गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।
१३ दिनमा सुनको मूल्यमा यस्तो गिरावट आएको हो। १३ दिनमध्ये तिहार विदाको कारण यो अवधिमा सात दिन सुनको मूल्य तोकिएको थियो।
बुधबार सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो।
२०६६ सालदेखिको रेकर्ड हेर्दा अहिले देखिएको गिरावट इतिहासकै उच्च भएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।
‘हामीले दैनिक एक हजार रूपैयाँभन्दा बढीको घटबढको तथ्यांक राख्दै आएका छौं,’ शाक्यले भने, ‘केही दिनमै ७/८ प्रतिशतको गिरावट आएको यो नै पहिलो पटक हो।’
हुनतः २०८१ मंसिर १० गते एकै दिन सुनको मूल्य ९.५० प्रतिशतसम्म घटेको छ। तर, यो गिरावट अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको घटबढको कारणले नभएर सरकारले भन्सार शुल्क घटाएको कारण भएको थियो।
सरकारले त्यसअघिसम्म २० प्रतिशत भन्सार शुल्क लिँदै आएकोमा त्यसपछि १० प्रतिशत लिन थालेको थियो। यही कारण प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको सुन भोलिपल्टै प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
सो घटनालाई छाड्ने हो भने यसरी सुनको मूल्य लगातार उच्चले घटेको यो पहिलो पटक हो।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा तोकिन्छ। यहाँको माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुँदैन।
अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्चले घटेकोले स्थानीय बजारमा पनि मूल्य घटेको हो।
कात्तिक चार गते (अघिल्लो मंगलबार) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एकै दिन १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतिऔंस चार हजार ८२ डलरमा झरेको थियो। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
एकै वर्षमा करिब ५० प्रतिशतले बढेर प्रतिऔंस चार हजार चार सय डलर पुगेको सुनको मूल्य एकै दिन दशकयता ६ प्रतिशतले घटेको थियो।
नेपालमा पनि यही कारण सुनको मूल्य घटेको थियो। विश्वका केन्द्रीय बैंकहरूले सुन किनेर सञ्चित गर्ने क्रम बढेको कारण केही समयअघिसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बृद्धि थियो। त्यस्तै, विश्वका विभिन्न स्थानमा भइरहेको द्वन्द्वले पनि सबैभन्दा सुरक्षित (सेफ हेभन) मानिने भएकाले सुनको मूल्य बढाइरहेको थियो।
तर, मूल्य निकै उच्चमा पुगेपछि भने सुनको भाउ घट्न थाल्यो। पछिल्लो समय भने अमेरिका र चीनबीच चलेको ब्यापार युद्ध रोकिन सक्ने खबर बाहिरिएसँगै मूल्य थप घटिरहेको हो।
बिहीबार एपिइसी समिटको क्रममा दक्षिण कोरियामा चीन र अमेरिकाबीच आयात कर (ट्यारिफ) का विषयमा छलफल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
नेपालमा सुनको मूल्यमा देखिएका ऐतिहासिक उतारचढाव यस्ता छन्ः
२०७७ साउन २८ गते एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसअघि तोलाको एक लाख एक हजार ६ सय रूपैयाँमा कारोबार थियो।
महासंघको त्यो समयको तथ्यांक हेर्दा साउन २३ देखि साउन २८ गतेसम्ममा सुनको मूल्य तोलामा ७.८२ प्रतिशतले घटेको थियो।
साउन २३ मा प्रतितोला एक लाख तीन हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको सुन साउन २८ गते ९५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
सो समय विदा लगायतको ६ दिनमध्ये पाँच दिन मूल्य तोकिएको थियो।
त्यस्तै, महासंघका पूर्वअध्यक्ष शाक्यका अनुसार २०७६ साउन २८ गते १० हजार चार सयले बढेर सुनको मूल्य ८५ हजार चार सय रूपैयाँ पुगेको थियो। यो समय भने सुनको मूल्य १० हजारले बढेको थियो।
त्यस्तै, २०५२ मा पहिलो पटक सुनको मूल्य तोलाकै १० हजार रूपैयाँ पुगेको थियो। फेरि, २०५६ मा भने सुनको मूल्य घटेर तोलाको ७ हजार दुई सय ६० रूपैयाँमा कारोबार भएको थियो।