कुनै पर्यटकीय स्थल, ऐतिहासिक स्थल, मठमन्दिर, दरबार, प्राकृतिक सम्पदा इत्यादि घुम्न जाँदा तिनको सांगोपांगो जानकारी पाउन तपाईं के गर्नुहुन्छ?
जानुभन्दा पहिल्यै नै पढेर जानकारी लिनुहुन्छ होला। स्थानीय बासिन्दालाई सोध्नुहुन्छ होला। त्यहाँ राखिएका ताम्रपत्र, शिलालेख इत्यादि पढ्ने प्रयास गर्नुहुन्छ होला। होइन त?
विदेशी पर्यटकहरू 'गाइड बुक' बोकेर हिँड्छन्। टुरिस्ट गाइड (पर्यटक पथप्रदर्शक) ले जानकारी दिन्छन्।
यस्तो परम्परागत शैली त छँदैछ। योसँगै आधुनिक सूचना प्रविधिमा जोड्ने काम गर्दैछ 'सारङ सर्भिस' ले।
सारङ एउटा ट्राभल-टेक प्लेटफर्म हो जसले देशका विभिन्न सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको कथा भन्छ। आगन्तुकहरूले क्युआर कोड स्क्यान गरेर जानकारी लिन सक्छन्।
'हामीले अहिले क्युआर स्टोरी बोर्डको सेवा दिइरहेका छौं। विशेष पर्यटकीय र धार्मिक स्थलहरूमा क्युआर बोर्ड राखेका छौं,' सारङका अनुसन्धानकर्ता दिवाकर रिजालले भने, 'मोबाइलबाट क्युआर स्क्यान गरेपछि त्यो ठाउँको जानकारी मोबाइलमै उपलब्ध हुन्छ।'
सारङ सर्भिसका सञ्चालक दिवाकर, सचिन डाँगी र सुशान्त गैरे हुन्। सचिन प्रमुख कार्यकारी अधिकृत हुन्। दिवाकर अनुसन्धान सम्हाल्छन् र सूचनाको लिखत तयार गर्छन्। क्युआर स्क्यान गरेपछि उपलब्ध हुने सामग्री उनीसहितको टिमले अनुसन्धान गरेर तयार गर्छ। सुशान्त गन्तव्यसम्बन्धी समन्वयको काम हेर्छन्।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदा स्थलमा क्युआर कोड छापिएका बोर्ड उनीहरूले टाँसेका छन्। यस्तो क्युआर कोडले आगन्तुकलाई गन्तव्य स्थलको जानकारी उपलब्ध गराउँछ। स्मार्टफोन प्रयोगकर्ताले क्युआर कोड स्क्यान गरेर अडिओ–भिडिओ हेर्न र सुन्न पाउँछन्। पढ्ने सामग्री पनि उपलब्ध छ।
सञ्चालकहरूका अनुसार सारङ सर्भिस क्युआर कोडबाट नेपालमा यस्तो सेवा दिने पहिलो कम्पनी हो।
उनीहरूले दुई वर्षपहिले पहिलोपटक काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा क्युआर बोर्ड राखेर परीक्षण गरेका थिए। धेरै स्वदेशी र विदेशी पर्यटकले कोड स्क्यान गरेर मन्दिरको जानकारी लिए। सञ्चालकहरू परीक्षण सफल भएको निष्कर्षमा पुगे। त्यसपछि ठमेलका अरू पर्यटकीय स्थलमा क्युआर कोड बोर्ड राखे।
ठमेलपछि उनीहरू बुढानीलकण्ठ नगरपालिका पुगे। बुढानीलकण्ठ मन्दिरको इतिहास र महत्वको विवरण समावेश भएको डिजिटल अभिलेख तयार पारेर प्रवेशद्वारमै क्युआर कोड बोर्ड राखे। त्यो पनि धेरै उपयोग भयो।
यसबाट उत्साहित उनीहरूले बुढानीलकण्ठ नगरपालिकाभित्रका सबैजसो सम्पदाको जानकारी समावेश गरे। यस्तो क्युआर कोड नगरपालिका कार्यालय भवनमा राखिएको छ। यसपछि उनीहरू दक्षिणकाली र काभ्रे जिल्लाका विभिन्न गन्तव्य पुगे। त्यहाँ क्युआर कोड राखे।
'हालसम्म देशभर कम्तीमा साढे एक सय गन्तव्यमा क्युआर कोड राखिसकेका छौं,' सुशान्तले भने, 'थप्दै जाने अभियानमा छौं।'
सारङ सर्भिस चलाउने तीनै जना किङ्स कलेजमा पढेका हुन्। कोरोना सुरू हुनुअघि उनीहरू अन्य कम्पनीमा आबद्ध थिए। लकडाउनमा घरै थन्किए। लकडाउन केही खुकुलो भएपछि सचिन र सुशान्त मकवानपुरको चिसापानीगढी घुम्न गए।
गढी सुनसान थियो, त्यहाँको मन्दिरमा ताला लागेको थियो। गढीबारे जानकारी लिने केही सामग्री भेटेनन्। आसपासका बासिन्दालाई सोधे तर पर्याप्त जानकारी पाएनन्। एक जनाले गढीका पुजारीको फोन नम्बर दिए।
