सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू हुने बताएका छन्।
गत साउन १ गते देखिनै लागू गर्ने भनिए पनि तयारी नपुगेको भन्दै त्यतिबेला रोकिएको थियो। क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सवैसँग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाए। यो नीति लागू भएपछि विदेशी च्यानल विज्ञापनरहित हेर्न पाइनेछ।
नेपाल विज्ञापन संघको १८ औँ वार्षिक साधारण सभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले विज्ञापन व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने तयारीमा सरकार रहेको उल्लेख गरे।
नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले अहिले ६ अर्बको विज्ञापन व्यवसाय रहेको तथ्य प्रस्तुत गरे क्लिन फिड लागू भए यो दोव्वरले बढ्ने उनले बताए। क्लिन फिड लागू गरी विज्ञापन व्यवसायलाई उद्योगको रुपमा लैजानुपर्नेमा उनले जोड दिए।
विज्ञापन संघका संस्थापक अध्यक्ष वंशिधर पौडेलले राष्ट्रिय विज्ञापन नीति तयार भएपनि अहिलेसम्म लागू नहुनु दुःखद भएको टिप्पणी गरे।
सिएनआईका अध्यक्ष हरिभक्त शर्माले श्रृजनात्मक क्षेत्र विज्ञापन एजेन्सी भएकाले यसको विकास र विस्तारमा सधै हातेमालो गर्न तयार रहेको बताए।
रिजालको नेतृत्वमा नयाँ कार्य समितिआनको नयाँ अध्यक्षमा की एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्व सम्मत रुपमा चयन भएका छन्। केही दिन अघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि सर्व सम्मत चयन भएका हुन्। उनको कार्यकाल ३ वर्षको हुनेछ।