एनसेलका व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा रहेका छन्।
कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा 'एटिन फर एटिन' अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन्।
देशव्यापी रूपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो।
ती प्रस्तावहरूको मूल्यांकन गरी छानेर सिएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनौट गरी कार्यन्वयनमा ल्याइएका हुन्।
छानिएका परियोजनाहरूमा बाग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा स्कुल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरूलाई पुनः स्कुल पठाउनको लागि स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी न्युट्रिसन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्द्धनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन्।
त्यसैगरी, कोशी प्रदेशको लागि ६ हजार महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरूको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरू रहेका छन्।
लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कुलको अवधारणा विकासको लागि परियोजना सञ्चालन भइरहेको छ।
मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जीविकोपार्जनको लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन्।
सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नवीकरणिय ऊर्जा प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन्।
कर्णाली प्रदेशमा वास सम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहोरबाट कम्पोस्ट मलको उत्पादनसम्बन्धी कार्यक्रमहरू रहेका छन्।
आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेस गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए।
सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयनमा लगिएका छन्।
दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सिएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। यस 'एटिन फर एटिन' कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ।
प्राप्त प्रस्वावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन्।
एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ।
साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको कम्पनीले बताएको छ।