नेपाल टेलिकमले काठमाडौंका केही स्थानमा फाइभजी (५जी) उपकरणको परिक्षण सुरू गरेको छ। कम्पनीका प्रवक्ता शोभन अधिकारीले उक्त विषयकाे पुष्टि गरेका हुन्।
प्रवक्ता अधिकारीका अनुसार कम्पनीले आवश्यक पूर्वाधार र उपकरणहरूको परीक्षण सुरू गरेको हो। उक्त उपकरणहरू चीनबाट आयात गरिएका हन्। प्रवक्ता अधिकारीका अनुसार उपकरणहरूको परीक्षण पुरा भएसँगै फाइभजी सेवाको लागि पनि परीक्षण सुरू गरिनेछ।
हाल चल्तीमा रहेका फोरजी, थ्रीजी र टुजीको तुलनामा फाइभजी नेटवर्कमा इन्टरनेट गति र गुणस्तर राम्रो हुन्छ। यो मोबाइल सञ्चार सेवाको लागि पाँचौ पुस्ताको प्रविधि हो।
विभिन्न विकसित मुलुकहरूमा फाइभजी नेटवर्कको व्यवसायिक सुरुआत भइसकेको छ। छिमेकी राष्ट्र भारतले समेत फोनको नेटवर्क फाइभजीमा अपडेट गरिसकेको छ। यस्तोमा नेपालमा भने हालै आवश्यक उपकरणको परीक्षण सुरू हुँदैछ।
नेपालमा सूचना तथा प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभजी परीक्षण गर्ने अनुमति गत वर्ष कात्तिक मै दिएको थियो। अनुमति प्राप्त हुने बित्तिकै नेपाल दूरसञ्चार प्राधिकरणले यसको परीक्षणको कार्यविधि तयार पार्यो।
कार्यविधिमा जुनकुनै दूरसञ्चार सेवा प्रदायक कम्पनीले फाइभजी परीक्षणको अनुमति लिएको हुन्छ, उसले अनुमति लिएको तीन महिनामा आवश्यक सम्पूर्ण उपकरणहरू आयात गरिसक्नुपर्ने र सोही अवधिभित्र परीक्षण समेत गरिसक्नुपर्ने उल्लेख गरिएको छ।
यद्यपि कोरोना महामारीका कारण आयातमा लागेको प्रतिबन्धहरूका कारण समयमै उपकरणहरूको आयात हुन नसकेको टेलिकम प्रवक्ता अधिकारी बताउँछन्।
'कोरोना महामारीले निम्त्याएको विभिन्न प्रतिबन्धका कारण समयमै काम सुरू हुन नसकेको हो। हाल उपकरणको परिक्षण हुँदैन। छिट्टै फाइभजी परीक्षण उपलब्ध गराउने छौं,' उनले सेतोपाटीसँग भने।
केही साता अघि मात्रै छिमेक राष्ट्र भारतले एक रिपोर्ट सार्वजनिक गरेको थियो। जसमा एयरटेल फाइभजीको प्रयोगकर्ता सकारात्मक रूपमा बढेको बताएको छ। प्रविधि वेबसाइट ग्याजेट ३६०का अनुसार फाइभजी सर्वसाधारणलाई उपलब्ध गराएको ३० दिन नबित्दै यसको प्रयोगकर्ता १० लाख नाघिसकेको छ।
हालै एप्पलले पनि भारतीय बजारमा आइओएस १६.२ को बेटा भर्सन (परीक्षणमै रहेको संस्करण) सार्वजनिक गरेको छ जसले फाइभजी नेटवर्क समर्थन गर्छ। यो आइफोन १२,१३ र १४ का सिरिजमा उपलब्ध हुने भारतीय प्रविधि वेबसाइट स्मार्ट प्रिक्समा उल्लेख छ। यीबाहेक आइफोन एसईमा पनि फाइभजी नेटवर्क समर्थन गर्ने बताइएको छ।
फाइभजी नेटवर्क सेवाको सुविधा लिन ग्राहक/प्रयोगकर्तासँग फाइभजी समर्थन गर्ने उपकरण भने हुन आवश्यक छ। भारतमा जस्तै नेपालमा पनि फाइभजी समर्थन गर्ने मोबाइल सेटको आयात र प्रयोग बढ्दो छ।
भारतमा यसरी फाइभजी प्रति सरकार र नागरिकहरूको समेत चासो बढिरहँदा नेपालमा भने फाइभजी नेटवर्क कतिको लाभदायी होला भन्ने यकिन छैन। किनभने अझै पनि नेपालको अधिकांश क्षेत्रमा थ्रीजीसम्म पनि राम्ररी नचल्ने धेरैको गुनासो छ।
तर टेलिकम भने फाइभजी नेटवर्क सेवाको सुरुआत गर्ने र सेवा विस्तारले ग्राहकहरूमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छ।
सुरुआती चरणमा फाइभजी नेटवर्कको परीक्षण काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा गरिने योजना बनेको छ। हाल टेलिकमले २६०० मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीमा आधारित फाइभजी सेवा परीक्षण गर्ने भएको छ।
नेपाल टेलिकमले सन् २०१७ जनवरी १ बाट काठमाडौं र पोखराबाट फोरजी नेटवर्क सुरू गरेको हो। यसले हालसम्म ७३९ स्थानीय तहमा फोरजी नेटवर्क पुर्याइसकेको छ। कम्पनीले थप क्षेत्रमा फोरजी नेटवर्क विस्तार गर्दैछ। योसँगै कम्पनीले फाइभजी पनि परीक्षण पनि सुरू गर्ने भएको हो।