भाइटीकामा दाजुभाइलाई पुज्नुअघि बिमिरो पनि पूजा गरिन्छ। त्यसैगरी नेवार समुदायले मनाउने म्हः पूजामा बिमिरो अनिवार्य छ।
बिमिरोबिना यी दुवै पूजाले पूर्णता पाउँदैन।
मुख्य पर्वमा यसरी स्थान पाएको बिमिरोलाई अघिपछिका दिनमा त्यति वास्ता गरिँदैन। यतिबेला भने बिमिरोको बजार समेत राम्रो हुन्छ।
भाइटीका र म्हः पूजामा नभई नहुने यो फलको बारेमा कमैलाई मात्रै जानकारी होला। हामीले यहाँ बिमिरोको वैज्ञानिक पक्ष र स्वास्थ्यमा फाइदाका बारेमा चर्चा गरेका छौं।
बिमिरो २३ सय वर्षअघि नै मानव सभ्यातासँग जोडिएको फल भएको वनस्पतिविद् तिर्थबहादुर श्रेष्ठ बताउँछन्। उनका अनुसार सभ्यताको सुरूआतमा मान्छेले फलाएको फल आजसम्म पनि रहँदै आएकाले यसलाई दीर्घ आयुसँग जोडिन्छ।
'भाइटीका र म्हः पूजा दुवै प्रकृति पूजा र दीर्घायुसँग जोडिएका पर्व हुन्,' श्रेष्ठ यसको धार्मिक पक्ष अनुमान गर्छन्, 'लामो समयदेखि बिमिरो हामीसँगै रहेकाले यो जस्तै वर्षौं बाँचिरहनु, आफ्नो अस्तित्व कायम राख्नु भन्न खोजिएको होला।'
बिमिरो बोटबाट आफैं झर्ने फल होइन। औजार प्रयोग गरी काट्नु वा लाछ्नु पर्ने फल हो। बिमिरो हत्तपत्त नकुहिने, नगल्ने वा कीराले नखाने फल भएको श्रेष्ठ बताउँछन्। दीर्घायू कामनाका रूपमा यो फल उपयुक्त र पुजनीय मान्छन् उनी।
'संसारमा इसापूर्व ३ सय वर्ष अघिदेखि बिमिरो खेती सुरू भएको हो। हत्तपत्त नसड्ने र नगल्ने बिमिरो २३ सय वर्षअघिदेखि मानव सभ्यातासँग जोडिएको छ,' बिमिरोको इतिहासबारे श्रेष्ठ भन्छन्, 'इटालीको रोम राज्यमा सन् ३०१ ताका बिमिरो खाने फलका रूपमा प्रयोग गरिएको थियो।'
भूमध्यसागरीय देशहरूमा बिमिरो लोकप्रियताले हजारौं वर्षको इतिहास बोकेको श्रेष्ठ बताउँछन्। यहुदीहरूका धार्मिक पर्वमा पनि बिमिरोका परिकार अनिवार्य भएको देखिन्छ। यस अर्थमा यो जेठो फल सावित भएको श्रेष्ठको भनाइ छ।
सानो–ठूलो, काँचो–पाकेको सबैखाले बिमिरो पूजनीय हुन्छ। तर भेट्नो नभएको बिमिरो पूजा गर्न नमिल्ने श्रेष्ठ बताउँछन्। म्हः पूजाको दिन घरका सबै सदस्यले एक–एक टुक्रा बिमिरो खानु अनिवार्य छ। भाइटीकामा भने यसलाई विषेश रूपमा पूजा गरिने तर नखाइने श्रेष्ठ बताउँछन्।
'हामीले बिमिरो फलका रूपमा खान जानेका छैनौं। युरोप र अमेरिकातिर भने यो फल स्वादिष्ट फलका रूपमा परिचित छ,' उनी भन्छन्, 'म्हः पूजामा प्रसादका रुपमा खाइन्छ। अब फलका रूपमा खान ढिला गर्नु हुँदैन।'
अहिले आएर बिमिरोको महत्व अर्को पक्षबाट पनि बढेको पोषणविद् डाक्टर अरुणा उप्रेती बताउँछिन्। कोरोना महामारी बेला प्रतिरोधी क्षमता बढाउन भनेर भिटामिन–सी क्याप्सुल बिक्री धेरै भइरहेको छ। यसरी औषधि लिनुको सट्टा बिमिरोको रस र बोक्रा खान सकिने उनको भनाइ छ।
'बिमिरोमा भिटामिन–सी पर्याप्त हुन्छ। मैले त रोपेकै छु। चियामा हालेर खान्छु पनि,' उप्रेती भन्छिन्, 'कोरोनाको समयमा प्रतिरोधी क्षमता बढाउन भिटामिन–सी आवश्यक छ। यसका लागि बिमिरो खाए हुन्छ। क्याप्सुल लिनै पर्दैन।'
बिमिरोको बोक्रामा रेसादार पदार्थ हुन्छ। यो रेसा पाचन प्रक्रियाका लागि पनि सहयोगी मानिन्छ। उप्रेतीका अनुसार चियामा रस राखेर, साँधेर, बोक्रालाई अचारका रुपमा जसरी पनि बिमिरो खान सकिनेछ।
गुणकारी बिमिरोका सबैभाग खान योग्य भएको उप्रेती बताउँछिन्। साथै हात–गोडा फुटेका बेलामा यसको रस लगाउनाले निको हुने उनको भनाइ छ।
'बिमिरोको बाहिरी बोक्रा, भित्री सेतो भाग र रस सबैले स्वास्थ्यलाई फाइदा पुग्छ। यसको बोक्रा अचारका रुपमा साथै नुनसँग खान पनि सकिन्छ। तातोपानीसँग खाँदा घाँटीसम्बन्धी समस्या कम हुन्छ,' बिमिरोको गुणबारे बताउँदै उनी भन्छिन्, 'यस्तै गुणकारी भएकाले भाइटीका र म्हः पूजामा यसले विषेश महत्व पाएको हुन सक्छ।'
बिमिरोमा भरपुर भिटामिन-सीका साथै एन्टिअक्सिडेन्ट, क्याल्सियम, आइरन, जिंक, पोटासियम लगायत अन्य थुप्रै तत्व पाइन्छन्।