नेपाल टेलिकमले विकट मुस्ताङको स्याङबोचे र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ।
स्याङबोचे भ्यु प्वाइन्टमा ४ दिनदेखि र डाँडाखर्कमा एक हप्तादेखि सेवा नियमित भएको कम्पनीले स्पष्ट पारेको छ।
टेलिकमका अनुसार जोमसोमदेखि करिब ४० किलोमिटर टाढा दालोमे गाउँपालिकाको स्याङबोचेमा भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ।
सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउँछ। यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन्।
त्यसैगरी डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन्। दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु, रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन्।
अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ।