सामाजिक सञ्जालमध्ये धेरैले फेसबुकमा फोटा र भिडिओ अपलोड गर्न रुचाउँछन्। तर कतिपय समय ती पोस्ट सिमित वा आफूले रोजेको प्रयोगकर्ताहरूले मात्रै देख्न मिल्ने होस् भन्ने लाग्छ। पोस्ट प्राइभेसीबाट साथीहरू, साथीको साथीहरू वा सार्वजनिक रुपमा पोस्ट गर्न मिले पनि निश्चित व्यक्तिहरू माझ पोस्ट गर्ने विकल्प भइदिए हुन्थ्यो भन्ने लाग्छ।
फेसबुकले त्यस्ता प्रयोगकर्ताहरूको लागि 'कस्टम लिस्ट' फिचर दिएको छ। जहाँबाट तपाईंले फेसबुकका साथीहरूलाई पनि भिन्नभिन्न समूहमा राख्न सक्नुहुन्छ र ती विशेष साथीहरूमाझ आफ्नो पोस्ट सेयर गर्न सक्नुहुन्छ। यसको लागि सुरूमा तपाईंले वेबसाइटबाट फेसबुक लगइन गर्नुपर्ने हुन्छ।
- फेसबुक लगइन गरेर अब आफ्नो प्रोफाइलमा जानुहोस्।
- यसपछि 'फ्रेन्डस्' भन्ने विकल्पमा थिच्नुहोस्।
- यो पृष्ठमा तपाईंले आफ्नो फेसबुक साथीहरूको सूची पाउनुहुन्छ। सूचीको सबैभन्दा माथि दायाँपट्टी 'फ्रेन्ड रिक्वेस्ट', 'फाइन्ड फ्रेन्डस्' जस्ता विकल्प देखिन्छन्। त्यसमध्येको फाइन्ड फ्रेन्डस् भनेर लेखिएको अक्षरमा थिच्नुहोस्।
- अबको पृष्ठमा तपाईंले थप थुप्रै सूची र विकल्पहरू देख्नुहुन्छ। बायाँपट्टी फ्रेन्डस् भनि लेखिएको खण्ड हुन्छ। यसअन्तर्गत फ्रेन्ड रिक्वेस्ट, सजेसन्स, अल फ्रेन्डस् लगायत विकल्प छन्। सबैभन्दा अन्तिममा 'कस्टम लिस्ट' हुन्छ। त्यसलाई चयन गर्नुहोस्।
- यसपछि बायाँपट्टि कस्टम लिस्ट लेखिएको खण्डभित्र देखिने 'क्रियट लिस्ट' थिच्नुहोस्।
- अब यहाँ तपाईंले लिस्ट (सूची)को नाम दिएर उक्त सूचीमा राख्न चहानुभएको प्रयोगकर्ताहरूको नाम चयन गरी सेभ गर्न सक्नुहुन्छ।
उदाहरणको लागिः कस्टम लिस्टमा तपाईंले 'अफिस फ्रेन्डस्' भनेर राख्न सक्नुहुन्छ। अब त्यो लिस्टमा आफ्नो कार्यालयका साथीहरू मात्र राख्नुहोस्। त्यस्तै, 'कलेज फ्रेन्डस्' नामक लिस्ट बनाएर सो लिस्टमा कलेजका साथीहरूलाई मात्र राख्न सक्नुहुन्छ। अथवा 'फ्यामिली' लिस्ट बनाएर त्यसमा परिवारका सदस्य मात्र पनि राख्न सक्नुहुन्छ।
यसरी तपाईंले आफ्नो विभिन्न क्षेत्र अथवा समूहको साथीहरूलाई छुट्टाछुट्टै सूचीमा राखेर ती विशेष साथीहरू माझ मात्रै पोस्ट सेयर गर्न सक्नुहुन्छ। यसको लागि फेसबुकमा केही पोस्ट गर्दै हुनुहुन्छ भने उक्त पोस्टको प्राइभेसीमा गई तपाईंले कुन समूहमाझ पोस्ट देख्ने बनाउन चाहनु भएको हो, त्यो समूह चयन गर्नुपर्ने हुन्छ।
जस्तै, कलेजसम्बन्धी केही पोस्ट छ र त्यो कलेजका साथी समूहमाझ मात्रै देख्ने बनाउन मन छ भने कस्टम लिस्टमा बनाएको 'कलेज फ्रेन्डस्' भन्ने रोज्नुहोस्।
तपाईंले आफ्नो फेसबुकमा साथीहरूलाई कुन-कुन समूहमा राख्नुभयो भन्ने उनीहरूलाई थाहा नै हुँदैन। यसले तपाईंको फेसबुकको पोस्टहरू व्यवस्थित राख्न पनि मद्दत मिल्छ।
यसबाहेक फेसबुकले पोस्ट र स्टोरीहरूको लागि नजिकी साथीहरूको सूची बनाउने फिचर दिएको छ। जुन कस्टम लिस्टभन्दा तल देखिने 'क्लोज फ्रेन्डस्'बाट तयार पार्न सकिन्छ।
तपाईंले जुनकुनै समय आफ्नो कस्टम लिस्ट र क्लोज फ्रेन्डस् सूचीलाई सम्पादन अथवा सधैंको लागि डिलिट गर्न सक्नहुन्छ।