ब्रुनाइ र बहराइनले नेपालबाट त्यहाँका राजपरिवार र राजपरिवारका सदस्यको सुरक्षाका लागि 'रोयल गार्ड' लैजान प्रस्ताव गरेका छन्।
यी मुलुकले सरकारी संयन्त्र जिटुजीमार्फत रोयल गार्ड लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग प्रस्ताव गरेका हुन्।
ब्रुनाइका प्रतिनिधिहरूले केही समयअघि श्रम मन्त्रालयका प्रतिनिधिहरूसँग यस विषयमा वार्ता गरेका थिए। ब्रुनाइका अधिकारीहरूले रोयल गार्ड लैजान आवश्यक प्रोटोकल बनाएर अघि बढ्ने धारणा अघि सारेका थिए। नेपाली लैजाने सम्झौता तत्काल गर्न समेत प्रस्ताव गरेका थिए।
गार्ड छनोटको काम ब्रुनाइकै गोरखा रिजर्भ युनिट नामक संस्थाले गर्ने प्रस्तावमा भनिएको छ। उक्त संस्थाले रोयल गार्डमा जाने व्यक्ति योग्य हो वा होइन भनेर शारीरिक लगायत अवस्था जाँच गर्ने र योग्य छनोट गरेर लैजाने प्रस्ताव गरेको हो। यसरी श्रमिक लैजाँदा लाग्ने सबै शुल्क ब्रुनाइले नै बेहोर्ने भनिएको छ।
ब्रुनाइले रोयल गार्ड लैजान मन्त्रालयलाई तत्कालै प्रोटोकल बनाएर सम्झौता गरिहालौं भन्ने प्रस्ताव राखेको थियो। मन्त्रालयका उपसचिव डम्बर सुनुवारले तत्कालीन मन्त्री शरतसिंह भण्डारीकै पालामा ब्रुनाइले रोयल गार्ड लैजान प्रस्ताव गरेको बताए।
'हामी यति नै संख्यामा लैजान्छौं भनेर खुलाएको थिएन। पहिले प्रोटोकल बनाउने कुरा थियो। हामीले उनीहरूलाई सकारात्मक प्रतिक्रिया दिएका थियौं। अहिले म अर्कै महाशाखामा छु। प्रक्रिया कहाँ पुग्यो मलाई पछिल्लो जानकारी चाहिँ छैन,' उनले भने।
सम्झौताका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ। अनि मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्ने हुँदा केही समय लाग्ने प्रतिक्रिया मन्त्रालयका अधिकारीहरूले दिएर पठाएका थिए। यति बेला श्रममन्त्री डोलप्रसाद डिपी अर्यालले यो प्रस्ताव अघि बढाएका छैनन्। मन्त्री अर्याल अरू काममै व्यस्त रहेका कारण यो काम अघि बढिनसकेको अधिकारीहरू बताउँछन्।
बहराइनले पनि शून्य लागतमै रोयल गार्ड लैजान इच्छा देखाएको छ। तत्कालीन मन्त्री शरतसिंह भण्डारीसँग बहराइनका अधिकारीहरूले औपचारिक प्रस्ताव गरेका थिए। गत भदौ १२ गते तत्कालीनमन्त्री भण्डारीसँग भेटघाट गर्दै बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार एंव रोयल गार्ड कमान्डर शेख नासेर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बरोज र मोहम्मद जुमाले प्रस्ताव गरेका थिए। उनीहरूले रोयल गार्डका लागि छुट्टै प्रोटोकल बनाउन प्रस्ताव गरेका थिए।
अहिले पनि नेपालबाट बहराइन रोयल गार्डमा ब्रिटिस सेना, नेपाली सेना लगायत सुरक्षा सेवाबाट अवकाशप्राप्त नेपाली प्रहरी तथा सेनाहरू गइरहेका छन्। बहराइनले नयाँ युवारूलाई तालिम दिएर रोयल गार्ड लैजान खोजेको हो।
त्यसमाथि अहिले गइरहेकाहरूसँग म्यानपावर कम्पनी तथा बिचौलियाहरूले मोटो रकम असुलिरहेको पाइएको छ। नेपालीले लाखौं खर्च गर्नुपर्ने अवस्थाबारे बहराइनी अधिकारीहरूले पनि गम्भीर चासो लिएर सरकारी संयन्त्रमार्फत निशुल्क लैजाने प्रस्ताव गरेका हुन्।
'राम्रो कमाइ र सेवासुविधाको प्रलोभनमा उनीहरूले ठूलो धनराशी खर्च गर्नु परिरहेको छ। सम्झौता गरेर जाँदा कुनै पनि शुल्क तिर्नु नपर्ने प्रस्ताव बहराइनको छ। यो नेपालीहरूका लागि निकै राम्रो अवसर हुन सक्छ,' मन्त्रालयका एक अधिकारीले भने।
ब्रुनाइ र बहराइनले लगेका रोयल गार्डको सेवासुविधा र पारिश्रमिक के कति हुन्छ भन्ने खुलाइएको छैन। उनीहरूले कति संख्यामा नेपाली लैजाने भन्नेबारे पनि खुलाएका छैनन्। तर नेपालीलाई विश्वास गरेर संवेदनशील क्षेत्रमा अवसर दिने प्रस्ताव आउनु निकै सकारात्मक भएको अधिकारीहरू बताउँछन्।
बहराइन र नेपालबीच यसअघि नै अन्य विभिन्न क्षेत्रमा श्रमिक लैजाने गरी सम्झौता भएको छ। सन् २००८ मा त्यहाँका विभिन्न क्षेत्रमा श्रमिक लैजाने गरी सम्झौता भएको थियो। अहिले नेपालीहरू बहराइनका विभिन्न क्षेत्रमा गइरहेका छन्। राजदरबारका बगैंचामा माली, चालक, सुरक्षा गार्ड लगायतमा पनि काम गरिरहेका छन्।
ब्रुनाइसँग यसअघि कुनै किसिमको श्रम सम्झौता गरिएको नभए पनि यो मुलुकमा सिंगापुर, हङकङ लगायत मुलुकमा सुरक्षा सेवामा खटेर अवकाश प्राप्त प्रहरी तथा सेनाहरू राेयल गार्डमा गइरहेका छन्। त्यस्तै त्यहाँका अन्य विभिन्न क्षेत्रमा पनि अवसरकाे खाेजीमा नेपाली युवाहरू पुगिरहेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा एक हजार ३५५ जना श्रमिक श्रम स्वीकृति लिएर ब्रुनाइ गएका छन्।
उक्त वर्ष बहराइनका लागि सात हजार ६९० जनाले श्रम स्वीकृति लिएका थिए।