उनी रातो स्कुटरमा खैरो हाफ प्यान्ट र कम्ब्याट ज्याकेट लगाएर वर्कसपमा आइन्।
उनलाई देख्नेबित्तिकै धनराज थारू बसिरहेको ठाउँबाट जुरूक्क उठे। रामग्राम-१४, गैंडाहालका धनराज उनलाई कुरेर बसेको डेढ घन्टा भइसकेको थियो। उनी आफ्नो बाइक मर्मत गर्न रामग्रामदेखि सुनवल आएका थिए।
सुनवल बजारको मुख्य चोकबाट सय मिटर उत्तरतर्फ उनको मोटरसाइकल वर्कसप छ। पाँच वर्षअघि सुरू यो वर्कसपमा दैनिकजसो मोटरसाइकल मर्मत गराउनेहरूको भीड लाग्छ। सुनवल आसपास मात्र होइन, भित्री गाउँहरूबाट समेत मर्मत गर्न आउनेहरू धेरै छन्।
यो क्षेत्रभरि 'लेडी मेकानिक्स' भनेर चिनिने उनी हुन्, विन्जना गौण।
विन्जना पश्चिम नवलपरासीको सरावल गाउँपालिका, भुजहवामा जन्मिइन्, हुर्किइन्। छोरीहरूलाई घरबाहिरको काममा लगाउनु हुँदैन भन्ने गलत प्रचलन मधेसका गाउँहरूमा अझै छ। विश्वकर्मा गौण र इन्द्रावती गौणकी जेठी छोरी विन्जनाको सोच भने सानैदेखि फरक थियो।
'मलाई स्कुल पढ्दादेखि नै जोखिमपूर्ण र अरू महिलाले नगरेका फरक काम गर्न मन लाग्थ्यो,' उनले भनिन्, 'गाउँघरतिर छोरीहरूलाई जहिले पनि सिलाइबुनाइ, ब्युटिपार्लर, अगरबत्ती, मैनबत्ती बनाउने तालिम दिइन्थ्यो, मलाई भने यी काममा कुनै रूचि थिएन।'
२०६४ सालमा गोपीगन्ज सेमरी आदर्श माविबाट एसएलसी पास गरेपछि विन्जनाले अटो-मेकानिक्स पढ्ने निर्णय गरिन्। उनले सुनवलकै महाकवि देवकोटा माविमा तीनमहिने अटो-मेकानिक्स तालिम लिइन्।
महाकवि देवकोटा माविमा विन्जनासँगै २० जना मेकानिकल तालिमका लागि भर्ना भएका थिए। तीमध्ये तीन जना महिला थिए भने बाँकी १७ जना पुरूष। भर्ना भएका दुई जना महिलाले बीचैमा तालिम छाडे। विन्जनाले भने त्यही तालिमबाट सिकेको सिपलाई आफ्नो व्यवसाय बनाएकी छन्। अहिले उनी नवलपरासी मात्र होइन, लुम्बिनी प्रदेशकै एक मात्र महिला अटो-मेकानिक्स बनेकी छन्।
विन्जनाले सुनवलको चौराहस्थित एक मोटरसाइकल वर्कसपमा मिस्त्रीका रूपमा आफ्नो पेसागत यात्रा थालेकी थिइन्। त्यसैबीच २०७१ सालमा नवलपरासी, महेशपुरका श्यामसुन्दर गौणसँग उनको विवाह भयो।
विवाहअघि उनले सर्त राखेकी थिइन्, 'मैले गरिरहेको काम छोड्न नपर्ने भए मात्र विवाह गर्छु, नभए अर्कै खोज्नू।'
श्यामसुन्दर राजी भए।
विवाहपछि विन्जनाले मोटरसाइकल मर्मतलाई निरन्तरता दिइरहिन्, श्यामसुन्दर भने रोजगारका लागि साउदी अरब गए।
विवाहअघि छ वर्ष अर्काको ग्यारेजमा काम गरेकी विन्जनाले विवाहपछि पनि दुई वर्ष त्यहीँ काम गरिन्। त्यसपछि भने उनलाई आफ्नै ग्यारेज खोल्ने र श्रीमानलाई पनि मेकानिक्स सिकाउने इच्छा पलायो। यही योजना बुनेर उनले श्यामसुन्दरलाई फिर्ता बोलाइन्।
'मेरो हातमा सिप छँदै थियो, पैसा भयो भने आफ्नै ग्यारेज चलाउन सक्छु भन्ने आँट आयो,' उनले भनिन्, 'श्रीमानलाई पनि केही महिना सिकाएपछि त दुवैले मिलेर गर्न सकिन्छ भनेर घर बोलाएँ।'
महाकवि देवकोटा माविमा सैद्धान्तिक ज्ञान लिएकी विन्जनालाई ग्यारेजमा मोटरसाइकल मर्मत गर्न सिकाउने गुरू थिए, बुटवलका दुर्गालाल श्रेष्ठ। श्यामसुन्दरलाई पनि श्रेष्ठले नै मोटरसाइकल मर्मत गर्न सिकाए।
यसबीच विन्जना गर्भवती भइन्। यसले उनको योजना डेढ वर्ष पछाडि धकेलियो। त्यति बेलासम्म श्यामसुन्दर पनि मोटरसाइकल मर्मतको सानोतिनो काम गर्न जान्ने भइसकेका थिए।
छोरी जन्मिएको छ महिनापछि उनीहरू मिलेर 'विन्जना मोटरसाइकल वर्कसप' खोले।
अहिले छोरीको रेखदेख र हेरविचार उनकी आमा इन्द्रावतीले गर्दै आएकी छन्। केही वर्षअघि बुवाको मृत्यु भएपछि विन्जनाले आमालाई आफैंसँग राखेकी छन्।
छोरी पाँच वर्षको भएपछि विन्जनाले सात महिनाअघि दोस्रो सन्तान छोरा जन्माएकी छन्। छोरा जन्मिनु दुई दिनअघिसम्म ग्यारेजमै व्यस्त उनी सुत्केरी भएको चार महिनापछि नै काममा फर्किएकी थिइन्। सुरूमा मोटरसाइकल मर्मत नगरे पनि बिल काट्ने र सामान मिलाउने गर्थिन्।
'अहिले त मोटरसाइकल मर्मत पनि गर्न थालिसकेँ,' उनले भनिन्, 'गह्रुंगो सामान भने श्रीमानले उठाउन दिनुहुँदैन।'
विन्जना र उनका श्रीमान श्यामसुन्दर बिहान ६ देखि राति ९-१० बजेसम्म खटिन्छन्। दुवै मिलेर काम गरेकाले आम्दानी पनि राम्रै भइरहेको उनी बताउँछिन्।
'अरूकोमा जागिर गरे तलब बुझ्न महिनादिन पर्खिनुपर्छ, हामीलाई त साँझबिहानै पैसा आइरहन्छ। त्योभन्दा ठूलो खुसी त आफैंले श्रम गरेर कमाएको पैसा बुझ्न पाउँदा आनन्द लाग्छ,' विन्जनाले भनिन्।
कोभिड महामारी बेला केही महिना उनको ग्यारेज बन्द भयो। अरू बेला भने दिनमा ५ हजारदेखि २० हजारसम्म कमाइ हुन्छ। चाडपर्वमा गाडीहरू धेरै चल्ने भएकाले कामसँगै कमाइ पनि धेरै हुने उनी बताउँछिन्।
सबैजसो ग्यारेज पुरूषले मात्रै चलाउने गरेको देखेकी उनी महिला भएकै कारण कुनै समस्या भोग्नु नपरेको बताउँछिन्।
'अहिलेसम्म त महिलाले ग्यारेज चलाएको भनेर कसैले हेपेको अनुभव गर्नुपरेको छैन, बरू फोन गरेर खोज्दै आउनुहुन्छ। ग्यारेज नदेखेकाहरू पनि विन्जना नानीको ग्यारेज कहाँ छ भन्दै आउँदा खुसी लाग्छ,' उनले भनिन्, 'काठमाडौं वा अन्त महिला मिस्त्री छन् होला तर यतातिर अरू महिला मिस्त्री थाहा पाएकी छैन। एक्ली महिला मिस्त्री भन्दा गर्व लाग्छ।'
कतिपय छरछिमेकीले विन्जनालाई ग्यारेज चलाउनुभन्दा ब्युटिपार्लर खोल्न वा सिलाइबुनाइ गर्न सुझाव दिन्छन्। उनलाई भने यही पेसा राम्रो लाग्छ।
'हातखुट्टा कालै देख्दा उहाँहरूलाई यस्तो काम किन गरेको होला भन्ने लाग्दो हो। दु:ख गरेको पनि देख्नुहुन्छ होला। म भने यही काममा सन्तुष्ट छु। कालोमैलो नगर भन्नेहरूलाई मेरो जवाफ हुन्छ– शरीर बाहिर कालोमैलो लागे पनि पैसा त सेतै हुन्छ। मेरो मेहनतको कमाइ हो, बाहिर कालो भएर के भयो त? मेरो मन र काम त सफा छ,' उनले भनिन्।
उनी आफूजस्तै सिप सिक्न चाहने महिलाहरूलाई नि:शुल्क सिकाउन तयार छिन्। तर महिलाहरू आउनै नचाहने उनको अनुभव छ। केही महिनाअघि दुई-तीन जना महिला सिक्ने भन्दै आएका थिए। उनीहरू पनि ग्यारेजको कालोमैलो देखेपछि आउन छाडेको उनी बताउँछिन्।
'यो हातमा नेलपोलिस लगाएर काम गर्ने ठाउँ होइन। त्यसरी बस्न त मलाई पनि मन लाग्छ नि, तर नेलपोलिस लगाएर के गर्ने, ग्रिज र मोबिलले उतिबेलै हात कालो हुन्छ। त्यही कालो नङभित्र पसेर कालो नेलपोलिस लगाएजस्तो देखिन्छ। घरमा गएर ब्रस लगाएर धोएपछि बल्ल खाना खाने हो,' विन्जनाले आफ्नो अनुभव सुनाइन्।
सिटिइभिटीबाट अटो-मेकानिक्स प्रशिक्षणको दोस्रो तहसम्मको तालिम लिएकी विन्जनाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र दिने अनुमतिसमेत पाएकी छन्। ग्यारेजको कामसँगै उनी आफैंले मेकानिकल अध्ययन गरेको महाकवि देवकोटा माविमा विद्यार्थीहरूलाई प्रयोगात्मक तालिम दिन पनि जान्छिन्।
'आफैंले तालिम लिएको स्कुलमा प्रशिक्षक भएर जाँदा धेरै खुसी लाग्छ,' उनले भनिन्।
ग्यारेजमा काम बढेपछि उनीहरूले केही समययता तीन जना सहयोगी राखेका छन्। 'हामी बूढाबूढी मात्रैले त सकिँदैन, एक जना सामान लिन दौडिरहनुपर्छ, काउन्टर हेर्नुपर्यो, पार्टपूर्जा खोलखाल गर्ने, वास गर्ने, कामको लोड नै हुन्छ,' उनले भनिन्।
ग्यारेज चलाएको पाँच वर्षमा उनले छ-सात जनालाई काम सिकाएर मिस्त्री बनाइसकेकी छन्। अहिले पनि तीन-चार जनालाई सिकाइरहेको उनले बताइन्। काम सिकेकाहरू कतिपयले आफैंले ग्यारेज सुरू गरेका छन्।
यो ग्यारेज सुरू गर्दा उनीहरूले करिब चार लाख रूपैयाँ लगानी गरेका थिए। यसलाई अहिले जसरी चलेको छ, त्यसरी नै चलाउने उनको योजना छ।
'जति ठूलो ग्यारेज बनाए पनि पार्टपूर्जा एउटा न एउटा अपुग भइहाल्छ। कि त करोडौं लगानी गर्नुपर्यो, ठूलो लगानी नगरी ग्यारेज मात्र चलाउनलाई यत्तिको ठिकै छ,' विन्जनाले भनिन्।
बजारमा चल्तीका बाइकको मोडल फेरिइरहने भएकाले पार्टपूर्जामा पैसा फसाउन उनलाई मन छैन।
'अहिले बजारमा कतिथरीका बाइक आएका छन्! हरेक दिन बाइक फेरिएर आउँछन्। आज राखेको पार्टपूर्जा भोलि आउने बाइकलाई मिल्दैन, अनि के गर्ने? त्योभन्दा ठिक त जुन बाइक मर्मतका लागि आउँछ, उतिबेलै त्यही सामान लिन गइहाल्ने,' उनले आफ्नो कामको तरिका बताइन्।
विन्जनाजस्ती हिम्मती श्रीमती पाएकोमा श्यामसुन्दर पनि खुसी छन्। भन्छन्, 'उनी नभएको भए म अहिले पनि विदेशमै हुन्थेँ होला। उनले गर्दा नै आफ्नै देशमा काम गर्न पाएका छौं।'
उनीहरूले ग्यारेजका लागि पाँच हजार रूपैयाँ भाडा तिरेर एउटा सटर लिएका छन्। बस्नलाई भने ग्यारेजकै कमाइले नजिकै घर बनाएका छन्।
छोरीलाई बोर्डिङ स्कुल पढाउन थालेकी विन्जनाले छोराछोरी दुवैलाई आफूहरूजस्तै मेकानिक्स बनाउने इच्छा व्यक्त गरिन्।
'उनीहरूको रूचि के हुन्छ थाहा छैन तर मेरो चाहना त मजस्तै अटो-मेकानिक्स नै बनाउने हो,' उनले भनिन्, 'अहिले हामीले पो कालोमैलो भएर मर्मत गर्नुपर्छ, उनीहरूको बेलासम्म त ल्यापटप खोलेर हातले कालो नछोई मर्मत गर्ने प्रविधि पनि आउँछ कि, के थाहा!'
सबै तस्बिर: भगवती पाण्डे/सेतोपाटी