प्युठानकी सोना काठमाडौंको सुन्धारास्थित एक डान्सबारमा काम गर्छिन्। यहाँ उनको काम नृत्य गर्ने हो। महिनाभरि काम गर्दा कमाइ जम्मा दस हजार रूपैयाँ हुन्छ।
यो तलब पनि समयमा नपाउँदा काठमाडौंमा गुजारा चलाउन निकै असहज भएको उनी बताउँछिन्।
'महिना मर्नेबित्तिकै तलब पाइँदैन। कहिलेकाहीँ त साहुले दुई-तीन महिनासम्म पनि दिँदैनन्,' २० वर्षीया सोनाले भनिन्, 'गुजारा टार्न निकै गाह्रो परिरहेको छ।'
उनको नाच हेरेर मन पराउनेहरूले कहिलेकसो 'टिप्स' थमाउँछन्। कसैले पाँच सय रूपैयाँ दिन्छन्, कसैले हजार। टिप्सबाट कहिलेकाहीँको समस्या त टर्छ, दैनिक गर्जो धानिँदैन।
'टिप्स सधैं हुँदैन,' उनी भन्छिन्, 'भर पर्ने भनेकै तलबमा हो। यही नै कम र अनियमित भएपछि गाह्रो पर्ने रहेछ।'
उनले यहाँ काम गर्न थालेको ६ महिना भयो। उनी नाच्दा फरक फरक सांस्कृतिक पहिरन लगाउँछिन्। डान्सबारका साहुले भने खुला र छोटा कपडा लगाएर नाच्न दबाब दिने गरेको उनको भनाइ छ। साहुले भनेअनुसार कपडा लगाएर ननाच्ने भएकैले आफ्नो तलब नबढाइदिएको उनी बताउँछिन्।
'मसँगै आएकाहरूको तलब बढिसक्यो। उनीहरू साहुले भनेजस्तै कपडा लगाउँछन्। ग्राहकसँग बसेर मदिरा पनि पिउँछन्। तर म खुला र छोटा लुगा लगाउँदिनँ र मदिरा पनि पिउँदिनँ। त्यसैले मलाई साहुले त्यति रूचाउँदैनन्। टिप्स पनि कम हुन्छ।'
सोना प्युठानबाट नेपाली सेनामा भर्ती हुने सपना बोकेर काठमाडौं छिरेकी थिइन्। राम्रोसँग तयारी गरेर सेनामा नाम निकाल्ने सपना थियो। तर काठमाडौंमा उनी मोटरसाइकल दुर्घटनामा परिन्। शरीरमा धेरै चोटपटक लाग्यो। लामो समय थला परिन्। अनि सेनाको जागिर खाने सपना तुहियो।
'दुर्घटनापछि शारीरिक रूपमा निकै कमजोर भएँ। घरबाट ल्याएको अलिअलि पैसा पनि सकियो,' उनले भनिन्।
उनलाई ठीक हुन लामै समय लाग्यो। निको भएपछि गुजारा चलाउन जे भए पनि गर्छु भनेर उनी काम खोज्न थालिन्।
काठमाडौंमा काम पाउन मुस्किल छँदैछ। उनले पनि त्यही नियति भोगिन्। चिनजानका मान्छेहरूले सुन्धारामा एउटा डान्सबारमा काम भएको बताए। सानैदेखि नाच्न-गाउन मनपराउने उनलाई नाच्ने काम पाउँदा खुसी लाग्यो।
'त्यस्तो अप्ठ्यारो अवस्थामा थिएँ म। महिनाको दस हजार तलब हुने भनेपछि म फुरूंग भएर काम गर्छु भनिहालेँ,' उनले भनिन्, 'काम र तलबको अप्ठ्यारो अहिले बल्ल थाहा पाउँदैछु।'
डान्सबारमा काम गरेर काठमाडौंमा बस्न मुस्किल देखेपछि उनी अरू कामको खोजीमा छिन्। यहाँ काम नपाए विदेश जाने सोच छ। काम पाउन सहज होला भनेर उनी अहिले कम्प्युटर सिक्दै छिन्। उनलाई रेडियोमा काम गर्ने रहर छ। कम्प्युटर सिकिसकेपछि रेडियोमा काम पाइन्छ कि भन्ने आश भएको उनले बताइन्।
'केही काम पाए यहीँ गर्ने मन छ। नभए विदेश जानुपर्ला,' उनले भनिन्।
सोनाजस्तै रात्रिकालीन मनोरन्जन क्षेत्रमा काम गर्दाको अप्ठ्यारो झेलिरहेकी अर्की युवती हुन् नेपालगन्जकी मोना। २१ वर्षीया उनी काठमाडौंको एक रोधीघरमा वेटरको काम गर्छिन्। यो क्षेत्रमा काम गरेको चार वर्ष हुन लाग्यो।
