वैदेशिक रोजगार व्यवसायीहरुले प्रक्रिया तथा आवश्यक कागजात नपुर्याई नयाँ कम्पनीहरुलाई इजाजत पत्र नदिन माग गरेका छन्।
प्रक्रिया नपुर्याई नयाँ म्यानपावर कम्पनी खोल्नका लागि धमाधम इजाजत दिन थालिएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले प्रक्रिया नपुर्याई कुनै पनि हालतमा इजाजत नदिन माग गरेका हुन्। हाल भएका कम्पनीहरुको संख्या नै अत्याधिक भएको जनाउँदै उनीहरुले जथाभावी रुपमा इजाजत दिने काम भएमा त्यसको विरोध गर्ने चेतावनी दिएका छन्।
नयाँ म्यानपावर कम्पनीका लागि २०६८ सालदेखि इजाजत दिने कार्य रोकिएकोमा पछि सर्वोच्चमा सो रोकावटको बिरुद्धमा उजुरी परेको थियो। सर्वोच्चले ऐन तथा नियमावलीको प्रक्रिया पुरा गरी इजाजत दिन आदेश दिएको थियो।
सर्वोच्चले प्रक्रिया र कागजात पुर्याएर मात्रै इजाजत दिन दिएको आदेशलाई कतिपयले गलत रुपमा व्याख्या गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। संघका अध्यक्ष रोहन गुरुङले ऐन तथा निर्देशिकालाई लत्याउँदै इजाजत दिन लागिएकोमा विरोध जनाए। ‘सर्वोच्चको इजाजत दिनु भन्ने आदेशले प्रक्रिया पुर्याउनुपर्ने भन्ने कुरा पनि स्पष्ट रुपमा भनेकाले हामीले विभागलाई ध्यानाकर्षण मात्रै गराएका हौँ’ उनले भने ‘निर्देशिकामा भएका प्रक्रियाहरु नपुर्याई जथाभावी रुपमा इजाजत दिने काम नहोस्।’
विभागका उच्च अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेर नयाँले प्रक्रिया मिचेरै इजाजत लिन सक्ने व्यवसायीको आशंका छ।