रामेछापका छत्रबहादुर बस्नेत मलेसिया पुगेको ९ महिना भयो। 'क्लिनर' कामका लागि गोरखा म्यानपावरलाई दुई लाख ५० हजार रूपैयाँ तिरेर त्यहाँ पुगेका हुन्। तर यति बेला उनी कामविहीन बनेका छन्।
छत्रबहादुर लोरोङ सुंगाइ बतु ६ हाउस नम्बर १९, पेनाङमा छन्। बस्ने ठाउँ कम्पनीले दिएको छ। खान भने नदिएको उनले बताए।
'६ महिना काम भयो। बेसिक तलब १५०० रिंगिट थियो। ओभरटाइम गर्दा ३ हजार रिंगिटसम्म कमाइ हुन्थ्यो। तर तीन महिना भयो, कम्पनीले काम दिएको छैन। खान पनि आफ्नै पैसा खर्च गर्नुपर्छ,' उनले सेतोपाटीसँग भने।
क्लिनर कामका लागि म्यानपावरले भाषा र सीप केही नचाहिने भनेकाले आफू गएको उनी बताउँछन्।
'पढेलेखेको नभए पनि हुन्छ भनेको थियो। तर अहिले कम्प्युटर चलाउन आउँछ भनेर सोध्छ। कहिले अंग्रेजी आउँछ, गाडी चलाउन आउँछ भनेर सोध्छ,' उनले भने, 'झाडु लगाउन आएको मान्छेलाई कहाँ त्यो सब आउनु! पहिल्यै हामी पढेको छैन भनेकै हो।'
केही दिनमै काममा लगाउँछु भन्दै लामो समयसम्म आफूहरूलाई कम्पनीले झुक्याइरहेको उनको गुनासो छ।
'राजीनामा पत्रमा हस्ताक्षर गर भनेर पनि बेलाबेला दबाब दिन्छ, मैले मानेको छैन,' उनले भने।
काम दिन नसकेको समयको बेसिक तलब पनि कम्पनीले नदिएको उनले बताए।
'सुरूमा खानका लागि भनेर दुई सय रिंगिट दिएको थियो। अहिले घरबाट पैसा मगाएर खानुपरेको छ,' उनी सुनाउँछन्, 'हामी ऋणपान गरेर आएको मान्छेको बिजोग भयो।'
छत्रबहादुरसहित आठ जना युवाहरूले दुई महिनादेखि कामविहीन भएको गुनासो गरेका छन्। जसमा छत्रबहादुर, मोभिरा एचआर म्यानपावरबाट गएका नेपालगञ्जका गिरधरी मंगटा, सिन्धुलीका विसुराज वाइबा, अम्टी ग्लोबल म्यानपावरबाट गएका नुवाकोटका विकास विश्वकर्मा, बैतडीका प्रकाश धामी, सिराहाका मिथुन कपैर, धनुषाका सुत्रधन महरा छन्।
उनीहरू त्यहाँको इन्टरग्रेट कम्पनीमा काम गर्न गएका थिए।
मोभिरा एचआर सर्भिस म्यानपावरबाट गएका नेपालगञ्जका गिरधरी मंगटाले तीन महिनादेखि कामविहीन भएर बसेको बताए।
'बिजोग छ। ओढ्ने कुरा पनि छैन,' सेतोपाटीसँग भिडिओ संवादमा उनले भने, 'हामी ट्वाइलेटको पानी खाएर बाँचेका छौं।'
उनले पनि म्यानपावरलाई दुई लाख ३५ हजार तिरेर गएको बताए।
'बैंकको पनि ऋण अझै तिर्न सकेको छैन। तीन महिना भइसक्यो बसेको बस्यै छौं। काम केही छैन। तनाव धेरै भइरहेको छ,' उनले भने।
आफूहरूलाई काम दिनुपर्ने वा नेपाल फर्काउनुपर्ने माग उनले गरे।
