चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'डिपसिक' ले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको छ।
अहिले एआईमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको छ। अमेरिकाले अर्बौं डलर खर्च गरेर चिप्स क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्न सक्छ भन्नेमा पनि शंका उब्जेको छ।
डिपसिकले गत साता मात्रै आफ्नो लार्ज ल्याङ्वेज मोडल (एलएलएम), आर १, जारी गरेको थियो। नि:शुल्क प्रयोग गर्न मिल्ने डिपसिकको एलएलएम अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआई र मेटा जत्तिकै लोकप्रिय भएको छ। अमेरिका र चीनमा एप्पलको एप-स्टोरबाट सबभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एपमा डिपसिकले च्याट जिपिटीलाई नै जितेको छ।
छोटो समयमै डिपसिकले हात पारेको सफलताका कारण अमेरिकी सेयर बजारमा सोमबार तहल्का मच्चियो।
एआई प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य एक दिनमै तीन खर्ब डलर (११ प्रतिशत) घटेको फाइनान्सियल टाइम्सले लेखेको छ। यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।
त्यस्तै, युरोपेली चिप्स उपकरण निर्माता एएसएमएलको सेयर मूल्य पनि १० प्रतिशत घटेको छ। माइक्रोसफ्ट ६ प्रतिशत घटेको छ भने मेटा ५ प्रतिशत तल झरेको छ। यसले सूचना प्रविधिका कम्पनीहरूको सेयर कारोबार हुने न्यास्ड्याक परिसूचक ४.२ र एसएन्डपी २.४ प्रतिशत तल झर्ने अवस्था आएको फाइनान्सियल टाइम्सले जनाएको छ।
यो गिरावट कायम रहने हो भने अमेरिकी र युरोपेली कम्पनीहरूको बजार मूल्य १२ खर्ब डलरसम्म घट्न सक्छ भनेर ब्लुमबर्गले लेखेको छ।
विश्लेषकहरूले डिपसिकको उदयलाई तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू-उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष होडमा अमेरिकामाथि अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्।
चिनियाँ कम्पनी डिपसिकले अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै कम खर्च गरेर झन्डै उत्तिकै राम्रो काम गर्ने क्षमता देखाउनुले पनि यसको चर्चा बढेको हो। यसबाट एआईको हार्डवेयर खर्च अनुमानभन्दा कम हुन सक्छ कि भन्ने लगानीकर्ताहरूले आस गरेका छन्। यसले पनि सेयर बजारमा गिरावट आएको विश्लेषकहरू बताउँछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)