प्रवृत्तिले उनीहरूलाई पनि गाह्रो पार्यो। निर्माण सामग्री ल्याउन नदिने, रोक्ने, हामीलाई केही सम्बोधन गर्नुपर्छ भन्ने, अराजक समूहले क्रसरहरूमा पनि दच्काउन खोज्ने काम भयो।
'म कतिपयलाई पेलेरै अगाडि बढेँ। राजनीतिको आडमा अराजक गतिविधि गर्नेहरूलाई रोक्न मेयरसाबले भूमिका खेल्नुभयो। एक-डेढ महिना झेलेँ, त्यसपछि त वातावरण सहज बन्यो,' उनले भने।
रातको समयमा आठवटा एक्सकाभेटर चलाउँदा त्यहाँका मानिसहरू शान्तसँग सुत्न पाउँदैन थिए। त्यसबारे पनि पटकपटक गुनासो आएको थियो।
'आठवटा एक्सकाभेटरको निरन्तर आवाज सुन्दा के हालत हुन्छ, उहाँहरूले धेरै सहनुभयो,' उनले भने।
सडकमुनि खानेपानीको मुख्य पाइपलाइन भएकाले निर्माण क्रममा पाइप पनि काटिइरहन्थ्यो। यसबाट बेनीवासीले राम्ररी पानी पनि खान नपाएको सुवास बताउँछन्।
स्थानीयको गुनासो सुन्न र उनीहरूलाई सम्झाइबुझाइ गर्न सुवास आफैं उनीहरूको घरघर पुगे। मेयर केसी र स्थानीय प्रशासनको पनि साथ पाए। सबैले सम्झाएपछि स्थानीयले गुनासो गर्न छाडेको सुवास बताउँछन्।
त्यसरी काम गर्दा असार अघिसम्म ग्राभेलसहितको सात मिटर चौडा सडक तयार भएको सुवासले बताए। वर्षाको समय भएपछि; असार, साउन र भदौमामा काम रोकियो। संरक्षणका लागि एउटा एक्सकाभेटर, दुइटा टिपर र एक जना सब-इन्जिनियर त्यहीँ राखिएको थियो।
'त्यसपछि दसैंलगत्तै कालोपत्रेको काम सुरू गर्यौं। मंसिर अन्तिममा रङसमेत लगाइसक्यौं। बाटो टल्काएर छाडेर निस्किनु हाम्रो जिम्मा हो,' उनले भने।
वेनी नगरपालिकाका मेयर केसीले सुरजको काम गर्ने तरिकाबाट आफू प्रभावित भएको बताए। 'उहाँको काम गर्ने शैली र व्यवस्थापन अत्यन्त राम्रो रहेछ। हामीले काम नरोकिने वातावरण बनायौं, उहाँहरूले सरासर काम गर्नुभयो,' उनले भने।
मंगलादेवी सुवास कन्स्ट्रक्सनका इन्जिनियर बसन्त रिजालले समयअघि नै काम फत्ते हुनुमा स्थानीयदेखि जनप्रतिनिधि, प्रशासन र आयोजनाको ठूलो सहयोग रहेको बताए। आयोजनाका प्राविधिक पनि जतिबेलै उपस्थित भएर नापजाँच गरिदिँदा काम चाँडै सम्पन्न भएको हो।
'कुनै पनि आयोजना समयमै सम्पन्न हुन निर्माण व्यवसायीको मात्रै होइन, सरोकारवाला सबैको मुख्य भूमिका हुन्छ,' बसन्तले भने, 'आयोजना प्राविधिकहरू हाम्रो अनुरोधमा राति ३ बजेसम्म साइटमा उपस्थित भएर गुणस्तर र मापदण्ड हेरिदिन्थे। त्यसले गर्दा पनि हामीलाई चाँडो काम सक्न सहज भयो।'
उनका अनुसार त्यसरी काम गर्दा दैनिक कम्तीमा ५० मिटरसम्म ढलान र पाँच सय मिटर कालोपत्रे हुन्थ्यो। दसैंपछि, एक महिनामै सबै काम सकिएको उनले बताए।
कालीगण्डकी करिडोर सडक आयोजनाका इञ्जिनियर अच्युत पन्त व्यवसायीले गरेको प्रतिबद्धता अनुसार काम गरे आयोजना चाँडै सम्पन्न हुने बताउँछन्।
'उहाँले प्रतिबद्धताअनुसार काम गर्नुभयो। मुख्य चाडपर्वमा बाहेक कहिल्यै काम रोक्नुभएन। त्यसमा हामीले सहयोग मात्र गरेका हौं। उहाँ राम्रो निर्माण व्यवसायी हुनुहुँदो रहेछ,' उनले भने, 'उहाँहरूले काम गरेको समय निरीक्षण र अनुगमन गर्ने हाम्रो दायित्व हो। उहाँले बोलाउँदा हामी जतिबेला पनि उपस्थित हुन्थ्यौं।'
राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयभन्दा अगाडि सकिएको छ। भुक्तानीको पनि समस्या छैन। सुवासका अनुसार केही रकम भुक्तानी भइसकेको छ। केही हुने क्रममा छ।
निर्माण व्यवसायीले समयअगाडि नै काम सकेर बेनीवासीको समस्या चाँडै हल गरिदिएको मेयर सुरत केसी बताउँछन्। भुक्तानी दिलाउने प्रक्रियामा स्थानीय सरकारले पनि पहल गर्ने बताए।
सुवासको कामले त्यहाँ सञ्चालित अन्य आयोजनाका ठेकेदारलाई पनि निर्धारित समयमा काम सक्न दबाब पुगेको मेयर केसीले बताए।