नेपाल टेलिकमले गुणस्तर सेवा दिनेगरी नयाँ नयाँ प्रविधिको क्षेत्रमा काम भइरहेको दावी गरेको छ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकहरुलाई गुणस्तरीय सेवा दिनका लागि पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको बताएकी छन्।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै उनले अप्टिकल फाईबरमार्फत तारसहितको सेवालाई गुणस्तरीय बनाउने कामलाई अघि बढाइएको पनि जानकारी दिइन्।
टेलिकमले फोर जी सेवा संचालनमा आएयता ताररहित सेवा पनि गुणस्तरीय हुँदै गएको दावी गरेको छ । काठमाडौं र पोखरामा टेलिकमले फोरजी सेवा सुरु गरेको छ। यो सेवाले पनि टेलिकमको सेवा प्रवाहलाई विश्वसनीय बनाउन ठूलो योगदान दिइरहेको पनि प्रबन्ध निर्देशक राजभण्डारीले बताइन्।
बैठकमा समितिका सदस्यहरुले टेलिकमको सेवालाई अझै गुणस्तरीय बनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए।