चैत १८ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले कल सेन्टरको उद्धघाटन गरे।
श्रम मन्त्रालय मातहतका समस्या सुनुवाइ र जानकारी प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको कल सेन्टरमा हिजोआज भ्याइनभ्याइ छ।
२ सिफ्ट गरेर ९ जनाले बिहान ७ देखि बेलुका ९ बजेसम्म गुनासो सुन्ने र समस्या सम्बन्धित निकायसम्म पुर्याउने मन्त्रालयले जनाएको छ। कल सेन्टरले मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण गुनासो सुन्ने तथा सूचना दिने भए पनि वैदेशिक रोजगारीको गुनासो धेरै आउने गरेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
‘दैनिक २ देखि ३ सय जिज्ञासा तथा गुनासो आइरहेको छ। धेरैजसो खाडी मुलुकमा रोजगारीमा गएकाहरूबाट गुनासो आउँछ’ रेग्मीले सेतोपाटीसँग भने ‘आन्तरिक रोजगारी, सीपका कार्यक्रमबारे जानकारी लिनेको संख्या पनि उल्लेख्य छ।’
वैदेशिक रोजगारीमा गएकामध्ये धेरैजसोले भनेको काम नपाएको, बसाइको व्यवस्था नभएको, खानाका व्यवस्था नभएको, थोरै तलब दिएको, म्यानपावरले ठगेकोजस्ता गुनासो टिपाउने गरेको रेग्मीले बताए। ती गुनासामा मन्त्रालयले तुरुन्तै एक्सन लिने गरेको उनको दाबी छ।
कल सेन्टर सञ्चालनमा आएपछि मन्त्रालयलाई सूचना प्रवाह गर्न र सर्वसाधरणलाई सूचना लिन तथा गुनासो टिपाउन सजिलोभएको उनले बताए।
‘अहिले चल्तीका कुनै पनि माध्यमबाट कल सेन्टरसँग जोडिन सकिन्छ र कल सेन्टरले त्यो समस्या तुरुन्तै सम्बन्धित निकाय समक्ष पुर्याउँछ,’ रेग्मीले भने ‘त्यस्तै जानकारी लिन सम्पर्क गर्नु भएका सेवाग्राहीलाई कलसेन्टरका प्रतिनिधीहरुले तुरुन्तै सम्बोधन गर्नुहुन्छ।’
अहिले कल सेन्टरमा १६ घन्टा फोन सम्पर्क गर्न सकिन्छ भने २४ सै घन्टा म्यासेज गर्न सकिन्छ। आवश्यक परे मन्त्रालयले २४ सै घन्टा फोन गर्न मिल्ने व्यवस्था मिलाउने रेग्मीले बताए।
नागरिकले गरेका गुनासा समाधान भए/नभएको मन्त्री, सचिवलगायतलाई प्रत्यक्ष जानकारी दिन एप बनाइने भएको छ। एप बनिसकेपछि प्रत्यक्ष मनिटरिङ गर्न सकिने उनले बताए।
फोन, इमो, भाइबर, फेसबुक, ट्विटर लगायतको माध्यमबाट गुनासो टिपाउन सकिने भए पनि इमो तथा भाइबरबाट धेरै फोन तथा म्यासेज आउने गरेको कल सेन्टर सुपरभाइजर सरिना महर्जनले जानकारी दिइन्।
‘धेरैजसो कतार, मलेसिया, साउदी, दुबईलगायत देशबाट गुनासो आउँछन्’ उनले भनिन् ‘हामीले सल्लाह दिएर हुने भए सल्लाह दिन्छौँ होइन भने समस्या सम्बन्धित निकायसम्म पुर्याउछौं।’
उनका अनुसार जापान कहिले खुल्छ, कुन –कुन देशमा रोजगार खुल्दै छ, श्रम स्वीकृति कसरी लिने, सहुलियत ऋण कसरी लिनेलगायतका प्रश्न आउने गरेको उनले जानकारी दिइन्।
झुठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारका समस्या, स्वास्थ्य समस्याबाट पीडित भई घर फर्किन चाहने, विदेशमा अलपत्र परेका, वैदेशिक रोजगारीमा हुने गरेका ठगी तथा गुनासा, विदेशमा कुनै कारणले मृत्यु भएमा उनीहरुको शव ल्याउन वा सहायताका लागि आउने आग्रहलाई कल सेन्टरले सम्बन्धित निकायमा पुर्याउनुको साथै प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष र मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारबाहीबारे जानकारी पनि दिन्छ।