केही वर्षअघिसम्म तिज लाग्नुभन्दा महिना दिन अघिबाटै सुन पसलहरूमा ग्राहकको भिड लाग्थ्यो। तिजकै लागि गहना किन्ने वा पुराना गहना साटेर नयाँ डिजाइनका गहना किन्नेको चहलपहल हुन्थ्यो।
तर, यसपालि काठमाडौंका अधिकांश सुन पसलहरू सुनसान छन्। सुनको मूल्य बढ्दै गएपछि व्यवसाय नै ठप्प बनेको व्यवसायीहरू बताउँछन्।
सुनको मूल्य अत्यधिक वृद्धि भएपछि मानिसहरूले खरिद गर्नै छाडेको न्यूरोडस्थित एक सुन व्यवसायीले बताए।
'विगतको तुलनामा अघिल्लो वर्ष पनि सुनको खरिदबिक्री कम थियो,' उनले भने, 'यसपालि झन् पूरै बजार सुनसान छ।'
उनका अनुसार केही वर्षअघिसम्म तिजका लागि महिलाहरूले तिलहरी, मंगलसूत्र लगायतका गरगहना रूचाएका थिए। व्यवसायीहरूले ग्राहकको डिजाइन अनुसारकै गहना बनाउँथे।
'विगतमा सुनको मूल्य अहिलेको तुलनामा कम थियो। त्यसैले पनि हरेक तिजमा महिलाहरूकै डिमान्डमा गहना बन्थ्यो,' उनले थप भने, 'भाउ बढेपछि बिस्तारै आकर्षण नै घट्यो, अहिले दिनभर ग्राहक कुरेर बस्नुपरेको छ।'
सुन बजारलाई हेर्ने हो भने प्राय: साउन, भदौमा सुनको मूल्य घट्ने गर्छ। यो बेला सुन बनाउने र बढेको समय (मंसिर, पुस) तिर बेच्ने पुरानो प्रचलन थियो। तर, यसपालि भने सुन डेढ लाख रूपैयाँ नाघिसकेको छ।
सुनको मूल्य एक लाख रूपैयाँबाट बढेदेखि नै सुनको व्यापार खस्किएको सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य बताउँछन्।
सुनको मूल्य बढेर प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ।
'बजारको माहोल हेर्दा खराब नै छ। सुन किन्नै नसक्ने अवस्थामा पुगेको बजारले देखाउँछ,' उनले सेतोपाटीसँग भने, 'यो अवस्था कहिलेसम्म हो थाहा छैन।'
अघिल्ला वर्षहरूमा सुन जस्तै देखिने नक्कली गरगहना पनि महिलाहरूको आकर्षण थियो। यसपालि भने नक्कली गरगहनाहरूमा पनि आकर्षण नदेखिएको व्यवसायीहरू बताउँछन्।
चार वर्षदेखि विशालबजारस्थित नक्कली गहनाको व्यापार गरिरहेकी कमला रिजाल यसपालि विगतमा जस्तो व्यापार नभएको बताउँछिन्। तिज आउनु केही दिनअघि उनी गहना बिक्रीका लागि ग्राहक कुरिरहेकी थिइन्।
पहिलेजस्तै व्यापारको अपेक्षा गरेर उनले तिजकै लागि विभिन्न डिजाइनका रानी हार, तिलहरी, झुम्का, चुरा लगायतका गरगहना थपेकी छिन्। तर, व्यापार भने सोचेजस्तो नभएको बताउँछिन्।
'पोहोर साल तिजकै लागि ल्याएको ७० प्रतिशत गहनाहरू बेचेकी थिएँ,' कमलाले भनिन्, 'यसपालि त १० प्रतिशत पनि बिक्री गरेकी छैन। खोइ ग्राहक नै छैनन्।'
कमला चार वर्ष अघिसम्म कस्मेटिक तथा पोते व्यवसायमा थिइन्। कस्मेटिक व्यवसाय छोडेर गहना व्यवसायमा प्रवेश गर्दाको समयमा सुनसँगै नक्कली गरगहना किनबेच राम्रै थियो।
'महिलाहरूले नक्कली गहनाहरू खोज्न थालेपछि कस्मेटिक छोडेर गहना मात्रै बिक्रीका लागि यता आएँ,' उनले थप भनिन्, 'पहिले सोचेजस्तो व्यापार पनि थियो, यसपालि मात्र हो सुनसान।'
नक्कली गहनासँगै पछिल्लो समय महिलाहरूले धेरै रूचाएको गहना हो- 'अमेरिकन डाइमन्ड’
कोभिडपछि धेरैले अमेरिकन डाइमन्ड भनिने पत्थरका गरगहना बेचिरहेका छन्। यस्ता गरगहनालाई पनि महिलाहरूले निकै रूचाएका छन्। हिरा भनिए पनि यो परम्परात रूपमा हिरा-पसलमा किन्नेजस्तो महँगो हुँदैन। सामान्यत: पाँच सय रूपैयाँदेखि २०/३० हजार रूपैयाँसम्मका गरगहना बेचिरहेका छन्।
अघिल्ला वर्षहरूमा अमेरिकन डाइमन्डमा महिलाहरूको आकर्षण थियो।
पहेँलो सुनका गहनाका साटो सेतो र विभिन्न थरीको पत्थरका गहना रूचाएका थिए। तर, यसपालि विगतको तुलनामा यी गहनामा पनि महिलाहरूको रूचि नदेखिएको टिसा नेपालका सहसञ्चालक अनिष मानन्धर बताउँछन्।
'अघिल्लो वर्षहरूमा निकै माग थियो,' उनी भन्छन्, 'अहिले पहिले जस्तो माग छैन। सेटका गरगहना केही मात्रामा अर्डर आइरहेको छ।'
सुनको मूल्य बढेपछि विगतदेखि नक्कली गरगहनामा आकर्षण देखिए पनि यसपालि भने सबैखाले गरगहनाको बजार सुनसान देखिएको छ।