फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लुटिक राख्न शुल्क तिर्नुपर्ने भएको छ।
यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्।
हाल उक्त व्यवस्था ट्विटरमा लागू भएको छ। ट्विटरका सिइओ एलन मस्कले केही समय अघि नै ब्लुटिक भेरिफिकेसनको लागि प्रयोगकर्ताहरूले मासिक निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेका हुन्।
ट्विटरमा जस्तै मेटाले पनि फेसबुक र इन्स्टाग्रामको लागि 'मेटा भेरिफाइड' नामक सब्स्क्रिप्सन सेवाको सुरुआत गरेको हो।
अब प्रयोगकर्ताले यी सामाजिक सञ्जालमा ब्लुटिक राख्नको लागि वेब प्रयोगकर्ताले मासिक ११ डलर ९९ सेन्ट (हालको विनिमय दरअनुसार नेपाली १५ सय ८० रुपैयाँ) र आइओएस प्रयोगकर्ताले मासिक १४ डलर ९९ सेन्ट (करिब १९ सय ७६ रुपैयाँ) तिर्नुपर्ने हुन्छ। फेसबुक र इन्स्टाग्राम दुवैमा ब्लुटिक राख्न चाहेमा भने प्रयोगकर्ताले मासिक २४ डलर तिर्नुपर्ने हुन्छ।
यसबाहेक एनड्रोइड प्रयोगकर्ताहरूले ब्लुटिकको लागि कति तिर्नुपर्छ भन्ने घोषणा हुन बाँकी छ। प्रयोगकर्ताहरूले आफ्नो खाता प्रमाणीकरण गर्न सरकारी कुनै पनि कागजात पेश गरेर गर्न सक्नेछन्। त्यस्तै प्रयोगकर्ताले आफ्नो खातामा आधिकारिक नाम राख्नुपर्नेछ।
फेसबुक सिइओ जुकर्बर्गका अनुसार उक्त फिचरले प्रमाणीकरणबारे थप सचेत हुने र सुरक्षित समेत हुनेछ। हाललाई यो सेवा यही सातादेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा लागू हुने समेत उनले बताए। यसबाहेक अन्य राष्ट्रहरूमा पनि क्रमश: लागू हुँदै जानेछ।
फेसबुकले हालै मात्र आफ्नो दैनिक प्रयोगकर्ताको संख्या पहिलो पटक दुई अर्ब पुगेको घोषणा गरेको थियो।