इसेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो। धेरै प्रयोगकर्ताहरूले इसेवाको मोबाइल एप तथा वेबसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या भएको बताएका थिए।
यो विषयले सामाजिक सञ्जालमा थुप्रैले चर्चा, टिप्पणी, आलोचना मात्र गरेन धेरैलाई कौतुहल पनि बनायो।
कतिपय सर्वसाधारण तथा प्रयोगकर्ताहरू इसेवा ह्याक हुने होकी भन्नेमा चिन्तित देखिए।
इसेवाले भने सुरक्षा प्रणालीको कारणले नभएर सर्भर तथा प्रणालीको स्तरोन्नतिको काम भइरहेकाले यो समस्या आएको बताएको छ।
'अहिले नेपालका धेरै जसो कम्पनीहरूमा परम्परागत शैलीकै डेटा बेस प्रयोग भइरहेको छ। इसेवामा पनि त्यही थियो,' इसेवाका एक उच्च अधिकारीले भने, 'तर, हामीले प्रणाली स्तरोन्नति गरेका छौं।'
इसेवाले विश्व प्रख्यात क्यासेन्ड्रा नामक डेटाबेस भित्र्याएको हो।
इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले यो प्रणालीले तीन डेटा सेन्टरमा ग्राहकहरूको डाटालाई सुरक्षित राख्ने जानकारी दिए। त्यसैले यसमध्ये कुनै एक सेन्ट्रलमा समस्या आएपछि इसेवाको सेवा अवरूद्ध नहुने उनी बताउँछन्।
इसेवाले अहिले प्रयोग गरेको प्रणाली विश्विका अप्लाई पे, भारतको नेसनल पेमन्ट कर्पोरेशन, अमेरिकन एक्सप्रेस लगायतले पनि चलाइरहेको इसेवाको दाबी छ।
स्तारोन्नतिको क्रममा देखिएको प्राविधिक समस्यालाई लिएर इसेवाको भविष्य र सुरक्षा सम्बन्धी फैलिरहेको भ्रमक प्रचारमा विश्वास नगर्न शाक्यले बताएका छन्।
उनले अहिले भइरहेको स्तरोन्नतिको क्रममा यस्ता समस्याहरू उत्पन्न हुन नदिन थप सतर्कता अपनाइने पनि बताएका छन्।