निर्माणाधीन नागढुंगा सुरूङ अब २७७.६० मिटर खनेपछि 'ब्रेक थ्रु' हुने भएको छ।
आयोजना प्रमुख नवीनमान श्रेष्ठले डिसेम्बरको अन्तिमसम्म सुरूङ ब्रेक थ्रु हुने बताए।
मुख्य सुरूङ निर्माण गएको असारसम्म सक्ने योजना थियो तर असारमा सकिएन। अब सुरूङ ब्रेक थ्रु छिट्टै हुने श्रेष्ठको तर्क छ।
यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएका कारण पनि निर्माणमा ढिलाई भएको आयोजनाले बताएको छ। निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या देखिएको थियो। बीचमा केही विवादका कारण पनि निर्माणमा अवरोध पुगेको उनले बताए।
'पछिल्लो पटक स्थानीय विवाद हुँदा केही दिन काम भएन। अहिले भइरहेको छ,' उनले भने।
स्थानीय विवादका कारण करिब ८ दिन निर्माणको काम अबरूद्ध बनेको थियो। सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको र आयोजना स्थल नजिकै ११ वटा घरहरू चर्किएका कारण विवाद आएको श्रेष्ठले बताए।
अहिले खाडल परेको ठाउँ विज्ञबाट अनुसन्धान गराउने तथा चर्किएका घरहरूलाई अस्थायी स्थानान्तर गर्ने गरी निर्णय भइसकेको छ। सोही निर्णयपछि रोकिएको काम सुरू भएको हो। अध्ययन गरेर रिपोर्ट तयार गर्न तीन महिना जति लाग्ने श्रेष्ठले बताए।
सुरूङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्यो, कति घरहरू चर्केका छन्, त्यसको कारण पत्ता लगाएर पीडितहरूलाई स्थानान्तरण गरिने श्रेष्ठको भनाइ छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर समस्या समाधान गर्ने निर्णय भएको हो।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले करिब एक महिनाभित्र सुरूङमार्गको मुख्य टनेल ब्रेक थ्रु हुने गरी निर्देशन दिइसकेका छन्।
केही समयअघि उनले यो सुरूङमार्गको निरीक्षण पनि गरेका थिए। मन्त्री ज्वाला तथा सचिव केशवकुमार शर्मासहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको थियो। त्यसक्रममा उनले एक वर्षभित्र गाडी गुड्ने गरी निर्माण सक्ने बताएका थिए।
आयोजनाको पछिल्लो प्रतिवेदन (१७ अक्टोबर २०२३ सम्म) को प्रगति विवरणअनुसार सुरूङको प्रगति ९५ प्रतिशत भएको देखिन्छ।
उक्त प्रतिवेदनअनुसार समग्र आयोजनाकै भौतिक प्रगति ६३.५४ प्रतिशत सकिएको छ। यसको वित्तीय प्रगति ५८.९२ प्रतिशत भएको छ।
आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। प्रतिवेदनअनुसार दुई हजार ४१०.४० मिटर खनिसकिएको छ। अब २७७.६० मिटर खन्न बाँकी छ।
यसको आपतकालीन 'इभ्याकुएसन' सुरूङ ब्रेक थ्रु भइसकेको छ। यसको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ।
तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।
नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो।
आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो।
यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो। २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ। आयोजना प्रमुख श्रेष्ठ थपिएको पछिल्लो अवधिमै निर्माण सकिने गरी काम भइरहेको बताउँछन्।
आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।
कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ।
जाइकाले उपलब्ध गराएको रकम भने ठेक्कामार्फत् आयोजना निर्माणमा खर्च भइरहेको छ।
१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ।
आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।
यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।
यातायातमा पहिलो प्रयोगका रूपमा यो सुरूङमार्ग सञ्चालनमा आउनेछन्। यसबाट आवतजावतमा निकै सहज हुने विश्वास लिइएको छ। सुरूङमार्ग सञ्चालन आएपछि मुख्य त नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ।
अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।
यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ। यो आयोजनाले नेपालको समृद्धि, विकास र आर्थिक उन्नतिमा निकै ठूलो मद्दत पुर्याउने अधिकारीहरूको भनाइ छ।