इन्स्टाग्रामले कुनै पनि व्यक्ति अथवा संस्थाको अकाउन्टको फलोअर्स संख्या १० हजार पुगेपछि 'भेरिफाइड ब्याज' दिन्छ।
प्रख्यात सेलिब्रटी, कम्पनी, संस्थाहरूको इन्स्टाग्राम ह्यान्डल छेउ निलो चिह्न, अर्थात् 'ब्लु टिक' देखिन्छ। यो चिह्नले व्यक्ति वा संस्थाको सामाजिक सञ्जाल आधिकारिक रहेको र अकाउन्टमा सार्वजनिक चासो उच्च रहेको बुझिन्छ। यसैलाई भेरिफाइड ब्याज भनेर बुझ्न सकिन्छ।
प्रयोगकर्ताले १० हजार फलोअर्स नपुगेपनि अकाउन्ट भेरिफिकेसन रिक्वेस्ट गरेर भेरिफाइड ब्याज पाउन सक्छन्। यसको लागि अकाउन्ट प्रामाणिक, उल्लेखनीय र सक्रिय हुन भने जरुरी छ।
यसरी गर्नुहोस् अकाउन्ट भेरिफिकेसन रिक्वेस्टः
- सुरूमा इन्स्टाग्राममा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्।
- आफ्नो प्रोफाइल पृष्ठमा जानुहोस्।
- यो पृष्ठको सबैभन्दा माथि दायाँपट्टी तीनवटा धर्को देख्न सक्नुहुन्छ। त्यसलाई थिच्नुहोस्।
- यसपछि पृष्ठमा देखाइने विभिन्न विकल्पमध्ये सुरूमा भएको सेटिङ्स रोज्नुहोस्।
- यहाँ नोटिफिकेसन, प्राइभेसी, सेक्युरिटी, एड्स, अकाउन्टलगायत विकल्प हुन्छ। त्यसमध्ये अकाउन्ट विकल्प चयन गर्नुहोस्।
- यसरी तपाईं अकाउन्ट पृष्ठमा पुग्नुहुन्छ। त्यहाँ देखिने विभिन्न विकल्पमध्ये 'रिक्वेस्ट भेरिफिकेसन' भन्ने विकल्प रोज्नुहोस्।
- अब तपाईंले यो पृष्ठमा फारम भर्नुपर्ने हुन्छ। यसको लागि नाम, आफ्नो पहिचान प्रमाणिकरको लागि कागजात, कुन वर्गबाट अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ त्यसको छनौट लगायत विवरण भर्नुपर्छ।
- सम्पूर्ण विवरण भरिसकेपछि पृष्ठको अन्तिममा देखाइने 'सब्मिट' अर्थात् पेश गर्नुहोस् भन्ने विकल्प थिच्नुहोस्। यसरी तपाईंले आफ्नो अकाउन्ट भेरिफाई गर्न इन्स्टाग्रामलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ।
इन्स्टाग्राम अकाउन्ट भेरिफाई हुनको लागि तपाईंको अकाउन्ट पब्लिक हुन भने आवश्यक छ। साथै, प्रोफाइल फोटो, बायो र कम्तिमा एउटा पोस्ट गरेको हुनुपर्छ। त्यस्तै, इन्स्टाग्रामका अनुसार एक पटक अकाउन्ट भेरिफाई भएपछि उक्त अकाउन्टको नाम परिवर्तन गर्न मिल्दैन।
यो पनिः फेसबुक र ट्वीटरमा निलो चिह्न कसरी पाउने? (भिडिओ)