एनसेल फाउन्डेसन 'नेपाल लिटरेचर फेस्टिभल २०२५' फागुन १५ देखि १८ गतेसम्म पोखरामा आयोजना हुने भएको छ।
अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिबल बाराहीघाट, लेकसाइडमा हुनेछ। जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ।
सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिबलको उद्घाटन गर्नेछन्।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिबललाई बुद्ध एयरले सम्बर्द्धन गरेको छ।
पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिबलमा गण्डकी प्रदेश सरकार सह प्रवर्द्धक छ।
फेस्टिबलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन्।
यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिबल सुरू हुनेछ।
उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आइजिएओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्। उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ।
यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक 'युगदेखि युगसम्म'को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो। हमालको पुस्तक प्रकाशोन्मुख छ।
उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिबलको आकर्षण रहनेछ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिबलमा रहनेछन्।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, 'लिच एण्ड अदर स्टोरिज' माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ।
सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ। यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन्।