बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो। आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।