चिनजानका साथीहरू यही क्षेत्रमा काम गर्ने भएकाले आफू यतैतिर तानिएको उनले बताइन्।
मोनाले नयाँ बसपार्कको एउटा दोहोरी साँझमा सात हजार रूपैयाँ मासिक तलबबाट काम थालेकी थिइन्। चार वर्ष यही क्षेत्रमा अनुभव लिइसक्दा पनि अहिले जम्मा १० हजार रूपैयाँ तलब छ। त्यो पनि नियमित आउँदैन। जोखिम धेरै, तलब थोरै भए पनि उनीसँग अर्को उपाय छैन। काम नगरे उनको घरको चुलो बल्दैन।
'आमाबुबाको उमेर धेरै भइसक्यो। उहाँहरूले पनि कहिलेकाहीँ पैसा पठा भन्नुहुन्छ। यहाँ आफैंलाई बाँच्न नपुग्ने तलब छ,' उनले भनिन्।
टिप्स पाएको समयमा कहिलेकाहीँ खाइनखाइ बचाएर चार/पाँच हजार रूपैयाँ आमाबुबालाई पठाउने गरेको उनले बताइन्।
काम गर्ने क्रममा कति ग्राहकले नराम्रो नजरले पनि हेर्छन्।
'सोझो भएर काम गर्छु भन्दा पनि यो क्षेत्रमा गाह्रो छ। जोखिम धेरै छ। कतिपयले मनोरन्जन क्षेत्रमा काम गर्ने सबैलाई एउटै डालोमा हालिदिन्छन्,' मोना गुनासो गर्छिन्, 'सिधै जाने होइन भन्दै सोध्छन्। म त्यस्तो मान्छे होइन भन्यो भने भाउ खाको भनेर उल्टै गाली गर्छन्।'
मोना शारीरिक रूपमा अशक्त छिन्। आफ्नो अशक्तताकै कारण कतिपयको हेपाइ र हप्काइ पनि खानुपरेको उनले बताइन्।
'मेरो एउटा हात असामान्य देखिन्छ। यस्तो भएर पनि किन काममा आएको होला भनेर हेपाइ सहनुपर्छ। सुरूदेखि यही काममा लागियो, जानेकै यही छ। अन्त कहाँ के काम गर्ने भन्ने नै थाहा छैन,' उनले भनिन्।
मोना साँझ ६ बजेदेखि रातको दुई बजेसम्म काममा खट्छिन्। रोधीघरले कोठासम्म पुर्याउन सवारीसाधन व्यवस्था गरिदिएको छ। तर कहिलेकाहीँ सवारी चालकले बीच बाटोमै छाडिदिने गरेको उनले बताइन्।
'बाटोमा सुरक्षा छैन। तर कहिलेकाहीँ यहीँसम्म मात्रै हो भनेर बीचमै छाडिदिन्छन्। डरैडर बोकेर हिँड्नुपर्छ,' उनले भनिन्।
रात्रिकालीन व्यवसाय/क्षेत्रमा लामो समय काम गरिसकेकी मैंया चुनौती र अप्ठ्यारा भए पनि मेहनत गरे राम्रो आम्दानी हुने बताउँछिन्। केही समय काम गरेर अर्को क्षेत्रमा जान वा आफ्नै काम थाल्न सकिने उनको भनाइ छ।
'मैले लामो समय डान्सबारमा काम गरेँ,' केही समयअगाडि काम छाडेकी उनले भनिन्, 'अब आफ्नै व्यवसाय गर्ने सोच छ।'
३० वर्षीया मैंयाले करिब १२ वर्ष डान्सबारमा काम गरिन्। १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौं आएकी थिइन्। सुरूमा अरूको घरमा बसेर काम गर्दै पढिन्। पछि बालबालिकाको हकहितमा काम गर्ने एक संस्थाले उनलाई कक्षा १० सम्म पढायो। त्यसपछि उनले एउटा होस्टलमा काम पाइन्।
'त्यहाँ काममा धेरै पेलिनुपर्थ्यो। बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म खाना पकाउने, भाँडा माझ्ने, सफा गर्ने लगायत काम गरिरहनुपर्थ्यो,' उनले भनिन्, 'हात सुन्निन्थ्यो, ज्यान उस्तै दुख्ने।'
निकै गाह्रो भएपछि उनले कामको विकल्प खोजिन्। साथीमार्फत डान्सबारमा काम गर्न सजिलो हुने सुनिन्। त्यसपछि सिनामंगलको एउटा डान्सबारमा काम थालिन्।
