एनालग प्रविधिमा प्रशारण भइरहेका टिभीमा अब च्यानलको संख्या क्रमिक रुपमा घट्दै जाने भएको छ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले उपत्यकाका सम्पूर्ण टेलिभिजनलाई डिजिटलमा लैजानका लागि प्रशारित च्यानलको संख्या घटाउँदै लैजाने भएको हो।
महासंघले एक सूचना जारी गर्दै हाल ३५ च्यानल प्रशारण भइरहेकोमा मंसिर १५ देखि ३० मा झार्ने जनाएको छ। पुस १ देखि २५, पुस १५ देखि २०, माघ १ देखि १५, माघ १५ देखि १० वटा च्यानलको मात्रै प्रशारण हुने तथा फागुनदेखि पूर्ण रुपमा बन्द हुने महासंघले जनाएको छ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष सुधिर पराजुलीले ठूलो परिमाणमा सेट टप बक्स आवश्यक परेकाले क्रमिक रुपमा च्यानलको संख्या घटाउँदै डिजिटलमा प्रोत्साहन गर्न लागिएको बताए। त्यस्तै त्यस्ता बक्सको भन्सारमा छुट दिई १ प्रतिशतमा झार्न सरकारसँग आग्रह गरिएको समेत उनले जानकारी दिए।
उपत्यकाबाहिर भने असार मसान्तदेखि पूर्ण रुपमा च्यानल बन्द गर्नेगरी वैशाख १ गतेदेखि १५–१५ दिनको अन्तरमा च्यानलको संख्या घटाइँदै लगिने भएको छ। महासंघका अनुसार वैशाख १ देखि ४५ च्यानल मात्रै प्रशारण हुनेछ।
एनालग प्रविधिलाई डिजिटलमा लैजान उपभोक्ताले सेट टप बक्स जडान गर्नुपर्दछ। काठमाडौं उपत्यकामा मात्रै टेलिभिजनको संख्याअनुसार अब २० लाख बक्सको माग रहेको महासंघले जनाएको छ। यी बक्स चीनबाट आयात हुन्छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)ले यसै अंग्रेजी वर्षको डिसेम्बरसम्ममा एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएको थियो। सोअनुसार नेपाल सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गराउनै पर्ने बाध्यता छ।