उनीहरू पुजारीको घरै पुगे। पुजारीले मन्दिरमा आएर तोप देखाए। नेपाली फौजले ब्रिटिस फौजसँगको युद्धमा जितेको ठाउँ हो भने र अन्य जानकारी पनि दिए।
'पुजारी नभेटिएका भए त हामीलाई त्यति पनि थाहा हुने थिएन। यत्तिकै फर्किन्थ्यौं,' सचिनले भने, 'यस्ता ठाउँ धेरै होलान्। स्वदेशी र विदेशी पर्यटकले जानकारी नै नपाई फर्किनुपर्ने होला।'
यो घटना उनीहरूको दिमागमा रहिरह्यो। काठमाडौं फर्किएपछि भ्रमणबारे साथी दिवाकरलाई सुनाए। त्यही दिनको गफले सारङ सर्भिसको गोरेटो तयार गर्यो।
'ऐतिहासिक मठमन्दिरहरूमा आगन्तुकले कसैलाई नसोधी सूचना पाउने प्रविधि विकास गर्न सकिन्छ कि भन्ने कुरा भएको थियो,' सचिनले भने, 'तीनै जनाको छलफलबाट जानकारी समेटिएको क्युआर कोड राख्ने योजना बन्यो।'
योजना त बन्यो तर कम्पनीको नाम के राख्ने! निकै दिनको चिन्तन र छलफलपछि सारंगी बजाउँदै गीतको भाकामा गाउँठाउँको कथा सुनाउँदै हिँड्नेको दृश्य दिमागमा आयो।
उनीहरूले सारंगी शब्दबाट 'सारङ' बनाए अनि अंग्रेजी शब्द 'सर्भिस' जोडेर 'सारङ सर्भिस' भयो।
'सारंगी बजाउँदै कथा सुनाउँदै हिँड्ने गायकको सम्झना भयो। हामीले पनि क्युआर कोडबाट पर्यटकीय गन्तव्यको कथा भन्ने भएकाले सारङ शब्द छानेका हौं,' दिवाकरले भने।
यसपछि उनीहरू अरू गन्तव्यको अध्ययनमा लागे। धेरै ठाउँ पुगे। नयाँ काम गर्ने भनेपछि राम्रो अध्ययन गर्नै पर्यो। उनीहरूले अलिक फरक काम गर्न लागेका थिए। मन्दिरमा क्युआर कोड राख्दा प्रभावकारी होला कि नहोला भन्ने पनि केही अध्ययन गरे। स्थानीय बासिन्दाहरूसँग प्रतिक्रिया लिए।
सुरूमा ठमेलका आन्तरिक र विदेशी पर्यटकहरूसँग कुरा गरे। त्यस क्रममा विदेशी पर्यटकले एक्लै घुम्दा गन्तव्यबारे जानकारी पाउन नसकेको बताए। पर्यटकको अनुभव सचिन र सुशान्तले चिसापानी गढीमा भोगेको जस्तै थियो।
अन्ततः उनीहरू सारङ सर्भिस उपयोगी हुने र काममा अघि बढ्ने निष्कर्षमा पुगे। गन्तव्य स्थलहरू पहिचान गरे। स्थानीय बासिन्दा, संस्कृति विज्ञ, पुरातत्व विभाग लगायतसँग सहकार्य भयो। सूचना संकलन गरेर एकीकृत लिखत तयार गरेर क्युआर कोड बनाउँदै राख्न थाले।
यो क्रम जारी छ। सारङ सर्भिसको टिम गन्तव्य खोजी गर्दै विभिन्न ठाउँमा पुग्छ। आसपासका बासिन्दा र स्थानीय पर्यटन व्यवसायीहरूलाई क्युआर कोडको महत्व बुझाउँछ।
'धेरैले त अझै पनि क्युआर कोडबारे बुझ्नुभएको छैन। राख्नु पर्दैन भन्नेहरू पनि भेटिनुहुन्छ,' दिवाकरले भने, 'सूचना प्रविधिको युगमा पर्यटन प्रवर्द्धनका लागि क्युआर कोडको महत्वबारे समुदायमा सम्झाउने गरेका छौं।'
सारङ टिमले सामान्यता अंग्रेजी, नेपाली, हिन्दी, चिनियाँ र जर्मन गरी पाँचवटा भाषामा सूचना राख्छ। स्थानीय जातिका भाषा पनि समावेश गरेको छ। स्थानीय भाषा राख्न माग पनि हुन्छ।
दिवाकरका अनुसार कुनै खास पर्यटकीय स्थलमा कुनै खास भाषाका पर्यटक बढी आउँछन् भने ती पर्यटकले बोल्ने भाषा पनि समावेश गरिन्छ।
जस्तो– लुम्बिनीमा श्रीलंकालीहरूले बोल्ने सिंहाला भाषा पनि राखेका छन्।
यसरी समावेश भएका भाषा झन्डै सय वटा छन्।
सामान्यतया सारङ सर्भिसले एक ठाउँमा क्युआर कोड बोर्ड राखेको ३० हजार रूपैयाँ शुल्क लिन्छ। स्थानीय तह र सम्बन्धित सम्पदा संरक्षण तथा व्यवस्थापन गर्न बनेका समितिहरूले शुल्क तिरेर बोर्ड राख्न लगाउँछन्।