एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँसुकैबाट प्रिपेड मोवाइलमा रिचार्ज तथा पोस्टपेडको बिल भुक्तानी गर्न सक्ने छन्।
एनसेलका अनुसार डिजिटल सेवा मार्फत ग्राहक सेवालाई थप अभिवृद्घि गर्ने उद्देश्य स्वरुप अनलाइन रिचार्जको सुरुआत गरिएको हो। वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज गर्न पनि सक्नेछन्। कम्पनीका अनुसार एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सकिनेछ।
ग्राहक अनुभवलाई अभिवृद्घि गर्ने उद्देश्य अनुरुप उसले अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ। यसका साथसाथै फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत पनि कम्पनीले ग्राहकका गुनासा तथा जिज्ञासाहरु तदारुकताका साथ समाधान गर्दै आइरहेको छ।