गएको वर्खायाममा देशभर एक अर्ब ३६ करोड १२ लाख रूपैयाँ लागतको सडक बिग्रिएको छ। सडक विभाग अन्तर्गत पर्ने ४९ हजार ६७६ मिटर सडक वर्षातका कारण बिग्रिएको हो।
क्षति भएका सडक मर्मत तथा पुनर्स्थापनाका लागि दुई अर्ब चार करोड २७ लाख रूपैयाँ लागत लाग्ने सडक विभागले जनाएको छ।
विभागकाअनुसार वर्खामा पाल्पा डिभिजन कार्यालय अन्तर्गत दुई करोड ३० लाख रूपैयाँ लागतको ५४५ मिटर सडक बिग्रिएको छ। सडक डिभिजन पोखरा अन्तर्गत तीन करोड ६२ लाखको ९०० मिटर सडक बिग्रिएको छ। त्यस्तै नुवाकोटमा एक करोड २० लाख लागतको १४० मिटर सडक बाढी पहिरोका कारण बिग्रिएको छ।
हेटौंडामा दुई कोरोड ९४ लाखको १३५ मिटर, चौरजहारीमा पाँच करोडको एक हजार ७००, नेपालगञ्जमा ९८ लाख लागतको ३९०, हर्कपुरमा दुई करोड ९८ लाख लागतको ३१४ मिटर सडक बिग्रिएको हो।
त्यस्तै, सुर्खेतमा १८ करोड ७० लाखको १० हजार ५०० मिटर, डोटीमा सात करोड ७१ लाखको एक हजार ११६ मिटर, साँफेबगरमा सात करोड २० लाखको एक हजार ४५१ मिटर, विराटनगरमा ६० लाखको १४५ मिटर, प्युठानमा ८० लाखको ६० मिटर, तुम्लिङटारमा आठ करोड ७४ लाखको ९८० मिटर, दमकमा १० लाखको १५ मिटर, भक्तपुरमा ७४ लाखको ५५ मिटर, दमौलीमा एक करोड ७४ लाख लागतको ४१५ मिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ।
सडक डिभिजन कार्यालय चरिकोटले हेर्ने तीन हजार २७५ मिटर सडकमा क्षति पुगेको छ। यसको लागत ११ करोड ४० लाख छ। चरिकोट डिभिजन अन्तर्गत बिग्रिएको सडक मर्मतका लागि १७ करोड ११ लाख लागत लाग्ने विभागले जनाएको छ।
काठमाडौंमा साढे चार करोड लागतमा बनेको २४० मिटर सडक बिग्रिएको छ। यसको मर्मतका लागि ६ करोड ७५ लाख लागत लाग्ने विभागले जनाएको छ। इलाममा दुई करोड ७० लाख रूपैयाँ लागतको ५५५ मिटर सडक बिग्रिएको छ। यसको मर्मतका लागि चार करोड पाँच लाख लागत लाग्ने अनुमान छ।
त्यस्तै, भरतपुरमा सात करोड लागतको १६ हजार ७०० मिटर सडकमा क्षति पुगेको छ। यो सडक पुनर्स्थापनाका लागि १० करोड ५० लाख लागत लाग्नेछ। बैतडीमा ४४ करोड ३३ लाख लागतको ९ हजार ८८५ मिटर सडक बिग्रिएको छ। यो सडक पुनर्स्थापनाका लागि ६६ करोड ५० लाख लागत लाग्ने अनुमान छ। डिएसबिपी अन्तर्गत १६० मिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ।
कतिपय सडकमा क्षति पुगेको लामो समय भइसक्दा पनि मर्मतसम्भार तथा पुनर्स्थापनाको काम हुन सकेको छैन। दसैं नजिकिएको छ, चाडवाडको समयमा सडकमा अत्यधिक चाप हुने र दुर्घटनालगायत जोखिम बढ्ने हुँदा पनि यतिबेला सडक सुरक्षाको विषयमा चासो बढिरहेको छ।
चाडपर्व नजिकिँदै गर्दा पनि कतिपय सडकको दुरावस्था देखिएपछि संसदको पूर्वाधार तथा विकास समितिमा पनि यो विषयले स्थान पाएको छ।
बुधबार संसदको पूर्वाधार तथा विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव तथा सडक विभागका अधिकारीहरू डाकेर सडकको अवस्थाबारे छलफल गरेको छ। दसैं नजिकिएसँगै सडक सुरक्षामा थप ध्यान दिनुपर्ने भन्दै समितिले सरकारलाई यसमा ध्यान दिन आग्रह गरेको छ।
समितिका सभापति दीपकबहादुर सिंहले दसैंको समयमा सडक यात्रा गर्ने यात्रुको चाप अत्यधिक हुने र दुर्घटना जोखिमलगायत विभिन्न समस्या देखिने हुँदा सुरक्षित यात्राका लागि सरकारले ध्यान दिनुपर्ने बताए।
छलफलका क्रममा समिति सदस्यहरूले पनि राजमार्ग तथा विभिन्न सडकलाई सुरक्षित र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए।
समिति सदस्य ठाकुर गैरेले दसैं तिहार लगायत चाडपर्वको समयमा ठूलो संख्यामा मानिसहरू उपत्यका बाहिरिने हुँदा राजमार्गलाई जतिसक्दो छिटो सुरक्षित बनाउनुपर्ने बताए।
'जनतालाई दसैं लागिसकेको छ। सरकारलाई थाहा छैन। हुन त यो सडक सुरक्षित पार्नुपर्छ भन्ने बेला होइन, काम भइसक्नुपर्ने बेला हो,' उनले भने, 'अब सडक बनाउन प्रत्येक पालिकालाई सरकारले ५० लाख रूपैयाँ दिनुपर्छ।'
