सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोसल कमर्श प्लेटफर्म सगुनको वहुप्रतिक्षित मोवाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको एप्स वलिउडकी नायिका श्रद्धा कपुरले शुभारम्भ गरिन।
नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित द ललित होटलमा भएको कार्यक्रममा कपुरले एन्ड्रोइड एप्सको शुभारम्भ गर्दा हलमा रहेका दर्शकले उत्साहका साथ भव्य स्वागत गरेका थिए।
शुभारम्भ लगत्तै श्रद्धाले हरेक व्यक्तिको दैनिकीलाई व्यवस्थित गर्न सगुनको एप्स काम लाग्ने बताइन्।
उद्घाटनका क्रममा सगुनका संस्थापक गोविन्द गिरीसँग संवादको शैलीमा प्रस्तुत भएकी श्रद्धाले यस्तो उपयोगी एप्स बनाउने सोच कसरी आयो भनेर प्रश्न गरेकी थिइन्।
जवाफमा गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर योग तथा ध्यानमा रहँदा नयाँ प्लेटफर्मको सोच आएको बताए।
श्रद्धाले आफूले सगुनको राम्रा राम्रा फिचरहरुलाई दैनिक प्रयोग गर्ने बताइन। उनले आफूले सगुनको एप्स डाउनलोड गरेको र अरुलाई पनि उपयोग गर्न आग्रह गरिन्।
सगुनका संस्थापक गोविन्द गिरीले यो एप्स मात्र नभइ सामाजिक अभियान भएको बताए। ‘यो अभियानले सामाजिक सञ्चालमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्दत गर्छ’ गिरीले भने।
उनले दक्षिण एशिया ऋृषिमुनीहरुको तपोभुमि, ज्ञानभुमि र कर्मभुमि भएको उल्लेख गर्दै प्रविधिको क्षेत्रमा पनि अब यस क्षेत्रले पूनर्जागरण शुरु गर्नुपर्ने बताए। ‘सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पूनर्जागरण गर्दै वाँकी विश्वलाई योगदान दिने हो’ गिरीले भने।
अब सगुन एउटा नेपालीले शुरु गरेको सामाजिक सञ्जालको दायरामा मात्र सिमित नभई अमेरिका, भारत र नेपाललाई जोड्ने सेतु हुने उनले बताए।
सगुनका सहसंस्थापक स्वाती दयालले दक्षिण एशियालाई समृदीको यात्रामा लैजान पनि सूचना प्रविधी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने भन्दै सगुन यसका लागि प्रयास गरिरहेको उल्लेख गरिन्।