अबदेखि अनलाइनबाटै ट्राफिक सचेतना कक्षा सञ्चालन हुने भएको छ।
आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा संचालनको शुभारम्भ गरेका हुन्।
अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको हो। यो कक्षा नागरिक एप प्रयोगकर्ताहरूका लागि लागू हुनेछ।
मापसे, रातो बत्ती, लेन अनुशासन र तीव्र गतिमा सवारी चलाएर उल्लंघन गर्नेहरूले भौतिक रूपमा कार्यालयमा गएर कक्षा लिनुपर्ने व्यवस्था थियो।
यसअघि ट्राफिक प्रहरीले जरिवाना गरे तुरून्तै अनलाइनबाटै जरिवाना भुक्तान गर्न मिल्ने व्यवस्था गरेको थियो।
प्रहरीले ज्ञानबजार प्रालिसँगको सहकार्यमा यो सेवा संचालन गरेको हो।
कसरी हुने अनलाइन सचेतना कक्षामा सहभागी?
नागरिक एप प्रयोगकर्ताले मात्रै यो सेवा लिन सक्नेछन्।
एपमार्फत ट्राफिक सचेतना कक्षाको लिंक टेम अनलाइन क्लासको अप्सन थिच्नुपर्नेछ। त्यहाँ टर्म एन्ड कन्डिसन पढेर 'कक्षामा सम्मिलित हुनुहोस्' भन्ने बटनमा थिच्नुपर्नेछ।
त्यसपछि एउटा फर्म्याट देखिनेछ। जहाँ आफ्नो फोटो राख्ने र थ्रेसहोल्डमा ध्यान दिएर कक्षा लिन सकिन्छ।
त्यसपछि एउटा भिडिओ प्रसारण हुन्छ। भिडिओ सकिएपछि ६ ओटा प्रश्न मध्ये तीनवटा प्रश्नको अनिवार्य सही उत्तर मिलाउनु पर्ने हुन्छ ।
कक्षा सफल भए पश्चात् नागरिक एपबाट टेक अनलाइन क्लास हट्नेछ।
सचेतना कक्षाको आचार संहिता पनि तोकिएको छ।
कक्षामा जोडिएपछि मोबाइलको क्यामेरा आफ्नो अनुहार तिर फर्काइराख्नुपर्ने हुन्छ। एआइले सुरुदेखि अन्त्यसम्म सेवाग्राहीको अनुहारलाई मोनिटरिङ गरिरहने हुँदा कक्षाको क्रममा क्यामेरा एक मिनेटसम्म अफ भए वा उक्त अनुहार नपाएमा तथा तीन अलर्ट मेसेज आएमा वा ६ प्रश्न मध्ये कम्तिमा तीन प्रश्नको सहि उत्तर नदिएमा कक्षा डिसकनेक्ट हुनेछ । पुनः सचेतना कक्षामा १२ घण्टा पश्चात मात्र सहभागी हुने व्यवस्था मिलाएको छ। उक्त कक्षा अर्को दिन पनि पुरा नभएमा अथवा स.द.कि. (सवारी दर्ता किताब) र स.इ.प. (सडक इजाजत पत्र) को कारबाहीमा सम्बन्धित कार्यालयको भौतिक उपस्थितिमा कक्षा लिइनुपर्ने हुन्छ।