अर्का सदस्य महेश बस्नेतले सरकारले सडकको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने बताए।
'सडकमा दैनिक सयौं यात्रुहरूले यात्रा गर्छन्। सडको सुरक्षाको विषयमा खाली चाडपर्वको बेलामा मात्रै नभएर अरू बेला पनि ध्यान दिनुपर्छ।' उनले भने।
सदस्य प्रतिमा गौतमले नेपालका सडकमा यात्रुहरूले ज्यानै जोखिममा राखेर हिड्नुपरेको बताइन्।
'घरबाट हिँडेको यात्रु फेरि फर्केर घर आउँछ कि आउँदैन भन्ने त्रास छ। सडक दुर्घटना अत्याधिक छ। चाडवाडको समयमा अझ दुर्घटना बढिरहेको छ,' उनले भनिन्।
सांसद माधव सापकोटाले सरकारले काम नगर्ने ठेकेदारको ठेक्का नतोडि संरक्षण गर्दा पनि समस्या भइरहेको बताए।
'पोखरा, बुटवल जानेलगायत राजमार्ग अस्तव्यस्त छन्। धुलिखेलदेखि पाँचखालतर्फ बाटो उस्तै छ,' उनले भने, 'यो अवस्था पार्नेलाई मोटरसाइकलमा त्यही बाटो हिडाउनु पर्यो।'
समितिमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दसैं-तिहार लगायत चाडपर्वको बेलामा मात्रै सडक सुरक्षाको कुरा उठ्नु उचित नभएको स्वीकार गरे। उनले अहिले सडक मर्मत गर्नैपर्ने भएकाले चाडपर्वलाई लक्षित गरेर सामान्य मर्मत गर्ने बताए।
देशभरका सडकमा देखिएका समस्या दीर्घकालीन समाधानका लागि पहल गर्ने पनि उनले बताए।
'काठमाडौं उपत्यकाका हाम्रो मन्त्रालयअन्तर्गत सडकमा जति खाल्डाखुल्डी छन्। यी पनि दसैं अगाडि नै पुरिन्छ,' उनले भने।
काम नगर्ने ठेकेदारको ठेक्का सरकारले नतोडेको विषयमा उठेको प्रश्नमा ठेक्का तोड्नु मात्रै बहादुरी नभएको तर्क उनले गरे।
'नयाँ ठेक्का प्रक्रियामा जाँदा झनै लम्बिन्छ। त्यसो हुन दिनुभन्दा बरू त्यसलाई छिटो काम गर्न लगाउने हो,' उनले भने।
सडक विभागले भने चालु वर्षमा बजेट अभावका कारण सडक मर्मतसम्भारमा समस्या रहेको जनाएको छ।
सडक मर्मतसम्भार कार्ययोजनामा प्रस्ताव भएअनुसार सम्बन्धित सडक डिभिजनहरूमा बजेट विनियोजन हुन नसक्दा समस्या देखिएको उल्लेख गरिएको छ।
विभागले संसदको पूर्वाधार तथा विकास समितिमा पेस गरेको प्रतिवेदनअनुसार मनसुनी वर्षातले क्षति पुगेका सडक खण्डमा आकस्मिक मर्मतसम्भार, पटके मर्मत तथा पुनर्स्थापनामा समस्या भइरहेको छ।
त्यस्तै, सार्वजनिक खरिद नियमावली २०६४(संसोधनसहित) मा एक जना निर्माण व्यवसायीसँग बढीमा पाँच वटा मात्रै चालु ठेक्काहरू रहन सक्ने व्यवस्थाका कारण सडक मर्मत गर्ने साना प्रकृतिका ठेक्का लिन निर्माण कम्पनीहरूले इच्छा नदेखाउने समस्या रहेको विभागको भनाइ छ।
निर्माण व्यवसायीहरूले समयमा मर्मत कार्य नगरिदिँदा त्यसैमा ठूलो क्षति पुग्ने गरेको पनि विभागले उल्लेख गरेको छ।
विभागले सडकमा समस्या आइरहनुको कारण पनि समितिमा पेस गरेको छ। पहाडी क्षेत्रका सडकहरूमा स्थानीय सडकहरूबाट बग्ने पानीको उचित व्यवस्थापन हुन नसक्दा छिटोछिटो सडक बिग्रिने गरेको विभागले जनाएको छ।
त्यस्तै, अधिकांश सडकहरूमा तोकिएको भन्दा बढी भारवहन क्षमताका सवारीसाधन सञ्चालन हुँदा पनि अपेक्षित समय अगावै सडक बिग्रिने प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षात भइरहेका कारण पनि सडक संरचनामा अनपेक्षित क्षति भएको विभागले उल्लेख गरेको छ।
विभागले यस्ता समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।
सडक निर्माण तथा पुनर्स्थापनालाई दीगो बनाउन प्राविधिक कर्मचारीहरूलाई खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन तथा गुणस्तर नियन्त्रण लगायत विषयमा तालिम दिइएको विभागले जनाएको छ।
त्यस्तै, मर्मतसम्भार कार्यलाई छिटो, छरितो बनाउन यस्ता ठेक्कामा म्याद थप नहुने व्यवस्था गरिएको विभागको भनाइ छ।