मोबाइल फोन प्रयोग गर्नेको संख्या बढेसँगै ५ हजार भन्दा कम मूल्यका ‘बारफोन’ बाट १० हजार माथिका सामान्य स्मार्टफोन तथा २० देखि ३५ हजारसम्मको मध्यम रेन्ज देखि ५० हजारमाथिका प्रिमियम स्मार्टफोनमा ‘सिफ्ट’ हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ।
स्मार्टफोनको उपलब्धता यत्तिमै सिमित छैन। बजारमा एक लाखभन्दा बढी मूल्यका फोन पनि छन्। यो मूल्य सेगमेन्टमा ‘सिफ्ट’ हुने प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको व्यापारीहरु बताउँछन्।
ताम्राकार कम्प्लेक्सकी मोबाइल ब्यापारी प्रतिमा संग्रौलाका अनुसार यो मूल्य सेगमेन्टको फोन प्रिमियम तथा ब्राण्ड खोज्ने प्रयोगकर्ताका माझ लोकप्रिय छ।
संग्रौलाले यस मूल्य सेगमेन्टको फोन किन्नेमा मध्यम तथा ठूला व्यापारी, माथिल्लो पदमा रहेर जागिर खाने कर्मचारी तथा तिनका सन्तानले बढी किन्ने बताइन्।
त्यस्तै प्रिमियम फोन मनपराउने विद्यार्थीको पहिलो प्राथमिकतामा यस मूल्य सेगमेन्टको फोन पर्ने गरेको संग्रौलाले सुनाइन्।
यी फोनमा उच्चतम विशेषता प्रयोग गरिएका हुन्छन्। हाल बजारमा एक लाख भन्दा बढी मूल्यमा एप्पल, सामसङ र हुवावे ब्राण्डका ६ विभिन्न मोडलहरु उपलब्ध छन्।
आइफोन टेन
एप्पलको आइफोन टेन नेपाली बजारमा पाइने सबैभन्दा महँगो फोन हो।
यस फोनको २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १ लाख ५९ हजार रुपैयाँ रहेकोे छ। त्यस्तै ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको फोनको मूल्य १ लाख ३८ हजार रुपैयाँ कायम छ। आइफोन टेन सिल्भर र ग्रे गरी दुई रंगमा उपलब्ध छ।
फोनमा ५.८ इन्चको सुपर ओलेड मल्टि टच डिस्प्ले दिइएको छ। यसको फोन स्क्रयाच, पानी र धुलो प्रतिरोधक छ। यसमा ए११ बायोनिक चिप प्रयोग गरिएको छ।
फोनमा फेस आइडी, बेरोमिटर, प्रोक्जिमिटी लगायतका सेन्सरहरु दिइएको छ।
यस फोनको पछाडितर्फ एफ/१.८ र एफ/२.४ अपेचर लेन्ससहितको १२ मेगापिक्सेलका दुईवटा क्यामरा छन्। सेल्फीका लागि एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको क्यामरा छ।
फोनमा ३ जीबी र्याम क्षमता छ। आइओएस ११.१ को अपरेटिङ सिस्टम भउको यस फोनलाई ११.२ मा अपग्रेड गर्न मिल्छ।
आइफोन एट र एट प्लस
आइफोनको यी दुई मोडल गत सेप्टेम्बरमा टेनसँगै बजारमा आएका हुन्। दुवै फोन ६४ र २५६ जीबी गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छन्।
आइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यस्तो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दाबी गरेको छ।
आइफोन ८ मा ४.७ इन्च र ८ प्लसमा ५.५ इन्चको रेटिना एचडी डिस्प्ले प्रयोग भएको छ।
दुवै फोनमा पछाडी १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसको क्यामेरामा भने दुई वटा लेन्स प्रयोग भएका छन्। त्यस्तै सेल्फीका लागी दुबै सेटमा ७ मेगापिक्सेलका क्यामेरा राखिएको छ। यी दुबै फोनले फोरके भिडियो खिच्न सक्ने क्षमता राख्छन्।
