प्रिय आइफोन,
दस वर्षपछि पनि हाम्रो साथ टुटेको छैन भन्ने महशुस गर्दा मलाई पत्याउन गाह्रो परिरहेको छ। प्रविधि क्षेत्रमा यति लामो समय कसैसँग जोडिनु भनेको नपत्याउँदो घटना हो।
कहिलेकाहीँ अचम्म लाग्छ, त्यस्तो के होला, जसले यति लामो समय हामीलाई एकअर्कासँग गाँस्यो? पहिलो त, अचेल म जुनसुकै नयाँ ठाउँ पुगे पनि हिँड्दा–हिँड्दै बाटो बिराउँदिनँ। जिपिएस सेवा सधैं मेरो खल्तीमै हुन्छ। तिमीले दिएको क्यामरा प्रयोगले म राम्रो फोटोग्राफर भएको छु। र, हिजोआज म कुनै कार्यक्रम छुटाउँदिनँ, कहीँ पनि समयभन्दा ढिलो पुग्दिनँ। तिम्रो क्यालेन्डर र इमेल अपडेटले मलाई समयसँगै हिँड्न सघाउँछ।
स्टिभ जब्सले सन् २००७ मा तिमीलाई जन्म दिएयता संसारभरका करोडौं मानिसले स्मार्टफोनसँग मितेरी गाँसेका छन्। आज स्मार्टफोन नै मान्छेको अति मिल्ने साथी बनेको छ। त्यसमाथि अहिलेसम्म १ अर्ब २० करोड आइफोन बिक्री हुनुले तिमीलाई संसारकै बढी बिक्ने ‘ग्याजेट’ को दर्जामा पुर्याएको छ। यसको अर्थ, तिमीसँग मितेरी गाँस्नेहरू संसारभरि फैलिइरहेका छन्।
सबभन्दा रमाइलो त, अरू प्रतिस्पर्धी स्मार्टफोनको दाँजोमा तिम्रो मूल्य कयौं गुणा बढी छ, तैपनि स्मार्टफोन बिक्रीमा तिमी सामसङपछि दोस्रो स्थानमा छौ। तिमीसँगको मितेरी कति गहिरो र कति प्यारो छ भन्ने ज्वलन्त उदाहरण यही हो।
‘हामी दिनहुँ घन्टौं आइफोन प्रयोग गर्न सक्छौं, यसले बढी मूल्य तिर्न मनखत हुँदैन,’ वर्षौंदेखि आइफोनको बजार अध्ययन गर्दै आएका विश्लेषक टोनी स्याकोनागी भन्छन्, ‘उपभोक्ता सन्तुष्टिका दृष्टिले आइफोन विशेष छ।’
यति हुँदाहुँदै दसौं वार्षिकोत्सवसम्म आइपुग्दा आइफोनको अवस्था जोखिमपूर्ण बनेको छ। ‘एपस्टोर’ मा गएर नयाँ ‘एप्लिकेसन’ (एप) डाउनलोड गर्नुमा अब धेरै रोमाञ्च छैन। नयाँ आउने मोडलमा तिम्रो स्क्रिनको आकार पहिलेभन्दा ठूलो होला वा तिमी पहिलेभन्दा पातलो होलाउ भन्नेले पनि मान्छेलाई खासै व्यग्र बनाउन छाडिसक्यो।
जोखिमको संकेत त बिक्री तथ्यांकले पनि देखाउँछ। पोहोरको तथ्यांकमा तिमीले पहिलोचोटि आफ्नो बिक्री घटेको थाहा पायौ नि! चीन र भारतजस्तो ठूलो बजारमा तिमीलाई प्रतिस्पर्धीहरूले उछिन्दै गएको तिमीलाई हेक्का छ नि! ती दुवै देशमा मान्छेहरू सस्ता स्मार्टफोनतिर झुम्मिन थालेका छन्, जसले तिमीजत्तिकै सुविधा दिन्छ, त्यो पनि कम दाममा।
यस्तो बेला धेरैका आँखा सेप्टेम्बरमा हुने एप्पलको दसौं वार्षिकोत्सवतिर छ, जहाँ तिम्रो नयाँ मोडल सार्वजनिक हुँदैछ। उक्त समारोहमा एप्पलले अपडेटसहित नयाँ मोडलको आइफोन सार्वजनिक गर्दैछ। के यसले तिमीप्रतिको रोमाञ्च र उत्सुकता फेरि बढाउला?
