नेपालमा मनसुन–बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले नयाँ 'सर्च–गाइड' सार्वजनिक गरेको छ।
यसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र 'अप–टु–डेट' जानकारी प्राप्त गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यपरक सचेतना प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइड सार्वजनिक गरिएको हो।
'अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाइ गर्न मद्दत गर्नेछ,' कम्पनीले भनेको छ।
यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद सूचना पोर्टल 'BIPAD', टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ।
यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर 'ट्र्याजिक इभेन्ट' लाई स्पष्ट रूपमा परिभाषित गर्छ। र, त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक सेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिने टिकटकले जनाएको छ।
टिकटकका दक्षिण एसियाका लागि पब्लिक पोलिसी एन्ड गभर्न्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, 'संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ। हामीले विपद व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवं यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी उहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं।'
यो सुरूआत टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत बृहत् लक्ष्यहरूमा आधारित भएको पनि कम्पनीले जनाएको छ।
'यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीको माध्यमबाट सशक्त बनाइरहेको छ। यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ। यहाँ मानिसहरू सही सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन्,' कम्पनीले भनेको छ।
थप जानकारीका लागि टिकटकको सेफ्टी सेन्टरमा जान सकिन्छ- www.tiktok.com/safety