श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने गरी सफ्टवेयरको सिस्टम सुधार गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयमा प्राविधिक, विज्ञलगायत सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सुधार गर्न निर्देशन दिएका हुन्।
उनले यो हप्ताको शुक्रबारसम्म श्रम स्वीकृति कम्तीमा एक घण्टामा दिनसक्ने व्यवस्था गर्न आग्रह गरे।
'हामी डिजिटलाइजेसनको कुरा गर्दैछौं। फेरि केही हुँदैछ जस्तो कुरा पनि गर्दैछौं। यो सफ्वेयरको समस्या समाधानको विषय मन्त्रालयबाट भएन भने मन्त्रिपरिषद, मन्त्रिपरिषदबाट पनि भएन भने सदन लगेर पास गर्नुपर्ने भयो भने पनि म तयार छु। मलाई एक घण्टामा श्रम स्वीकृति चाहियो,' उनले भने।
समस्या के हो स्पष्ट रूपमा उपलब्ध गराउन समेत उनले आग्रह गरे। समस्या ल्याउन र सुधार गर्न नसक्ने भए सकिँदैन भनेर प्रमाणित गरेर लिखित रूपमा दिन समेत उनले आग्रह गरे।
'तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु। यो मेरो तपाइँहरूसँग च्यालेन्ज भयो,' उनले भने।
सफ्वेयरमा देखिएको समस्या समाधानका लागि आफूले कुनै नयाँ समूहसँग डिल र बार्गेनिङ नगर्ने पनि उनले बताए।
'कुनै नयाँ पाटीसँग डिल गर्ने, नयाँ टेण्डर खोल्ने अनि पैसा बार्गेनिङ गर्ने मेरो नसामा छैन। त्यसकारण तपाइँहरूले नै सहयोग गरिदिनुपर्छ,' उनले भने।
पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ। सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताएका छन्। जसकारण श्रमिकहरूले हैरानी खेप्नुपरेको छ। समयमा श्रम स्वीकृति नहुँदा कतिपयको फ्लाइट समेत छुट्ने गरेको गुनासो छ।
यसअघि तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।