यसपालि एप्पलले केही महत्वपूर्ण परिवर्तनसहित तिम्रो नयाँ स्वरुप अनावरण गर्ने अपेक्षा छ। प्रिमियम मोडलको मूल्य करिब ९९९ अमेरिकी डलर पर्ने धेरैले अड्कल गरेका छन्। आइफोनबारे जानकार स्रोतका अनुसार तिम्रो स्क्रिन फराकिलो हुँदैछ। एप्पलले तिम्रो निधार र चिउँडोतिरको अतिरिक्त भागलाई स्क्रिनको रूप दिनेछ। मान्छेले आफ्नो अनुहार नै तिमीलाई खोल्ने साँचो बनाउन सक्नेछन्। अब तिम्रो ब्याट्री ‘चार्ज’ गर्न तार झुन्ड्याइरहनुपर्ने छैन। चुम्बकीय इन्डक्सनकै माध्यमबाट आइफोन चार्ज गर्ने सुविधा एप्पलले ल्याउँदैछ।
यही सन्दर्भमा पछिल्लो १० वर्षलाई फर्केर हेरौं। तिमीमा त्यस्तो के विशेषता रहेछ, जसले मान्छे तिमीतिरै झुम्मिरहे र एकचोटि प्रयोग गरेपछि फर्की–फर्की तिमीतिरै आइरहे।
एप्पल स्टोरस्मार्टफोन उपभोक्तालाई बारम्बार आइफोनतिर आकर्षित गर्नुको एउटा कारण एप्पल स्टोरको सुविधा हो (यो सुविधा नेपालमा भने छैन)। कुनै प्राविधिक गड्बडी भए नजिकको एप्पल स्टोरमा सजिलै मर्मत गर्न सकिन्छ। प्रविधिको ज्ञान नभएका व्यक्तिलाई यस्तो सुविधा ठूलो कुरा हो। यसले बिग्रेको आइफोन कहाँ बनाउने भनेर छट्पटिनुपर्दैन। एप्पलबाटै मर्मत सुविधा पाउनु भनेको समस्याको छिटो र विश्वसनीय समाधान हो। अन्य कम्पनीका स्मार्टफोन बिग्रेको अवस्थामा भने सर्भिस सेन्टरमा दिने र मर्मत भएर आउने दिन गन्दै बस्नुपर्छ।
बलियो सुरक्षाआइफोनको ‘अपरेटिङ सिस्टम’ (आइओएस) एन्ड्रोइडको दाँजोमा सुरक्षित छ भन्ने सुरक्षा विशेषज्ञहरूले पनि स्वीकारेको विषय हो। आइओएसले एप्पलबाट मान्यताप्राप्त र एप–स्टोरबाट वितरण गरिने एप्स मात्र चलाउन दिन्छ। एन्ड्रोइडमा भने गुगलको आधिकारिक एप–स्टोर बाहिरका सफ्टवेयर पनि मज्जाले चलाउन मिल्छ। यस्ता अनधिकृत स्रोतबाट डाउनलोड गरिने एप्सले भाइरस सँगै लिएर आउँछन्, जसले स्मार्टफोनको सुरक्षा जोखिम बढाइदिन्छ। आइफोनमा भने अनधिकृत एप्स खुल्दै नखुल्ने हुँदा सुरक्षाको समस्यै हुँदैन।
स्मार्टफोन जति बढी सुरक्षित भयो उति नै चलाउन अप्ठ्यारो हुन्छ भन्ने भनाइ छ। एन्ड्रोइडमा जुनसुकै एप्स चलाउन मिल्ने हुँदा सजिलो मान्नेहरू धेरै छन्। तर, अनधिकृत एप्स प्रयोगले सहजतासँगै जोखिम पनि ल्याउँछ भनी मान्ने हो भने आइफोन चलाउन अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन।
‘इन्टरनेट चलाउँदा भाइरसको चिन्ताबाट मुक्त हुन चाहनेका लागि आइफोन उत्कृष्ट स्मार्टफोन हो,’ स्वतन्त्र बजार विश्लेषक ज्यान डसन भन्छन्।
आइफोन सुरक्षाको अर्को पाटो सफ्टवेयर अपडेट हो। एप्पलले आफ्ना एप्सको निम्ति आफैं अपडेट सार्वजनिक गर्छ, जसले प्रयोगकर्ताहरू अनधिकृत सफ्टवेयरको ओइरोबाट सुरक्षित रहन्छन्। एन्ड्रोइडका उत्पादकले भने अरूका एप्स प्रयोग गर्छन्। अपडेटका लागि पनि अरूकै भर पर्नुपर्छ। यसले अपडेट प्रक्रिया बढी जटिल बनाइदिन्छ, समय पनि बढी लिन्छ।
आज करिब ८७ प्रतिशत एप्पल उत्पादनमा आइओएसको पछिल्लो संस्करण चलिरहेको छ भने करिब १३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले मात्र गुगलको पछिल्लो अपरेटिङ सिस्टम ‘नगेट’ चलाइरहेका छन्।
