यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएको छ।
अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीतिमार्फत ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीति लिएका कारण उत्पन्न भएको बिक्री दबाबले सुनको मूल्यमा कमी आएको हो।
यो मूल्य विश्व बजारमा विगत तीन सातायताकै न्यून हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मूल्यमा सामान्य कमी आएको छ।
तेल उत्पादक राष्ट्रहरूले तेलको उत्पादनमा समेत कमी ल्याएको हुनाले आगामी दिनमा सुनको मूल्यमा उतार-चढाव देखिन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।
उनका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९५ हजार ९ सय ३५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम ९६ हजार २० रुपैयाँसम्म पुगेको थियो।
मंगलबार स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम ९५ हजार ८ सय ५० रुपैयाँमा झर्याे।
जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ८५ रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम १ सय ७० ले कम हो।
यो साता नेपाली बजारमा चाँदीको मूल्य स्थिर छ। साताको पहिलो दिन १ हजार १ सय ९६ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तेस्रो दिन साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम भयो।
साताको अन्तिम कारोबार भएको दिन शुक्रबार पुनः प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँमा झरेको छ। विश्व बजारमा चाँदीको मूल्य विगत छ महिना याताकै सस्तो भएको छ।