एप्पलको सस्तो मोडेल भनेर चिनिएको आइफोन एस–इ४ आगामी बुधबार अर्थात् फेब्रुअरी १९ मा सार्वजनिक हुने भएको छ।
कम्पनीका सिइओ टिम कुकले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन्।
टिमले लेखेका छन्, 'एप्पल परिवारको नयाँ सदस्य फेब्रुअरी १९ मा सार्वजनिक हुँदैछ।'

एप्पलको एआई फिचर एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने यस फोनको डिजाइन आधुनिक हुने बताइएको छ।
यस आइफोनमा पहिलो पटक ओएलइडी प्यानल देख्न सकिनेछ। साथै यसमा ६.१ इन्चको प्यानल हुने अनुमान गरिएको छ। रिफ्रेश रेट ६० हर्ज मा नै रहने सम्भावना छ, जुन २०२५ को फोनको लागि पुरानो जस्तो लाग्नेछ।
यो आइफोन कालो, सेतो र रातो रंगमा उपलब्ध हुनेछ। यस्तै, अन्य सेडहरूमा पनि आउन सक्ने बताइएको छ।
फोनको पछाडिको बाँया भागमा एउटा क्यामेरा छ। यो ४८ मेगापिक्सलको हुने अनुमान लगाइएको छ। त्यस्तै, सेल्फी क्यामेरा भने १२ मेगापिक्सलको हुने बताइएको छ।
यसमा एप्पलको ए१८ चिपसेट र ८ जिबी र्याम हुनेछ।
यस आइफोनमा युएसबी टाइप–सी पोर्ट आउनेछ। आगामी आइफोन १६ प्रो सिरिज मोडेलहरूसँग तुलना गर्दा यसमा कम डाटा ट्रान्सफर गति रहने छ।
यसको सुरुवाती मूल्य ४९९ डलर (करिब ७० हजार रूपैयाँ) हुने अनुमान छ।