इलन मस्कले तलबमा पाउने टेस्लाको १०० अर्ब डलर मूल्यको सेयर अमेरिकी राज्य डेलावेयरकी न्यायाधीशले फेरि रोकिदिएकी छन्।
विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकारी (सिइओ) मस्कलाई तलब सुविधाबापत दसौं अर्ब डलर दिने भनेर सन् २०१८ निर्णय गरेको थियो। त्यही बेला सो निर्णय खारेज गरिदिएकी न्यायाधीशले सो फैसलामा पुनर्विचार गर्न अस्वीकार गरेकी हुन्।
टेस्लाको सञ्चालक समितिले सन् २०१८ मा कम्पनीको सेयर भाउ अनि गाडीको बिक्री र आम्दानी धेरै बढ्यो भने मस्कलाई पुरस्कार स्वरूप कम्पनीको धेरै सेयर दिने निर्णय गरेको थियो। त्यतिबेला समस्याग्रस्त कम्पनीले पछि अकल्पनीय रूपमा प्रगति गरेपछि मस्कले उनलाई प्रोत्साहन स्वरूप दिइएको प्याकेज पाउन योग्य भनेका थिए।
तर टेस्लाको सेयर भाउ धेरै बढेपछि कम्पनीका एक सेयरधनी सो निर्णय विरूद्ध अदालत गएका थिए। सोही मुद्दामा गत जनवरीमा फैसला गर्दै न्यायाधीश क्याथलिन म्याककोर्मिकले टेस्लाको सञ्चालक समितिले दिएको सुविधा प्याकेज त्रुटिपूर्ण भन्दै रोकेकी थिइन्।
मस्कले सो प्याकेज जायज भनेर प्रमाणित गर्न नसकेको र सन् २०१८ मा घोषणा हुँदा सेयरधनीहरूलाई त्यसबारे राम्ररी जानकारी समेत गर्न नसकेको उनको जिकिर थियो।
त्यति बेलाको बजार भाउ अनुसार मस्कले पाउने सेयरको मूल्य लगभग ५६ अर्ब डलर थियो। मस्कले चुनावी अभियानमा सघाएका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर भाउ अकासिएको छ। अहिले रोक्का गरिएको मस्कले पाउने सेयरको मूल्य १०० अर्ब डलर पुगिसकेको द न्यूयोर्क टाइम्सले लेखेको छ।
जनवरीको फैसलापछि कम्पनीका सेयरधनीको भेलाले जुनमा फेरि निर्णय गर्दै सन् २०१८ को निर्णय अनुमोदन गरेको थियो। त्यसको आधारमा कम्पनी र मस्कका वकिलले अदालतसामु जनवरीको आदेश पुनर्विचार गर्न आग्रह गरेका थिए।
तर न्यायाधीश म्याककोर्मिकले कम्पनीको जुनको निर्णयका आधारमा आफ्नो जनवरीको फैसला पुनर्विचार गर्न अस्वीकार गरेकी हुन्।
मस्कका वकिलहरूको जिकिरमा धेरैवटा त्रुटि भएको र सेयरधनीको भोटले पहिले घोषणा भएको प्याकेजको औचित्यता पुष्टि गर्न नसक्ने उनले बताएकी छिन्।
सो मुद्दा लडेका वकिलका लागि लगभग पाँच अर्ब डलर कम्पनीको सेयरका रूपमा पाउनुपर्ने अनुरोध पनि उनले अस्वीकार गर्दै उनीहरूले ३४ करोड ५० लाख डलर मात्रै पाउनुपर्ने आदेश दिएकी छिन्।
उनको सो आदेशपछि आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले कम्पनीको भोट न्यायाधीशहरूले नभएर सेयरधनीले नियन्त्रण गर्नुपर्ने बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)