नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आइतबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार पाँच सय रूपैयाँ बढी हो।
अघिल्लो दिन अर्थात् शुक्रबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला १ हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार पाँच सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।