उच्च गोपनीयताएप्पलका प्रमुख कार्यकारी टिम डी कुकले केही वर्षयता आफ्ना उपभोक्ताको गोपनीयता सुरक्षित राख्ने प्रतिबद्धता गर्दै आएका छन्। उनले भनेका छन्, ‘एप्पलको आम्दानी स्रोत हार्डवेयर बिक्री हो, ग्राहकको सूचना बेचेर होइन।’
यो उनको भनाइ मात्र होइन, यसलाई एप्पलले साबित पनि गरेको छ।
एप्पलले गत वर्ष एफबिआईसँग महत्वपूर्ण कानुनी लडाइँ लड्यो। अपराध छानबिनमै अप्ठ्यारो परेको भन्दै एफबिआईले आइफोनको अपरेटिङ सिस्टम लचिलो बनाउन आग्रह गरेको थियो, जसलाई कम्पनीले ठाडै नकार्यो।
केही आलोचक भने एप्पलको यो प्रतिबद्धतामा कमजोरी देखाउँछन्। कम्पनीले आफ्ना उपभोक्ताबाट प्रशस्तै तथ्यांक संकलन गरेको र त्यसलाई मार्केटिङ तथा विज्ञापन सेवामा प्रयोग गरेको उनीहरूको आरोप छ।
यति हुँदाहुँदै गोपनीयता संरक्षणबारे वकालत गर्दै आएका संस्थाहरू– इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसन र इलेक्ट्रोनिक प्राइभेसी इन्फर्मेसन सेन्टरले एप्पलको सुरक्षा घेरा मजबुत भएको भन्दै तारिफ गरेका छन्।
एप्पलका उत्पादनबीच समन्वयआइफोनको विशेषता अन्य एप्पल उत्पादनसँग तालमेल हुनु हो। म्याक, टिभीदेखि घडीसम्म आइफोनको गहिरो तालमेल छ। एप्पलको एउटा उत्पादन जालोमा छिरेपछि त्योसँग अर्को र अर्कोसँग अर्को सजिलै जोडिन्छन्। यसले एप्पलको ‘सिस्टम’ छाडेर बाहिर निस्कन गाह्रो पर्छ।
जस्तो, एप्पल घडीले त्यतिबेला मात्र राम्रो काम गर्न सक्छ, जब यसलाई आइफोनसँग मिलाएर चलाइन्छ। तपाईं एन्ड्रोइड फोन चलाउनुहुन्छ र एप्पल घडी प्रयोग गर्न चाहनुहुन्छ भने त्यो घडी सामान्यभन्दा खासै फरक हुने छैन।
यसका सफ्टवेयरबीच पनि समन्वय छ। एप्पल म्याप, एप्पल म्युजिक, एप्पल फोटोजस्ता एप्स आइफोन, म्याक लगायत सबै उत्पादनमा प्रयोग गर्न मिल्छ। जुनमा चलाए पनि ती आपसमा जोडिएका हुन्छन्। यसको विकल्पमा गुगल म्याप, स्पोटिफाई र गुगल फोटो प्रयोग गर्न सकिन्छ। तर, यसको पर्याप्त उपयोगिता हुँदैन। वीच्याट, ह्वाट्सएप, फेसबुक मेसेन्जर र सिग्नलजस्ता सेवा प्रयोग गर्न भने कुनै समस्या हुँदैन।
विश्वसनीय ब्रान्डआइफोन यस्तो ब्रान्ड हो, जो विश्वसनीयता र सन्तुष्टिसँग जोडिएको छ। गएको डिसेम्बरमा ‘४५१ रिसर्च’ नामक संस्थाले स्मार्टफोन प्रयोगकर्तामाझ गरेको सर्वेक्षणमा आइफोन उपभोक्ता बढी सन्तुष्ट देखिएका थिए। त्यसपछि सामसङ, मोटोरोला र एलजीका प्रयोगकर्ता सन्तुष्ट रहेको सर्वेक्षणको निष्कर्ष थियो।
बजार विश्लेषकहरू आइफोनलाई ‘प्रिमियम प्रोडक्ट’ को दर्जामा राख्छन्। प्रयोग गर्न सजिलो र सुरक्षित सफ्टवेयरले नै आइफोनलाई त्यो दर्जा दिएको हो।
आइफोनले १० वर्ष पूरा गरेको अवसरमा उल्लेख गर्नैपर्ने कुरा के भने, एकचोटि आइफोन प्रयोग गरेकाहरू सामान्यतया एन्ड्रोइडतिर फर्किन चाहँदैनन्। यसलाई ‘४५१ रिसर्च’ को सर्वेक्षणले पुष्टि गरेको छ। उक्त कम्पनीले आइफोन प्रयोगकर्तालाई ‘कुन नयाँ स्मार्टफोन प्रयोग गर्न चाहनुहुन्छ’ भनेर सोध्दा ९१ प्रतिशतले जवाफ दिएका थिए, ‘म फेरि अर्को आइफोन प्रयोग गर्न चाहन्छु।’
प्रिय आइफोन,
यो एक दशकमा तिमीले पाएको सबभन्दा ठूलो उपलब्धि यही हो।