नेपाल टेलिकमले सुन्धारा कार्यालयमा ग्राहकलाई सोधपुछ गर्न सजिलो हुने गरी रोबोट राखिएको छ।
आइतबारबाट कार्यालयमा रोबोट राखेर सेवा दिन थालिएको हो।
'कार्यालयहरूमा भीड हुँदा ग्राहकबीच द्वन्द्व नहोस् र ग्राहकले सो कार्यालयमा पाउने सेवाबारे रोबोटबाटै जानकारी लिन सकुन् भन्ने उद्देश्य हो,' टेलिकमका सहप्रवक्ता नविन कुमार मिश्रले बताए।
'बलियो भेन्चर' नामक कम्पनीले यस रोबोटको निर्माण गरेको बताइएको छ।
कार्यालयमा आउने सेवाग्राहीले राखेका जिज्ञासा सहित टेलिकमको सेवा र नयाँ प्याकेजको जानकारी रोबोटले दिने मिश्रले बताए।
रोबोटको नाम चराको नामबाट राखिएको छ।
'मैना' नाम दिइएको यो रोबोट नजिक गएर डिस्प्लेमा रहेको 'अगाडि बढ्नुहोस्' लेखिएको बटनमा थिचेर प्रश्न सोध्न सकिने बताइएको छ।
'मैना' ले महिलाको आवाजमा जवाफ दिनेछ। यो पाइलट प्रोजेक्ट भएकोले यसमा सफलता पाएसँगै टेलिकमले ग्राहकको भीड हुने अन्य कार्यालयमा पनि यस्ता रोबोट राखिने योजना बनाएको छ।