बुधवार एप डाउनलोड गर्ने स्टोर गुगल प्ले स्टोरमा भुक्तानी सेवा प्रदाय कम्पनी इसेवाको एप नै देखिएन।
नयाँ मोबाइल खरिद गरेकाहरूले र पहिलो पटक इसेवा एप डाउनलोड गर्नेहरूले यो एप नै डाउनलोड गर्न सकेनन्।
दिनहुँ ८ देखि १० हजारले यो एप डाउनलोड गर्ने भए पनि बुधबार त्यसो हुन सकेन।
यही कारण बजारमा इसेवा कम्पनी नै भागेको भन्नेसम्मका अफवाह फैलियो।
कतिपयले इसेवामा रहेको पैसा अन्त्य सारे भन्दै सामाजिक सञ्जालमा लेख्न समेत भ्याए।
आखिर बुधबार किन गुगल प्ले स्टोरमा देखिएन इसेवाको एप?
यस बारेमा हामीले इसेवा कम्पनीसँग बुझेका छौं।
'बुधबार दिउँसो गुगल एप स्टोरमा नदेखिएको हो, अन्यमा समस्या थिएन,' कम्पनीका एक प्रतिनिधिले भने, 'सोही दिन राति साढे १२ बजेपछि मात्र गुगल एपमा पनि इसेवा देखिन थालेको छ।'
उनले कम्पनीको नाम सम्बन्धमा सामान्य प्राविधिक समस्या आएकोले बुधबार दिउँसो गुगल एप स्टोरमा इसेवा नदेखाएको जानकारी दिए।
गत वर्षदेखि गुगलले आफ्नो प्ले स्टोरमा धेरै एप प्रकाशित भए पनि वास्तविक कम्पनीलाई मात्र राख्ने रणनीति अख्तियार गरेको थियो।
गुगलले क्रमागत रूपमा कम्पनीहरूलाई अलग–अलग समय दिएर त्यहाँ रहेको आफ्नो कम्पनीको विवरण पेस गर्न निर्देशन दिएको थियो।
यसको लागि गुगलले छुट्टै एजेन्सी डन एण्ड ब्राडस्ट्रिटलाई कम्पनीहरूको विश्लेषणको जिम्मा दिएको छ। इसेवाले पनि आफूसँग सम्बद्ध कागजातहरू बुझाउन अगष्ट ५ तारिखको समय पाएको थियो।
केही महिनाअघि मात्रै इसेवा पब्लिक लिमिटेड कम्पनी बनेको थियो। यही कारण डन एण्ड ब्राडस्ट्रिटले इसेवा कम्पनीको नाम इसेवा पब्लिक कम्पनी राखिदिएको थियो।
तर, नेपालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुने कम्पनीहरूको नाममा पब्लिक राख्ने गरिदैन। यहाँ पब्लिक कम्पनीको नामसँग लिमिटेड राखे पुग्छ। इसेवाको पनि नाम इसेवा लिमिटेड रहेको छ।
तर, डन एण्ड ब्राडस्ट्रिटले इसेवा कम्पनीको नाम इसेवा पब्लिक कम्पनी राखिदिएको र कम्पनीले गुगललाई बुझाएको कागजातमा भने इसेवा लिमिटेड भएपछि नाम नमिलेको भन्दै इसेवाको एप हटाइएको थियो।
इसेवाले डन एण्ड ब्राडस्ट्रिटलाई नाम परिवर्तन गर्न आग्रह गरेपछि बुधबार राति साढे १२ बजेबाट इसेवाको एप एप स्टोरमा देखिन थालेको छ।