उनीहरूलाई त्यहाँ पठाउने म्यानपावर सञ्चालकहरूसँग पनि हामीले यसबारे सोध्यौं। म्यानपावर सञ्चालकहरूले भने आफूहरूले लगाइदिएको काम नगरी छाडेकाले उनीहरू कामविहीन बनेको बताए।
गोरखा म्यानपावरका सञ्चालक मुकेश तामाङले आफूले पठाएको छत्रबहादुर बस्नेतले रोजगारदातासँग झगडा गरेर काम छाडेको दाबी गरे।
'काम गर्न गएको मान्छे त जिम्मेवार बन्नुपर्याे नि,' तामाङले भने, 'रेस्टुरेन्टमा काम लगाइदिएको थियो। गर्दिनँ भनेर ती भाइले काम छाडेछन्।'
आफूले सयौं कामदार पठाएको तर एक जनामा समस्या देखिनु कामदारकै बदमासी भएको उनले आरोप लगाए। आफूले त्यहाँको कम्पनीसँग कामको कुरा गरिरहेको उनले बताए।
'गरिरहेको काम छाडेपछि भन्नेबित्तिकै काम कहाँ लागिहाल्छ त! केही समय लाग्छ,' उनले भने, 'समस्या छ भने मलाई रिपोर्ट गरेर काम छाड्नुपर्ने हो। पहिले काम छाडेर होस्टलमा बसिदिएछन्।'
छत्रबहादुर भने आफूले काम छाडेको नभएर कम्पनीले नै कामबाट निकालेको बताउँछन्।
मोभिरा म्यानपावरले आफूले पठाएका श्रमिकहरूसँग निरन्तर कुराकानी गरिरहेको बतायो।
'उनीहरूले राजीनामामा हस्ताक्षर गरिसकेका रहेछन्। त्यही कारण पनि बेसिक तलब दिलाउन सकिएको छैन। पठाइसकेपछि काम दिलाउने जिम्मा हाम्रो हो। म काम दिलाउन त्यहाँको कम्पनीसँग कुरा गरिरहेको छु,' मोभिराका एक सञ्चालकले भने।
अमिटी ग्लोबल म्यानपावरका सञ्चालक सन्तोष पाठकले भाषाका कारण पनि उनीहरूलाई काम लगाउन समस्या परेको बताए।
'पहिला भाषा जान्नुपर्छ भनिएकै थियो। तर हामी जसरी पनि जाने हो भने पठाइदिनुस् भने। अन्तरर्वार्ता फेल भएकालाई पनि पठाइयो। अंग्रेजी जान्ने भएको भए त्यो समस्या हुँदैन थियो,' उनले भने।
आफूले उनीहरूका निम्ति अन्य काम खोजी गरिरहेको उनले बताए। अहिले उनीहरूलाई कम्पनीले दुई सय रिंगिट खानका लागि दिइरहेकाले बस्न र खान समस्या नभएको पनि उनले दाबी गरे।
'मलेसियामा आर्थिक मन्दी छ,' उनले भने, 'काम पाउन गाह्रो छ। अब हप्ता-दस दिनभित्र काम लगाउन सकेँ भने सकेँ, सकिनँ भने नेपाल फर्काइदिन्छु भनेकै छु।'
पछिल्लो समय मलेसियामा युवाहरू समस्यामा पर्ने क्रम बढेको सरकारी अधिकारीहरू बताउँछन्। त्यहाँ एउटा काम भनेर अर्को काममा पुर्याइदिने, भनेको जस्तो काम तथा सेवासुविधा नदिने लगायत समस्या बढेको वैदेशिक रोजगार विभागले बताएको छ।
सरकारले मलेसियासँग शून्य लागतमा श्रमिक पठाउने गरी श्रम सम्झौता गरेको छ। सम्झौताअनुसार त्यहाँ जान श्रमिकले एक रूपैयाँ पनि खर्च गर्नु पर्दैन। तर नेपालबाट जाने युवाहरूले मोटो रकम म्यानपावर कम्पनीहरूलाई बुझाएर गइरहेका छन्।