'अग्रजहरूले काम राम्रोसँग गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो। मैले सक्दो मेहनत गरेँ,' उनले सुनाइन्।
सुरूमा उनी मासिक ८ हजार रूपैयाँ तलब पाउँथिन्। उनको काम मनपरेर कोटेश्वरको अर्को डान्सबारले उनलाई कामका लागि बोलायो।
'मेरो काम देखेर त्यहाँको साहुले अहिले पनि नयाँ पुस्तालाई मेरै उदाहरण दिनुहुन्छ,' उनी भन्छिन्, 'काम गरून्जेल साहुहरूबाट नराम्रो कहिल्यै भएन।'
यही कामबाट उनले आफ्ना भाइलाई इञ्जिनियर पढाइन्। कमाइ राम्रै भएकाले आफूले धेरै पढ्न नसके पनि भाइलाई पढाउने उनको सपना पूरा भएको छ। तर उनी डान्सबारमा काम गर्थिन् भन्ने कुरा परिवारलाई थाहा छैन।
'घरमा त मैले अहिलेसम्म भनेकै छैन। भाइलाई सोचेजति पढाइहालेँ। थोरै पैसा पनि जम्मा गरेकी छु,' मैंयाले भनिन्, 'ब्युटीपार्लर सिकिसकेँ, अब आफैं पार्लर खोल्ने योजना बनाएकी छु।'
नेपालका मनोरन्जन क्षेत्रमा, विशेषगरी रात्रिकालीन व्यवसायमा ठूलो संख्यामा युवाहरूले रोजगारी पाएका छन्। कामको जोखिमसँगै कतिपयले राम्रो आम्दानी गरिरहेका छन्। तर धेरैले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै पाउन सकेका छैनन्।
मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि 'शुभ अवसर ग्राम नेपाल' नामक संस्थाले सर्वेक्षण गर्दै आएको छ। पछिल्लो सर्वेक्षण काठमाडौं महानगरपालिकाका वडा नम्बर ९ र ३२ मा केन्द्रित थियो। खासगरी कोटेश्वर र सिनामंगल क्षेत्रका डान्सबार, दोहोरी साँझ, रोधीघर, रेस्टुरेन्ट लगायत रात्रिकालीन व्यवसायमा कार्यरत १४२ महिला श्रमिक सर्वेक्षणमा सहभागी थिए।
सर्वेक्षणमा सहभागी ५३ प्रतिशतले सरकारले तोकेको न्यूनतम पारिश्रमिकबारे जानकारी नै नभएको बताएका छन्। त्यस्तै ४१ प्रतिशतले कार्यस्थलमा यौनजन्य क्रियाकलापका लागि दबाब हुने बताए। ग्राहकबाट यस्तो दबाब हुने गरेको भने ९३ प्रतिशतले बताएका छन्।
त्यस्तै ९४ प्रतिशतले राति कामबाट घर फर्किँदा यातायात सुविधा पाएको बताए। तर घरसम्मै पुग्ने गरी भने पाएका छैनन्। ६ प्रतिशतले यातायातको कुनै सुविधा नै नपाएको बताए। २४ प्रतिशतले आफूहरूले काम गर्ने ठाउँमा बालबालिकालाई समेत काममा लगाइएको बताएका छन्।
सर्वेक्षणका अनुसार यो क्षेत्रमा ९२ प्रतिशतलाई लिखित नियुक्तिपत्र नदिइ काममा लगाइएको छ। उनीहरूलाई सामाजिक सुरक्षामा पनि समेटिएको छैन।
काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले यो क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमन गरिरहेको जनाएको छ। विभागीय प्रमुख गोपालप्रसाद पोखरेलले पछिल्लो समय महानगरभित्रका बार, क्लब, रेस्टुरेन्ट लगायतमा अनुगमन थप कडा पारेको बताए।
'यसपटक महानगरले यो क्षेत्र व्यवस्थित गर्न बजेट छुट्ट्याएको छ। प्रहरी प्रशासन, सरोकारवालासँगको समन्वयमा महानगरभित्र हामीले गर्नुपर्ने काम हामी गर्छौं,' उनले भने।
(यहाँ उल्लिखित सबै श्रमिक महिलाहरूको नाम परिवर्तन गरिएको हो।)