योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बर्दिया जिल्लाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ।
अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत बाँसगढी नगरपालिका कोषमा आबद्ध भएको हो।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरे।
नगर प्रमुख खड्काले बाँसगढी नगरपालिकाले औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमिकहरू कोषमा आबद्ध हुनुपर्ने सम्बन्धमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै पहिलो चरणमा नगरपालिकाले नगर क्षेत्रभित्र कार्यरत १०३ स्वास्थ्य स्वयंसेविकाहरूलाई यसै फागुन महिनाबाट नै लागू हुनेगरी कोषमा जम्मा गर्नुपर्ने सम्पूर्ण योगदान रकम (३१ प्रतिशतनै) जम्मा गर्ने समेत जानकारी दिए।
साथै आगामी दिनमा क्रमिक रूपमा नगर क्षेत्रभित्र रहेको अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकहरूलाई समेत आबद्ध गर्ने कार्यलाई अघि बढाउने समेत जानकारी दिए।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरूको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए।