सरोकारवालाहरूले घरेलु श्रमिकहरूको हक र मर्यादा कायम राख्न नेपालले आइएलओ महासन्धि १८९ अनुमोदन गर्नुपर्ने आवश्कता औंल्याएका छन्।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै घरेलु श्रमिकको हकअधिकारका विषयमा आवाज उठाउँदै आएको आम्कास नेपालले सरकारले घरेलु श्रमिकको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने औंल्याएको हो।
आम्कासकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले महासन्धि १८९ अनुमोदन भयो भने घरेलु श्रमिकका सबै किसिमका हकअधिकार सुनिश्चित हुने बताइन्।
'यो महासन्धिले घरेलु श्रमिकलाई हिँडडुलको स्वतन्त्रता हुनुपर्छ भन्ने सुनिश्चितता गरेको छ। संगठित हुन पाउने अधिकार ग्यारेन्टी हुनुपर्छ भनिएको छ। दुर्व्यवहार, दुरूत्साहन, हिंसा जस्ता कुराबाट सुरक्षा लगायत सबै किसिमका सेवासुविधाको ग्यारेन्टी गरेको छ,' उनले भनिन्।
आइएलओको एक अध्ययनले घरेलु काममा विश्वभर ८० प्रतिशत महिला रहेको देखाएको छ।
घरेलु श्रमिकमा नेपालले लगाउँदै आएको प्रतिबन्धले लैंगिक भेदभाव समेत बढाएको उनले बताइन्।
सरकारले प्रतिबन्ध लगाउँदा पनि घरेलु काममा अवैधबाटो हुँदै जाने क्रम रोकिएको छैन। यसले अवैध प्रक्रिया र बाटो भएर श्रमिकहरू गइरहेका छन्।
सरकारको प्रतिबन्धले महिला यौन शोषण तथा बेचबिखनमा पर्ने समस्या बढेको उनको भनाइ छ।
नेपालले अन्तर्राष्ट्रिय श्रम मापदण्डप्रतिको प्रतिवद्धता पूरा गर्न उक्त महासन्धि अनुमोदन गर्नुपर्ने र सम्बन्धित गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टी गरी घरेलु श्रमिक जाने बाटो खुला गर्नुपर्ने उनको भनाइ छ।