एनसेलको डाटा सेवाबाट हुने आम्दानी प्रतिमहिना १ अर्बको हाराहारीमा पुगेको छ।
नयाँ डाटा प्याक तथा विभिन्न अफरहरुका कारण शुल्क घटे पनि माग बढ्दा आम्दानीमा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ।
एनसेलका अनुसार ग्राहकहरुले गर्ने डाटा खपत गत वर्षभन्दा झण्डै दुई गुणाले बढेको छ। प्रमुख लगानीकर्ता आजियाटाले सार्वजनिक गरको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार सो अवधिसम्म एनसेलले कुल १४ अर्ब ५७ करोड आम्दानी गरेको छ। यसमा इन्टरनेट आयको २० प्रतिशत योगदान देखिन्छ।
कुल आयमा २० प्रतिशतका हिसाबले एनसेलले तेस्रो त्रैमासिकमा मात्र इन्टरनेट सेवाबाट २.९१ अर्ब आम्दानी गरेको छ। जसलाई मासिक रुपमा हिसाव गर्दा झण्डै १ अर्ब देखिन्छ।
एनसेलको प्रति महिना प्रति ग्राहक डाटा खपत ३६१ एमबि पुगेको छ। जुन गत वर्षभन्दा ८७ प्रतिशत बढी रहेको कम्पनीले जनााएको छ। गतवर्ष सोही अवधिमा डाटा खपत प्रति महिना प्रति ग्राहक १९३ एमबि थियो।
शुल्कमा गिरावट, मागमा वृद्घि, स्मार्टफोन प्रयोगकर्ता र ग्राहक संख्यामा वृद्घि लगायतका कारणले गर्दा एनसेल नेटवर्कबाट भएको कुल डाटा खपत बढेको कम्पनीले जनाएको छ।
एनसेलको कुल डाटा खपत यो वर्षको तेस्रो त्रैमासिकमा ७७ लाख जिबी पुगेको प्रतिवेदनमा उल्लेख छ, जुन गतवर्ष सोही अबधिको भन्दा दोब्बर बढी हो। गत वर्षको तेस्रो त्रैमासिकको कुल आयमा डाटाबाट भएको आम्दानीको योगदान १७ प्रतिशत थियो।
कम्पनीले आफ्नो फोरजी सेवा विस्तारसँगै डाटाको शुल्क थप घटाउँदै प्याक अन्तर्गत २ पैसा प्रति एमबि सम्ममा इन्टरनेट सेवा दिँदै आएको छ। कुल ग्राहक संख्यामा डाटा प्रयोगकर्ताको संख्या झण्डै ४२ प्रतिशत थियो। अहिले यो संख्या ४६ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ।
एनसेलले जुन १ बाट थालेको फोरजी सेवा अहिले सम्ममा १९ शहरहरुमा पुगिसकेको छ। ग्राहक संख्या १ करोड ५९ लाख पुगेको कम्पनीको दावी छ।