नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट प्रविधिमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ।
आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएपछि सेवा संचालनमा आएको हो।
हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गतेदेखि सेवा सञ्चालनमा ल्याएपश्चात दशवटै स्थानमा सेवा उपलब्ध भएको छ। यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन्।
उल्लेखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ। ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो।
नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ। अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउने छन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने कम्पनीको दावी छ।