चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ५४ अर्ब रुपैयाँ बराबरको घरायसी वस्तु आयात भएको छ।
भन्सार विभागका अनुसार गत साउनदेखि पुससम्ममा ५४ अर्ब ३० करोड ८१ लाख ८५ हजार रुपैयाँको घरायसी वस्तु आयात भएको हो।
यस अवधिमा ५ खर्ब ३४ अर्बको वस्तु भित्रँदा त्यसको १०.१४ प्रतिशत रकम घरायसी वस्तु आयातमै खर्च भएको हो।
गत वर्षको यसै अवधिमा भने ३८ अर्ब १५ करोड ३७ लाख रुपैयाँको घरायसी सामाग्री आयात भएको थियो जुन यसवर्षको भन्दा ४२ प्रतिशतले कम हो।
सोही अवधिको तुलनामा वस्तुको आयात बढेकाले त्यसबापतको राजस्वमा समेत वृद्धि भएको छ। यी सामाग्री आयात हुँदा ४ अर्ब ९१ करोड राजस्व रकम सरकारको खातामा जम्मा भएको छ। अघिल्लो वर्ष ३ अर्ब ८० करोड राजस्व संकलन भएको थियो।
गत आर्थिक वर्षको पुरा अवधिमा घरायसी सामाग्री आयातमा करिब ८२ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बाहिरिएको थियो भने त्यसबापत ८ अर्ब ७९ करोड राजस्व संकलन भएको थियो।
यी सामाग्री सबैभन्दा बढी भारत र चीनबाट आयात भएका छन् भने ती बाहेक थाइल्याण्ड, अमेरिका तथा अन्य युरोपेली मुलुकबाट भित्रने गरेको छ।
नेपालले किनेको बस्तुको सूचिमा पहिलो नम्बरमा इन्धन छ। यस अवधिमा ७८ अर्ब ७९ करोड रुपैयाँको इन्धन किन्नमा रकम खर्च भएको छ।
त्यस्तै इन्धन र घरायसी सामाग्री पश्चात भने फलाम तथा स्टिल सबै भन्दा बढी आयात गरिएको छ। यो अवधिमा ५१ अर्बको फलाम तथा स्टील आयातमा खर्च भएको छ।
यसबाहेक यातायातका साधन र तिनका पाटपुर्जामा ४१ र मोबाइल तथा अन्य इलोक्ट्रोनिक्स सामग्रीमा ३५ अर्ब रुपैयाँ विदेसिएको छ।