यी फोनको होम बटममा फिंगरप्रिन्ट सेन्सर राखिएको छ। धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिपको प्रयोग गरीएको कम्पनीको दाबी छ। यसमा भएको ‘ए११ वायोनिक’ चिपले फोनलाई तीव्र बनाएको छ।
ताररहित चार्जिङ सुविधा रहेको यस फोनलाई आइओएस ११.२ अपरेटिङ सिस्टम अपग्रेड गर्न मिल्छ।
एस एटको २५६ जीबी भेरियन्टको मूल्य १ लाख १९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै एस एट प्लसको २५६ जीबी भेरियन्टको मूल्य १ लाख ३३ हजार तथा ६४ जीबी भेरियन्टको १ लाख १२ हजार ५ सय रुपैयाँ राखिएको छ।
आइफोन सेभेन प्लस
आइफोन सेभेन प्लसको ११२ र २२८ जीबी भेरियन्टको मूल्य एक लाख भन्दा माथि रहेको छ।
सेभेन प्लसको ११२ जीबी इन्टरनल स्टोरेज भेरियन्टको बजार मूल्य १ लाख १९ हजार तथा २५६ जीबीको १ लाख ३२ हजार निर्धारण गरिएको छ।
सेभेन प्लसमा ३ जीबी र्याम र ५.५ इन्चको स्क्रिन प्रयोग गरिएको छ। आइओएस १० को अपरेटिङ सिस्टम रहेको फोनमा ११.२ मा अपग्रेड गर्न सकिन्छ।
फोनमा एफ/१.८ र एफ/२.८ अपेचर लेन्ससहितको १२ मेगपिक्सेलका दुई वटा क्यामरा पछाडी छन्। यसका साथै सेल्फीका लागि एफ/२.२ अपेचरसहितको ७ मेगापिक्सेल क्यामरा प्रयोग भएको छ।
यस फोनमा समेत पानी र धुलो प्रतिरोधात्मक क्षमता रहेको कम्पनीले जनाएको छ।
नोट एट
सामसङको नोट एट कम्पनीको सबैभन्दा महँगो फोन हो। यसकोे मूल्य १ लाख २ हजार २९० रुपैयाँ रहेको छ।
यसैवर्ष सार्वजनिक गरिएको यस फोनमा तीन वटा क्यामरा छन्। यसमा १२ मेगापिक्सेलका दुई वटा रियर (पछाडि) क्यामराको साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा अटाएका छन्। त्यस्तै फोनलाई ‘एस पेन’ ले नयाँपन दिएको छ।
इन्फिनिटी डिस्प्ले फोनमा ६.३ इन्चको क्युएचडी सुपर एमोलेड इन्फिनिटी डिस्प्ले, ६ जीबी र्यामका साथमा ६४ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।
एन्ड्रोइड नोगट ७.१.१ भर्सनमा उपलब्ध यस फोनमा सामसङ एक्जिनस अक्टाकोर एसओसी प्रोसेसर समावेश छ।
पानी तथा धुलो नपस्ने भनिएको यस फोनमा ३ हजार ३ सय एमएएचको ब्याट्री क्षमता रहेको छ। यसमा वायरलेस चार्जिङको सुविधा समेत दिइएको छ।
हुवावे मेट टेन प्रो
हुवावेको मेट टेन प्रो कम्पनीकोे सबैभन्दा महँगो फोन हो। यसको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ रहेको छ।
फोनमा ६.० इन्चको फुल एचडी एमोलेड डिस्प्ले प्रयोग भएको छ। यसका साथै फोनमा ६ जीबीको र्याम तथा १२८ जीबी इन्टरनल स्टोरज रहेको छ।
मेट टेन प्रो मा एफ/१.६ अपेचर क्षमताको १२ मेगापिक्सेल तथा एफ/१.६ अपेचर लेन्स सहितको २० मेगापिक्सेल गरी पछाडितर्फ दुई वटा क्यामरा छन्।
सेल्फीका लागि यस फोनमा एफ/२.० अपेचर लेन्ससहितको ८ मेगापिक्सेलको क्यामरा प्रयोग भएको छ।
एन्ड्रोईड ८.० ओरियो अपरेटिङ सिस्टम भएको यस फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री प्रयोग भएको छ।
सुनौलो रंगमा उपलब्ध यस फोनमा पानी तथा धुलो प्रतिरोधात्मक क्षमता रहेको कम्पनीको दाबी छ।